निषेधाज्ञामा लखरलखर हिँड्ने ६ हजार ८ सय ३९ जना प्रहरी होल्डमा
विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ६ हजार ८ सय ३९ जनालाई होल्डमा राखिएको छ ।
सो क्रममा १ हजार ५ सय २४ वटा चार पाँङ्ग्रे र ३ हजार ९ सय ६६ वटा मोटरसाइकल गरी ५ हजार ४ सय ९० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । होल्डमा राखिएकालाई सम्झाई बुझाई पछि छाडिएको थियो ।
साथै, नयाँ भेरियन्टसहितको कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा ६ सय ९० जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने ३ सय ६१ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना पनि गरिएको छ । साथै देशभर माइकिङ तथा सचेतनामूलक कार्यक्रमअन्तर्गत १३ हजार ९ सय ७४ जनालाई सचेत गराइएको छ ।
निषेधाज्ञालाई थप प्रभावकारी र सफल पार्न नेपाल प्रहरीले अन्य सुरक्षा निकायलगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तीब्रता दिएको बताइएको छ ।
टिप्पणीहरू