आईटी आर्मी गठन,सामाजिक सञ्जालको प्रयोगमा सहजीकरण गर्ने दाबी
प्रविधिको प्रयोग गर्न नजान्दा तथा यसको दुरुपयोग गर्दा धेरैले नसोचेको परिणाम र नोक्सानी व्यहोर्न परेको भन्दै आज आइटी आर्मी गठन गरिएको छ । देशब्यापी रुपमा काम गर्ने भन्दै चन्द्रभुषण साहको संयोजकत्वमा आर्मी गठन गरिएको बताइएको छ ।
संयोजक साहले जारी गरेको विज्ञप्तिमा सामाजिक सञ्जालको प्रयोगमा सहजीकरण गर्ने उद्देश्यले आईटी आर्मी गठन गरिएको उल्लेख छ । उनले श्रमजीवी तथा उत्पीडित जनताको मुक्ति तथा मुलुकमा सामाजिक न्याय,सुशासन,सदाचार, स्थायित्व,सम्बृध्दि र विकाससहित समाजवादी व्यवस्था निर्माण गर्ने लक्ष्य राखेको बताएका छन् ।
आईटी आर्मी सञ्चालन कार्यविधि २०७८ अनुसार चल्ने बताइएको आर्मीले समाजको विकृति, विसङ्गतिविरुद्ध जनचेतना अभिबृद्धि गर्ने,भ्रष्टाचार,कुशासन, अराजकता,दण्डहीनता, अस्थिरताविरुद्ध संघर्ष गर्ने, खिचडी संसदीय व्यवस्थाको भण्डाफोर गर्नेलगायतका कार्य गर्ने प्रतिबद्धता उल्लेख गरेको छ ।
सांगठनिक संरचनाअनुसार १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी, प्रदेशमा १ सय १ सदस्यीय प्रदेश कमिटी, ७५ वटा जिल्ला कमिटी, ५१ सदस्यीय निर्वाचन क्षेत्र कमिटी र ३३ सदस्यीय पालिका कमिटी रहने बताइएको छ ।
टिप्पणीहरू