नेपालको जीतमा कुशल र आसिफको कीर्तिमानी ब्याटिङ
त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा नेपालले सुखद सुरुआत गरेको छ । सिरिजअन्तर्गत शनिबारको उद्धघाटन खेलमा नेपालले बलियो प्रतिद्धन्दी नेदरल्यान्ड्सविरुद्ध सहज जीत निकालेको हो ।
कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको हो । नेदरल्यान्ड्सले दिएको १३७ रनको मध्यम लक्ष्य नेपालले १ विकेटको क्षेतिमा १५ ओभरमै पूरा गर्यो ।
नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले कीर्तिमानी ब्याटिङ गरे । अर्धशतकीय पारि खेलेका भुर्तेल र शेखले ऐतिहासिक ओपनिङ साझेदारी गरे । उनीहरुले नेपालले खेलेका टि-२० क्रिकेटमा अहिलेसम्मकै सर्वाधिक ११६ रनको साझेदारी गरेका थिए ।
नेपालका लागि शेखले नटआउट ५४ रन जोडे । उनले ३८ बलमा ४ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै, भुर्तेलले ४६ बलमा ६२ रन बनाए। उनले ५ चौका र ५ छक्का प्रहार गरे । कुशल आउट भएपछि क्रिजमा आएका कप्तान ज्ञानेन्द्र मल्लले अविजित १३ रन बनाए। नेपाललाई जीतका लागि १ रन आवश्यक हुँदा ज्ञानेन्द्रले छक्का प्रहार गर्दै शानदार जीत दिलाए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ३६ रन बनायो ।
नेदरल्यान्ड्सका लागि बासडी लिडेले सर्वाधिक ४१ रन बनाए । सुस्त सुरुआत गरेको नेदरल्यान्ड्सले दोस्रो ओभरमै पहिलो विकेट गुमाएको थियो । ओपनर म्याक्स ओ डोवडलाई सस्तैमा गुमाएपछि दबाबमा देखिएको नेदरल्यान्ड्सले लगत्तै तेस्रो ओभरमा अर्को विकेट गुमाएको थियो ।
लगातार दुई विकेट गुमाएपछि सम्हालिएर खेलेको नेदरल्यान्ड्सको इनिङ एवार्ड्स र लिडेले सम्हालेका थिए । उनीहरुले अर्धशतकीय साझेदारी गरेपछि नेदरल्यान्ड्सले सम्मानजनक योगफल बनाएको हो । उसका लागि स्कट इड्रवासले ३०, कप्तान पीटार सिलरले २२ र एनोनियस स्टालले अविजित २० रनको योगदान गरे ।
नेपालका लागि सन्दीप लामिछानेले २ र सोमपाल कामी र सहाब आलमले समान एक-एक विकेट लिए ।
नेपाल, नेदरल्यान्ड्स र मलेसिया सम्मिलित सिरिजको दोस्रो खेलमा भोलि मलेसिया र नेदरल्यान्ड्स भिड्दैछन् । नेपालको अर्को खेल मलेसियासंग पर्सि हुनेछ ।
टिप्पणीहरू