नयाँ प्रधानमन्त्रीमा माधव नेपालको नामबारे दलहरुबीच सल्लाह शुरु
प्रधानमन्त्रीले कि आफूअन्तर्गत सरकारमा सामेल हुन या विकल्प पेश गर्न चुनौती दिइरहेको बेला राष्ट्रपतिले संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठनको निम्ति आज साँझ ५ बजेसम्मको समयसीमा दिनु भएबमोजिम दलहरुवीच घनिभूत छलफल शुरु भएको छ ।
यसो गर्न आजैको दिन त्यो पनि शुक्रबार किन रोजियो ? किनभने आज निर्वाचन आयोगदेखि अदालत सबैतिर ३ बजेसम्म मात्र कार्यालय समय रहनेछ । हिजो हेटौंडामा भएको राष्ट्रिय सभा उपनिर्वाचनमा विपक्षी दलका सांसदहरु तितरबितर भएको मौका पनि पारिएको छ ।
अब अन्तिम विकल्पको रुपमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नयाँ सरकारको दाबी गर्ने झिनो आशा देखिएको छ । स्रोतका अनुसार नेपालले १ सय ३६ जनाको हस्ताक्षरसहित शीतल निवास पुग्ने सम्भावनावारे पनि सल्लाह शुरु भएको छ ।
अहिले संसदमा नेपाली काँग्रेसको ६१,माओवादी केन्द्रको ४९,जसपा उपेन्द्रको १६ जना,जनमोर्चाको १ र बाँकी १५ जना नेपाल निकट सांसदसहित १ सय ४० जनाको हस्ताक्षर जानसक्ने सम्भावना अझै बाँकी छ ।
संविधानको धारा ७६ (५) बमोजिम गठन हुने सरकारको निम्ति सांसदहरुलाई दलको ह्विप लाग्दैन ।
घटनाक्रम नयाँ ढंगबाट विकसित हुँदै गएपछि यसैबीच प्रधानमन्त्री ओलीले समेत एमालेको जम्मै १२१ र जसपा (महन्थ-राजेन्द्र) को १९ मिलाएर आफूसङ्ग १४० को समर्थन रहेको दावी शीतल निवासमा पेश गर्ने सम्भावना देखा परेको छ ।
टिप्पणीहरू