सर्वेन्द्रले खानेपानी खान मानेनन्,अरुले मन्त्रीक्वार्टर छाडेनन्
संविधान संशोधनको लागि कार्यदल गठन र नागरिकताको लागि अध्यादेश जारी भएपछि जसपाभित्र मन्त्री बन्ने र मन्त्रालय छान्ने होड चलेको छ ।
जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँग निकै निकटको सम्बन्धमा रहेका उक्त गुटका अर्का प्रभावशाली नेता सर्वेन्द्रनाथ शुक्लाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएमात्र मन्त्री बन्ने अड्डी कसेको बताइन्छ ।
शुक्लालाई खानेपानी मन्त्रालयको जिम्मेवारी प्रस्ताव गर्दा मुन्टो बटारेको महन्थनिकट एक जना नेताले बताए । हालका स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र उनी एउटै क्षेत्र (लुम्बिनी) का भएकाले पनि राजनीतिक प्रतिस्पर्धाको लागि स्वास्थ्य मन्त्रालय खोजेको बताइन्छ ।
अर्को स्रोत भन्छ, ‘कोरोना महामारी तत्काल नथामिने, स्वास्थ्य अहिलेको सबैभन्दा धेरै प्राथमिकतामा परेकाले पनि शुक्लाको नजर त्यता गएको हो ।’
उता जेठ ६ गते दिउँसोदेखि सर्वोच्च अदालतको आदेशपछि पदमुक्त भएका ओली सरकारका पूर्वमाओवादी मन्त्रीहरुले एक सातादेखि पुल्चोकस्थित मन्त्री क्वार्टर छाडेका छैनन् । मन्त्रीहरुले क्वार्टर किन नछाडेको भनेर सोधिएको प्रश्नमा बालुवाटार निकट एकजना नेताले भनेका छन् ‘हामीले सार्वजनिक रुपमा भन्न मिलेन,उहाँहरु पुनर्नियुक्तिको आशमा क्वार्टरमा बस्नुभएको हो ।’
अदालतको आदेशबमोजिम गृहमन्त्री रामबहादुर थापा बादललगायतका पूर्वमन्त्रीहरुलाई तत्काल पुनर्नियुक्ति गर्नै मिल्ने देखिँदैन । आदेशमा मुद्दाको अन्तिम किनारा नलागेसम्म मन्त्रीको जिम्मेवारी दिन नमिल्ने भनिएको छ ।
टिप्पणीहरू