सीसीएमसी खारेज गरियोस् : माओवादी केन्द्र

सीसीएमसी खारेज गरियोस् : माओवादी केन्द्र

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) खारेजको माग गरेको छ ।

पेरिसडाँडाँस्थित केन्द्रीय कार्यालयमा आज बसेको स्थायी कमिटी बैठकले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड १९ सीसीएमसी खारेज गर्न माग गरेको हो ।

विपतसम्बन्धी घटनालाई सम्बोधन गर्न सरकारी संयन्त्र हुँदाहुँदै कानुनी हैसियत नभएको संयन्त्र गठन गरिएको र सीसीएमसीमार्फत् अनियमितता र भ्रष्टाचार भएको भन्दै त्यसको खारेजी गर्नुपर्ने माओवादी नेता नेता वर्षमान पुनले बताउनुभएको छ ।

उहाँका अनुसार ‘सिसिएमसी खारेज गर्नुपर्छ । विपतसम्बन्धी घटनाको निम्ति गृह मन्त्रालयमा अलग्गै कानुनी व्यवस्थासहितको प्राधिकरण छ । स्वास्थ्य मन्त्रालय र त्यसअन्तर्गत पनि विभिन्न निकाय छ । प्रधानमन्त्रीको नेतृत्वमा यस प्रकारका विपत हेर्ने अलग्गै निकाय छ त्यसले पनि काम गरेको छैन ।’

पुनका अनुसार छुट्टै सीसीएमसी खडा गरेर कानुनी हैसियत नभएको संरचनामार्फत् अनियमितता,भ्रष्टाचार,सामाग्री दुरुपयोगका कुरा आएकाले त्यो खारेज गरिनुपर्छ । कानुनले चिनेको निकायले मात्र काम गर्नुपर्छ ।

माओवादीले कोभिड १९ विरुद्ध फ्रन्टलाइनमा खटेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मीलगायतलाई जोखिम भत्ता उपलब्ध गराउन तथा फ्रन्टलाइनरका परिवारलाई कोभिड १९ विरुद्धको खोप लगाउने व्यवस्था मिलाउनेतर्फ सरकारले ध्यान दिनुपर्ने बताएको छ ।

अध्यक्ष प्रचण्डको नेतृत्वमा कोभिड १९ विरुद्धको टिम बनाउने र तीन लाख बढी पार्टीका नेता,कार्यकर्तालाई परिचालन गर्ने पनि नेता पुनले जानकारी दिनुभएको छ । उहाँका अनुसार पाँच दिनभित्र प्रदेश,जिल्ला र वडा तहसम्म समिति गठन गर्ने र राष्ट्रिय अभियान सञ्चालन गरिनेछ ।

भोलि नै माओवादीले कोभिड १९ को रोकथाम तथा नियन्त्रणबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ध्यानाकर्षण गराउने जनाएको छ ।

टिप्पणीहरू