प्रदेश प्रमुख ‘अचानक बिरामी’,मन्त्रीहरुको शपथ बेवारिस
बागमती प्रदेश प्रमुख यदुवंश देवकोटा अचानक बिरामी परेका छन् । उनी बिरामी परेकाले आज हुने भनिएको नवनियुक्त मन्त्रीहरूको शपथग्रहण कार्यक्रम अनिश्चितकालका लागि स्थगित भएको छ ।
स्वास्थ्यमा समस्या आएपछि देवकोटा काठमाडौं प्रस्थान गरेका छन् । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बागमती प्रदेश सरकारका नवनियुक्त माननीय मन्त्रीज्यूहरूको शपथग्रहण समारोह २०८२ साउन १५ गते दिउँसो १ बजेका लागि तय गरिएकोमा माननीय प्रदेश प्रमुखज्यूको स्वास्थ्यमा अकस्मात् समस्या आएकाले उपचारका लागि आज बिहानै काठमाडौं प्रस्थान गर्नु भएको छ । त्यसैले उहाँको निर्देशनअनुसार अर्को सूचना प्रकाशित नभएसम्मका लागि शपथग्रहण कार्यक्रम स्थगित गरिएको जानकारी गराइन्छ ।’
संसदीय दलको नेताबाट हटाइएका काँग्रेस मुख्यमन्त्री बहादुरसिंह लामाले गोविन्द लम्साल,गीता गुरुङ र माया श्रेष्ठलाई हिजो बिहान मन्त्रीमा नियुक्त गरेका थिए । हिजो कांग्रेस संसदीय दलको नेताको निर्वाचन कार्यक्रम भन्दै आज सारिएको शपथग्रहण अनिश्चितकालका लागि सरेको हो ।
मुख्यमन्त्री लामा नेता इन्द्रबहादुर बानियाँसँग पराजित भएका छन् । लामाले संसदीय दलको नेता नहुँदैमा पद त्याग गर्नुपर्ने कुनै संवैधानिक बाध्यता नरहेको जिकिर गर्दै मन्त्री नियुक्त गरेको दावी गर्दै आएका छन् ।
उनले नेताबाट हटेपछि शुरुको हस्ताक्षर फेरेवापत नियुक्त गरिएका मन्त्रीहरूलाई दिएको नियुक्ति नयाँ मुख्यमन्त्रीले कार्यभार सम्हालेसङ्गै बेवारिस बन्ने हुँदा २-३ दिनलाई झण्डा हाल्ने दु:खबाट आफै "बिरामी परेर" मोचन गरिदिएको प्रदेश प्रमुखको टोलीका एक खास सदस्यले जनआस्थालाई बताए ।

टिप्पणीहरू