बैंककबाट आएका भारतीय यात्रुको लगेजमा गाँजा

बैंककबाट आएका भारतीय यात्रुको लगेजमा गाँजा

पछिल्लो समय थाइल्याण्डबाट नेपाल हुँदै आउने भारतीयले गाँजा भित्र्याउने क्रम बढेको छ । सोही सिलसिलामा आज पनि एकजना भारतीय यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गाँजासहित पक्राउ परेका छन् । 

लगेजमा साढे ३ केजी गाँजा हालेर आज दिउँसो २ बजे एयर एसियाको उडानमा काठमाडौं आएका भारतीय नागरिक अल्फट पक्राउ परेका हुन् । उनलाई आवश्यक कारबाहीका लागि प्रहरीको लागू औषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीलाई बुझाइएको छ ।

विमानस्थलस्थित भन्सार कार्यालय र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले २५ वर्षे भारतीय नागरिक अल्फटको लगेजमा गाँजा फेला पारेको थियो । भारतको राजस्थान, हनुमानगढ स्थायी ठेगाना भएका राहदानी नम्बर वाई ९२९५०२९ का अल्फट भन्सारमा लगेज पुनः जाँच गर्ने क्रममा समातिएको बताइएको छ ।

नेपालमा लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ३(क) ले गाँजालाई लागू औषधको रूपमा परिभाषित गरेको छ। ऐनको दफा १४ अनुसार गाँजा सेवन गर्ने व्यक्तिलाई एक महिना कैद वा दुई हजार रुपैयाँ जरिवाना र दुई केजीदेखि १० केजीसम्म ओसारपसार गर्नेलाई एक वर्षदेखि तीन वर्षसम्म कैद वा पाँच हजारदेखि पच्चीस हजार रुपैयाँ जरिवाना गर्न सकिने व्यवस्था छ।

टिप्पणीहरू