लुम्बिनीमा अर्को अविश्वास

लुम्बिनीमा अर्को अविश्वास

केन्द्रमा सरकार जोगाउन ‘लुम्बिनी मोडल’को चर्चा भैरहेका बेला लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ ।

विपक्षी काँग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चाका सांसदहरुले बिहान साढे ११ बजे प्रदेशसभामा पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।

अविश्वास प्रस्तावमा ४० जनाको हस्ताक्षर रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता हरिहर पोखरेलले जानकारी दिए । अविश्वास प्रस्तावमा नयाँ मुख्यमन्त्रीका रुपमा माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसी सोनामलाई प्रस्ताव गरिएको छ । बिहान साढे ११ बजे विपक्षी गठवन्धनका १० जना सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गरेको पोखरेलले बताए ।

मुख्यमन्त्री पोखरेलविरुद्ध यसअघि पनि विपक्षी गठवन्धनले अविश्वास प्रस्ताव ल्याएको थियो । तर, अविश्वास प्रस्तावमाथि छलफल हुने संसद्को कार्यसूची रहेकै दिन पोखरेलले राजीनामा दिएपछि प्रस्ताव तुहिएको थियो ।

बिहान सबेरै राजीनामा दिएर पोखरेल दिउँसो नै फेरी मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । विपक्षी गठवन्धनले भने अल्पमतमा रहेका पोखरेललाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेको भन्दै अस्वीकार गर्ने बताउँदै आएको छ ।

प्रदेशसभामा अहिले ७९ सदस्य छन् । ४० जना विपक्षमा हुँदाहुँदै पनि पोखरेललाई बहुमत प्राप्त संसदीय दलको नेताको रुपमा मुख्यमन्त्री नियुक्त गरिएको थियो ।

टिप्पणीहरू