आफू अमेरिका बस्ने, नेपालीलाई घाँटी कस्ने

आफू अमेरिका बस्ने, नेपालीलाई घाँटी कस्ने

अमेरिका बस्ने, नेपालमा ठग्ने ! पेन्सिलभेनिया राज्य बस्दै आएका विनोद अधिकारीको धन्दा हो यो । गोरखा स्थायी घर भई चितवन झरेका उनले धेरैलाई सताएको पाइएको छ । सो राज्यको पर्यटन तथा सद्भावना दूतसमेत रहेका विनोद सन् २०१६ तिर अमेरिका गएका हुन् ।

अमेरिकामा फ्लाई नेपा टुर्स एण्ड ट्राभल्स कम्पनी चलाउँछन् । त्यसमार्फत अमेरिका लैजाने भन्दै पैसा उठाउने गरेको स्रोत बताउँछ । उनीबाट पीडित हुनेमध्येका एक हुन्, होटल तथा पर्यटन व्यवसायी ज्योति अधिकारी । राजधानीको ठमेलमा होटल चलाई बसेका अधिकारीलाई उनले चुलुम्मै डुबाएको आरोप छ । 

ज्योतिले उनलाई आफ्नै होटलमा एउटा अफिससहित लाइन प्रोड्युसरको काम दिएका थिए । विनोदले ज्योतिको होटललाई आफ्नो भन्दै अरूलाई चिनाउँथे । ज्योतिले ग्राण्डी अस्पतालमा हेलिकप्टर ल्याण्ड गर्ने अनुमति दिलाइदिएकोमा उनले आफ्नो पहलबाट सो काम भएको भन्दै प्रचारप्रसारसमेत गरे ।

वृत्तचित्र विदेशीको, नाम उनको

विदेशीको लाइन प्रोड्युसर भएर धेरै ठाउँको भिडियो खिचे । हिमालमा खिचिएको भिडियोमा कपीराइट राख्दै एकदमै धेरै दुरूपयोग गरे ।

चीनको चर्चित मिडिया ‘सिन्ह्वा’ मार्फत नबनेको वृत्तचित्रबारे प्रचार गरे । मानव बेचबिखनविरुद्धका अभियन्ता सुनिता दनुवारको वृत्तचित्र बनाउने भन्दै पैसा उठाए । न वृत्तचित्त बन्यो न पैसा नै फिर्ता आयो । गत पुस ८ गते दनुवार आफ्नै निवासमा मृत फेला परेकी थिइन् ।

विनोदले धेरैलाई काम गरेको तलबसमेत नदिएको एक कर्मचारी बताउँछन् । उनले भने । उनी ‘सिन्ह्वा’ मा प्रसारित वृत्तचित्रको आडमा अमेरिका गएका हुन् । ३१ पटक सगरमाथा आरोहण गरेका कामिरिता शेर्पाको डकुमेण्ट्री बनाएको भनेर चर्चा कमाएका थिए तर त्यो ‘फेक’ भिडियो भएको स्रोतको ठोकुवा छ ।

विनोदले माध्यमिक शिक्षासमेत पूरा नगरेको बुझिएको छ । उनी २०८० सालमा दोस्रोपटक पर्यटनदूत भए । विगतमा ‘सद्भावना दूत निर्देशिका, २०७८’ बमोजिम पर्यटनदूत नियुक्त गरिन्थ्यो ।

पर्यटन बोर्डको जनसम्पर्क महाशाखाबाट पर्यटनदूत नियुक्त हुने गरेकोमा हाल रोकिएको छ । तत्कालीन सिईओ डा. धनञ्जय रेग्मीको पालामा विवाद भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाटै पर्यटनदूत नियुक्त भइरहेका छन् ।

पर्यटनदूत नियुक्त गर्नुको उद्देश्य पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याउनु हो । अंग्रेजीमा ‘टुरिज्म एम्बेस्डर’ भनिने उनलाई विभिन्न कार्यक्रममा प्रमुख अतिथि बनाइएको हुन्छ । यसैका आडमा पैसा लिएपछि न उनले अमेरिका लगे न सम्पर्कमा नै आए । विदेशमा भएकाले पीडितहरू कानुनको ढोका ढक्ढकाउन जान सकेका छैनन् ।

एक पर्यटनविद् भन्छन्, ‘बिचौलिया र पर्यटनदूतमा कुनै फरक छैन । दुवैको काम एउटै हो, निमुखाहरूलाई ठग्ने ।’ विनोदले नेपालका मन्त्री र ठूलाबडा व्यक्तिसँग खिचाएको फोटोको दुरूपयोग गर्दै आएका छन् । ‘छेपारोले रंग फेरे’ भन्दा छिटो पार्टी फेर्छन् ।

अमेरिकामा ट्याक्सी चलाउँदै आएका उनले नेपाली कलाकार लगेर विभिन्न कार्यक्रम गर्दै आएका छन् । गत वर्ष १४ राज्यमा ‘अब हाँस्छ अमेरिका’ कार्यक्रम गरेका थिए । जसमा सन्दिप क्षेत्री, भरतमणि पौडेल, सुमन कार्की, कैलाश कार्कीलगायत कमेडियनले दर्शक हँसाए ।

त्यसैगरी, महिलाहरूको प्रमुख चाड हरितालिका तीजको अवसर पारेर आठ राज्यमा ‘अब नाच्छ अमेरिका’ कार्यक्रम गरिएको थियो । जसमा गायिका शान्ति श्री परियार, रचना रिमाल, ज्योति मगरलगायतले प्रस्तुति दिए । न्यूयोर्क, वासिङ्टन डिसी, ओहायो, कोलोराडो, बोस्टन, पेन्सिलभेनिया, सिकागो, क्यालिफोर्नियामा कार्यक्रम भएको थियो ।

यस वर्ष पनि ‘अब नाच्छ अमेरिका’, ‘अब हाँस्छ अमेरिका’ र ‘अब सुन्छ अमेरिका’ को दोस्रो संस्करण हुने घोषणा गरिएकोमा अन्तिम समयमा कलाकारमाथि दोष थुपार्दै कार्यक्रम रद्द गरिएको छ । स्रोतका अनुसार उनले अन्य ईमेल आईडीबाट अमेरिकी दूतावासमा उनीहरू आउन नपाउनेगरी पत्र लेख्ने गरेका छन् ।

विनोदको चंगुलमा पत्रकार पनि

एक चर्चित टेलिभिजनमा कार्यरत गोरखाका पत्रकारले सन् २०१७ मा उनीसँग सम्बन्धित एउटा सामग्री प्रसारण गरेका थिए । आफूले सहयोग गरेको भन्दै विनोदले भिडियोहरू पठाएपछि प्रसारण गरेकोमा उनी आफैँं फसेका हुन्् । गाउँलेहरूले झण्डै उनलाई कुटपिट नै गरेका थिए ।

भन्छन्, ‘त्यतिबेला म अन्त रिपोर्टिङ गर्न गएको थिएँ, त्यसैले फिल्डमा जान पाइन । उनले भिडियोहरू पठाएपछि प्रसारण गरें । पछि त अर्कै संस्थाले पो सहयोग गरेको रहेछ । उनले आर्थिक सहयोग गर्नका लागि पैसाचाहिँ उठाएका रहेछन् । तर, उनी आफैँंले सहयोग गरेकोचाहिँ होइन ।’

अजिरकोट गाउँपालिकास्थित एक स्वास्थ्य चौकीले मुटु फाउण्डेशनसँग एम्बुलेन्स माग गरेको थियो । पैसा उठेपछि संस्थाले प्रक्रिया अगाडि बढायो तर बीचमै रोकियो । खोजी गर्ने क्रममा विनोदको समूहले एम्बुलेन्स प्रदान गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृति लगिसकेको खुल्यो ।

पछि उनको समूहले पैसा जुटाउन सकेन । त्यसपछि समूहका राजु गुरुङ्ग र संस्थाका प्रतिनिधि धनबहादुर गुरुङ्गबीच एम्बुलेन्स हस्तान्तरणको विषयमा छलफल भयो । धनबहादुरले टाटाको शोरुममा १० लाख १२ हजार ७०० रुपैयाँँ तिरेर एम्बुलेन्स किने । विनोदकै सिफारिसमा तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई प्रमुख अतिथि बनाइयो । एक कार्यक्रमका बीच लाप्राकमा एम्बुलेन्स हस्तान्तरण गरियो । तर समाचारमा विनोदले आफ्नो जन्मदिनको अवसरमा देशविदेशमा बसेकाबाट २५ लाख रुपैयाँँ बटुलेर एम्बुलेन्स प्रदान गरेको भनियो ।

त्यसपछि आफू छाँगाबाट खसेझैं भएको धनबहादुर बताउँछन् । आफूलाई सहयोग गर्ने फ्रान्सको संस्थाले फोन गरेर ¥याख¥याख्ती पारेपछि विनोदलाई सम्पर्क गर्दा गैरजिम्मेवार जवाफ दिएको उनको भनाइ छ । प्रश्न उठ्छ–उनले देशविदेशबाट उठाएको २५ लाख रुपैयाँँ कहाँ लगे ?

‘एकदमै बदमास हो’

विनोदलाई शुरुमा काम दिएका ज्योतिले उनी बदमास व्यक्ति भएको बताए । आफ्नोमा क्यामेराम्यान भएर काम गरेको ज्योतिको भनाइ छ । अधिकारीको साइनो लगाएर विनोदले आफूलाई पनि अप्ठेरोमा पारेपछि हटाइदिएको उनले जानकारी दिए । उनका अनुसार विनोदका लागि ‘फिल्म हिमालय’ नामक कम्पनी नै दर्ता गरिएको थियो । त्यसपछि ‘फिल्मी’ नामक कम्पनी दर्ता गरिएकोमा सबै डुबाइदिए । ‘धन्न, त्यो कम्पनीचाहिँ मेरै नाममा राखेछु, नत्र सबै जान्थ्यो । मेरो नजरमा उनी राम्रो व्यक्ति हुँदै होइनन् । भर्खरका फुर्तिला केटा भनेर राखियो, अन्तिममा मलाई नै अप्ठेरो पारे,’ उनले भने ।
 

टिप्पणीहरू