अयोध्यापुरीमा बालुवाटारबाट सोझै राम-सीता
चितवनको माडीस्थित अयोध्यापुरीमा राम–सीताको मूर्ति प्रतिस्थापन गरिएको छ । हिजो प्रधानमन्त्री निवास बालुवाटारबाट रथयात्रासहित चितवन लगिएका राम,सीता,लक्ष्मण र हनुमानका मूर्तिहरु राम नवमीको अवसर पारेर प्रतिस्थापन गरिएको माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले बताउनुभयो ।
ढकालका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकाल नेतृत्वको रथयात्रा समूह देवघाटमा बास बसेको थियो ।
आज बिहान गण्डकीमा स्नानसहित पूजा गरी चितवनको माडीस्थित अयोध्यापुरीतर्फ रथयात्रा अघि बढेको मेयरको भनाई छ । उहाँले प्रतिस्थापन कार्यक्रम बाग्मती प्रदेशका प्रमुख बिष्णु प्रसाई र मुख्यमन्त्री डोरमणि पौडेलले गर्ने कार्यक्रम रहेको छ ।
राम–सीताका मूर्ति मध्याहृन साढे १२ बजेको साइतमा प्रतिस्थापन गरिएको छ । मूर्ति प्रतिस्थापनपछि पूजा आराधना, भजनकीर्तनलगायत कार्यक्रमसमेत राखिएको छ ।
प्रधानमन्त्री ओलीले गत असारमा रामको जन्म अयोध्यापुरीमा भएको दाबी गर्दै सो स्थानमा राम, सीता,लक्ष्मण र हनुमानका मूर्ति राख्ने घोषणा गरेअनुसार नव निर्मित मन्दिरमा मूर्ति प्रतिष्ठापन गरिएको मेयर ढकालले जनआस्थासँगको टेलिफोन संवादमा बताउनुभएको छ ।
टिप्पणीहरू