घनश्याम भुसालको टिप्पणी : सत्ताले साम,दाम,दण्ड,भेद अपनाउँछ

घनश्याम भुसालको टिप्पणी : सत्ताले साम,दाम,दण्ड,भेद अपनाउँछ

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले सत्ताधारी वर्गले आफ्नो ऐतिहासिक वैधता गुमाउँदै गएपछि नागरिकलाई भ्रमित र विभाजित गरेर नक्कली वैधता सृजनाको प्रयास गर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर पनि सरकार नछोडेकोलाई भुसालले नक्कली बैध्यता सृजना गर्ने प्रयासका रुपमा लिएको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि उहाँले ओलीको नाम नलिई यस्तो बताउनु भएको हो ।

एमालेको माधव नेपाल समूहका प्रभावशाली नेता भुसाल पछिल्लो समय धर्मराएको चर्चा थियो । तर भुसालको अभिव्यक्तिले भने उहाँ ओली समूहमा नगएको प्रष्ट बुझिन्छ ।भुसालले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ, ‘सत्ताधारी वर्गले आफ्नो ऐतिहासिक वैधता गुमाउँदै गएपछि नागरिकलाई भ्रमित पारेर,उनीहरुको पंक्तिमा विभाजन देखाएर,कसैलाई तर्साएर र अरुलाई किनेर,कतिलाई मानपदवी दिएर,कैयनलाई बदनाम गरेर समाजमा नक्कली वैधता सिर्जना गर्न अनेक प्रयत्न गर्छ ।’

ओलीले नेपाल समूहसँग गुटगत डिल नगर्ने भन्दै व्यक्तिगत रुपमा एक-एक जनालाई आफूतिर तान्ने प्रयास गरिरहेको भनिएका बेला भुसालले त्यस्तै संकेत गर्नुभएको छ । विषय र सन्दर्भ प्रष्ट नखुलाई उहाँले मानपदवी दिएर,बद्नाम गरेर नक्कली वैधता सिर्जना गर्न खोजिएको बताउनुभएको हो ।

भुसालले सत्ताधारीले गर्ने यस्ता प्रयासले परिणाम विपरित हुने र क्रान्तिले वैधता पाउने पनि दाबी गर्नुभएको छ । ‘उसले जति जति त्यस्तो चर्तिकला देखाउँदै जान्छ क्रान्तिले वैधता पाउँदै जान्छ । सत्ताले समस्या व्यक्तिमा देख्छ र साम,दान,दण्ड,भेदजस्ता समाधानका उपायहरु अपनाउँछ । यसबारे मार्क्सको निष्कर्ष के छ भने समस्या केवल व्यक्ति वा व्यक्तिहरुको होइन बरु त्यस्ता व्यक्ति जन्मिने वस्तुगत अवस्थाको हो ।’

उहाँले थप अगाडि भन्नुभएको छ, ‘अथवा यसरी भनौँ – राजनीतिक समस्याको समाधान अराजनीतिक छक्कापञ्जाले गर्थ्यो भने आजका विश्वविद्यालयहरुमा मुख्यरुपले छक्का पञ्जाशास्त्रकै पढाई हुन्थ्यो ।’

टिप्पणीहरू