हाँस्दै सिंहदरबारतिर, रुँदै घरतिर
शेरबहादुर देउवा जेठ अन्तिम सातासम्ममा चौथोपटक सत्तासीन हुने छाँटकाँट त देखिँदैछ तर बहिर्गमनचाहिँ कसरी हुने हो भन्न गाह्रो छ । यसअघि हरेकपटक यिनी प्रधानमन्त्री पदबाट अपमानजनक ढंगले निस्किएको रेकर्ड छ । ०५२ भदौ १२ को सर्वोच्चको फैसलाबाट एमाले सरकार ढलेपछि यिनी ५४ वर्षको उमेरमा पहिलोपटक प्रधानमन्त्री भएका थिए । त्यो सरकार ०५३ पुसमा ढल्यो । मध्यपश्चिमका दुईजना ठकुरी सांसद हुम्लाका चक्रबहादुर शाही र जाजरकोटका दीपकजंग शाहीले भोट नहालेका कारण उनको सरकार बचेन ।
अर्को प्रकरणमा डोल्पाको सदरमुकाम दुनै हानेर हिँडेका माओवादी नेताहरुलाई घेरा हाल्दै गरेको सेना दरबारको ठाडो आदेशमा फिर्ता भयो । त्यसमा चित्त दुखाउँदा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ०५८ साउन ४ गते राजीनामा दिए । त्यसपछि शेरबहादुर देउवा दोस्रोपटक प्रधानमन्त्री भए । ०५९ सालमा पार्टी फुटाएर जेठ ८ गते मध्यावधि चुनाव घोषणा गरे । त्यसका लागि असोजमा संविधानको धारा १२७ अनुसार बाधा–अड्काउ फुकाउ लगाएर सबै अधिकार राजालाई बुझाए । तिनै राजाले उनलाई अक्षम भन्दै निकालिदिए । यसपटक पनि प्रवेश हर्षोल्लासपूर्ण तर निष्कासनचाहिँ दुःखद् भयो । ०६१ जेठमा सूर्यबहादुर थापाले राजीनामा दिएपछि अप्रत्यासित रुपमा गोरखाको राजाबाट न्याप पाएँ भन्दै प्रतिगमन सच्चिएको घोषणासहित उनी फेरि सरकारको नेतृत्व सम्हाल्न गए ।
०६१ माघ १९ मा त अपदस्थ मात्र भएनन्, प्रधानमन्त्री पद खोसिएपछि महिनौंसम्म नजरबन्दमा राखिए । तीनपटक प्रधानमन्त्री भएर तीनपटक नै अपदस्थमा परे । अहिले पनि प्रचण्ड सहजरुपमा सत्तारोहण गराउँछु भनिरहेकै छन् तर अबको बहिर्गमनचाहिँ कसरी हुने हो, ठेगान छैन । इतिहासले बताउँछ, देउवा प्रधानमन्त्री हुँदा प्रजातन्त्र संकटमा र सभापति बन्दा पार्टी संकटमा पुग्ने गरेको छ । कोही भन्छन्, कतै यिनको कुण्डलीमा नै कुनै खराबी त छैन ? फागुनमै शेखर कोइरालाले देउवालाई एउटा खबर पु¥याएका थिए, ‘तपाईंका मान्छेले चार करोड गृहमन्त्रीलाई र एउटा गाडी आफूले लिएर आईजीको सेटिङ मिलाउँदै गरेको सुनेको छु ।’ यसपछि देउवा आगो हुँदा आइजी प्रकरणले ठूलै झमेला उत्पन्न गरेको हो । उनीनिकट एकजना पत्रकारले यस प्रकरणमा आइ–१० गाडी फुत्काएको चर्चा छ ।
टिप्पणीहरू