घाइते डिकीमा, प्रहरी अगाडिको सिटमा, पीडित परिवार न्यायको खोजीमा

घाइते डिकीमा, प्रहरी अगाडिको सिटमा, पीडित परिवार न्यायको खोजीमा

जनताको सुरक्षा गर्ने जिम्मेवारी पाएको प्रहरीले अमानवीय व्यवहार देखाएको भन्दै एक मृतकका परिवार न्यायको खोजीमा राष्ट्रिय मानव अधिकार आयोग पुगेका छन्।

गत असार २२ गते राति करिब ८ बजे ३५ वर्षीय अरुणकुमार थापा भक्तपुरबाट काठमाडौं आउँदै गर्दा मनोहरा पुलमा भएको सडक दुर्घटनामा गम्भीर घाइते भएका थिए। तर, घटनास्थलमा पुगेका प्रहरीले उनलाई इनड्राइभ ट्याक्सीको डिकीमा राखेर अस्पताल पुर्याएको आरोप परिवारले लगाएको छ।

डिकीमा राखेर अस्पताल लानु अमानवीय व्यवहार भएको भन्दै पीडित परिवारले राष्ट्रिय मानव अधिकार आयोग, पुल्चोकमा उजुरी दर्ता गराएको हो।

घटनामा गम्भीर घाइते भएका थापाको असार २७ गते भक्तपुर इन्टरनेसनल अस्पतालमा उपचारको क्रममा निधन भएको थियो। दाहसंस्कारपछि परिवारले घटनास्थलको सिसीटिभी फुटेज माग गर्दै प्रहरीमा उजुरी दिएका थिए।

फुटेजमा प्रहरीले डिक्कीमा घाइते थापा राखेको देखिन्छ, भने स्वयं अगाडिको सिटमा बसेको देखिएको परिवारको दाबी छ। मृतकका भाइ अनिल थापाले भने, ‘दुर्घटनामा परेको व्यक्तिलाई डिक्कीमा राखेर अस्पताल पुर्याउनु कति क्रूर व्यवहार हो? प्रहरीले नागरिकप्रति चरम उपेक्षा देखाएको छ।’

उनले प्रहरी अनुसन्धानमा ढिलाइ भइरहेको पनि गुनासो गरे। दुई साता बितिसक्दासमेत घटनामा संलग्न प्रहरीको पहिचान हुन नसकेको र अनुसन्धानमा निष्पक्षता नरहेको उनको आरोप छ।

परिवारले प्रहरीको व्यवहारलाई मानव अधिकार उल्लंघन र प्रहरी ऐन, २०१२ विपरीत भएको बताएका छन्। साथै, मुलुकी फौजदारी संहिता २०७४ को अनुच्छेद १८६ को उल्लङ्घनसमेत भएको दाबी गर्दै, न्याय नपाए अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउने चेतावनी पनि दिएका छन्। यसबारे तीनकुने प्रहरी वृत्तमा पीडित परिवारले जाहेरी दिइसकेका छन्।

टिप्पणीहरू