​कहाँ–कहाँ अचम्म के–के ?

पहिलो चरणको स्थानीय निर्वाचनमा एमालेले आफ्नै अनुमानभन्दा बढी परिणाम पाइरहँदा केही ठाउँमा भने आन्तरिक समस्याका कारण पराजित भएको छ । ‘मुस्किल–मुस्किलसँग जितिएला’ भनिएको काठमाडौं महानगरमा प्राप्त अग्रता उसको आंकलन भन्दा बढी छ । अहिले काठमाडौंका एमाले ‘थकथक’ मानिरहेका छन्, उपमेयर राप्रपालाई छाडेकोमा । 

यस्तो अग्रताको श्रेय जान्छ कांग्रेसलाई । मेयर प्रत्यासी राजुराज जोशी मान्छे पुराना, तर बीचमा आएका नयाँ कार्यकर्ता कसैले नचिन्ने । राष्ट्रिय सभागृहमा नोमिनेशन गर्ने बेला उम्मेदवार घोषणा गर्नु नै गल्ती भयो भन्ने छ काठमाडौं कांग्रेस अगुवाहरुको टिप्पणी । नोमिनेशन अघिसम्म पनि तीर्थराम डंगोल वा प्रगतिमान रञ्जितमध्ये एकले पाउने भनिएको थियो । तर, रामचन्द्रको कोटामा काठमाडौं परेपछि राजुराज एकाएक उम्मेदवार बने । उनी ०४७ मा प्रकाशनमान सिंह काठमाडौं जिल्ला सभापति हुँदाका सचिव हुन् । ०५१ मा सांसदको इच्छा गरे, तर प्रकाशमान आफैँ उठे । त्यसपछि पार्टीमा कहिँ देखिएनन् । चार महानगरमध्ये दुई (पोखरा र ललितपुर) शेरबहादुर, एउटा (चितवन) सिटौला र एउटा (काठमाडौं) रामचन्द्रको भागमा परेरमात्र हो उनी उम्मेदवार बनेका । भनिन्छ, कांग्रेसले तीर्थराम वा प्रगतिमध्ये एकलाई उठाएको भए विवेकशील र साझा पार्टीले पाएको भोट रोकिन्थ्यो । राजुराज कस्ता मान्छे भने, खुमबहादुर खड्काको हिन्दू अभियानमा सक्रिय । शाहीकालभरि शाही शासनको समर्थक । तर, राजाले मन्त्री बनाएनन् । 

उता, अभिनेता राजेश हमालको सिफारिसमा एमालेले वडाध्यक्ष (२६ नं.मा) उठाएका देवेन्द्र रिमालले अचम्मसँग हारे । त्यहाँ कांग्रेसले स्याङ्जाली ख्याम तिवारीलाई उठाएको थियो । कांग्रेसकै बागी थिए, सञ्जीव प्रधान । तर, यति गर्दा पनि रिमालले जितेनन्, एक सय ५० भोट बढी ल्याएर ख्यामले जिते । तर, वडाध्यक्ष हारे पनि बाँकी चार जना वडा सदस्य जति सबै एमालेले जितेका छन् ।  अर्को अचम्म के भयो भने, एमाले वडाध्यक्ष १५० भोटले हार्ने, तर त्यही वडाबाट एमालेका मेयरलाई दुई सय ९७ बढी भोट आउने । यस्तै भयो, एमालेले हारेका अरु वडामा पनि । घट्टेकुलो, न्युप्लाजा, अनामगर क्षेत्रको वडा नं. २९ मा एमालेका ओम उप्रेतीले बागीको सामना गर्नुपर्दा तेस्रो भएर हारे । त्यहाँ कांग्रेसका कुश ढकालले जिते, एमालेका बागी शिवराज राजवंशीले एक सय ३५ भोट पु¥याउन नसक्दा हारे । तर, मेयरले पाएको मत जित्ने कांग्रेसका वडाध्यक्षको भन्दा दोब्बर थियो । ज्ञानेश्वर, रातोपुल, मैतिदेवी क्षेत्र, अर्थात् वडा नं. ३० मा ड्रमसेट बजाउने कलाकार सुरेन्द्र श्रेष्ठलाई उठाउँदा दुई तिहाई मतका साथ कांग्रेसका दलबहादुर कार्कीले जिते । तर, त्यो वडामा पनि मेयरमा विद्यासुन्दरले जित्ने कांग्रेसका वडाध्यक्षको भन्दा बढी भोट पाएका छन् ।

उता, एमालेले हारेको गोकर्णेश्वर नगरपालिकामा अर्को भाँडभैलो छ । चुनाव सकिएलगत्तै काठमाडौं जिल्ला कमिटी अध्यक्ष र स्थानीय पार्टी नेतृत्वबीच पानी बाराबार शुरु भएको छ । कारण हो, त्यहाँबाट पहिला गोपाल बराल मेयरमा सिफारिस भएका थिए । उनी पहिला साविकको जोरपाटी गाविसका अध्यक्ष र कृष्ण राई उपाध्यक्ष थिए । तर, सिन्धुपाल्चोकका पुण्य चौलागाइँलाई मेयरमा उठाइँदा काठमाडौंमा राजुराज जोशीकै हालत भयो, उम्मेदवारलाई कार्यकर्ताले नै नचिन्ने । गोपालको उम्मेदवारी कृष्णले रोकेको स्थानीय पंक्तिको आरोप छ । 

एमालेले जित्छ–जित्छ भन्दाभन्दै हारेको नागार्जुन नगरपालिकामा क्षेत्रीय कमिटीले प्रकाश श्रेष्ठ, केशव पोखरेल र कृष्णहरि थापाको सिफारिस गरेको थियो । टिकट पाए, कृष्णहरिले । यसपछि आन्तरिक खिचलो बढ्यो । फलतः दुई सय ३५ मत कम भएर कृष्णहरिले हारे, कांग्रेसका मोहन बस्नेतले जिते । पहिला जिविसको इलाका सदस्य भएका केशव लोकप्रिय थिए । प्रकाश पनि परिचित व्यक्ति हुन् । तर, गुट हावी हुँदा मेयर हारेर उपमेयरमा सुशीला अधिकारीसहित ५ वडा एमालेले जित्यो । अधिकारीले कांग्रेसको भन्दा ६५ भोट ल्याएर जितेकी हुन् । कांग्रेसले मेयरसहित ४ वडा र राप्रपाले एउटा वडा जित्यो । त्यहाँ मेयरमात्र हारेको हो, बहुमतचाहिँ एमालेको छ । 

अहिलेसम्मका सबै चुनावको हिसाब गर्दा कसैगरी पनि नहार्ने भनिएको काभ्रेको पाँचखाल नगरपालिकामा मेयर र उपमेयरका एमाले उम्मेदवार नराम्रोसँग पराजित भए । चुनावी अभियानको शुरुमै ४ नं. क्षेत्रीय संयोजक, साविकको अनेकोट बासिन्दा (वडा नं. १) मानबहादुर तामाङ नेपाली कांग्रेसमा प्रवेश गरे । तर, वडाचाहिँ एमालेले जित्यो । त्यहाँबाट कांग्रेसले पूर्वमन्त्री राजेन्द्र खरेलका ३६ वर्षीय छोरा महेशलाई उम्मेदवार बनाएको थियो भने एमालेले ०५४ मा पाँचखाल गाविस अध्यक्ष भएका बूढा रुद्र बानियाँलाई उठायो । जबकि, युवा नेताहरु कञ्चन अधिकारी र रवीन्द्र सिमथाङमध्ये एकले उम्मदवारी पाउने निश्चित थियो । त्यसमाथि धेरैजसो समय काठमाडौं बस्ने अखिल नेतृ तथा उपमेयर उम्मेदवार भक्तकुमारी लामा गाउँमा स्थापित हुन नसकेकै कारण त्यहीँ बस्ने कांग्रेसकी लक्ष्मी दनुवारले जितिन् । मतगणनामा जतिबेला पनि अग्रता लिइरहेको एमालेले अन्तिम गणनामा मात्र हारेको हो । 

उता, रमेशकुमार बस्नेतले एमालेबाट रामेछाप सदरमुकाम मन्थलीको मेयर जित्नु ‘भाग्यमा छ भन्दैमा डोकोमा दूध दुएर अडिँदैन’ भनेजस्तै भएको छ । उनको राजनीतिक जीवनको संयोग नै मान्नुपर्छ कि, चुनाव जित्ने बेला एमाले बन्छन् र अरु समय अरु घाट चहार्छन् । २०४८ सालको पहिलो संसदीय चुनावमा तत्कालिन संयुक्त जनमोर्चाबाट उठे । एक हजार भोट ल्याएर चौथो भए । ०५१ को मध्यावधिमा एमाले पहिलो पार्टी बनेपछि कमल चौलागाईसँगै एमाले प्रवेश गरे । त्यसपछि ०५४ मा जिविस उपसभापति हुने मौका पाए । एमाले फुट्यो, मालेतिर लागे । एकीकरणपछि केही हप्ता एमालेमै बसे । तर, कमल चौलागाईं शाहीकालीन श्रममन्त्री हुन गएलगत्तै उनी उतै लागे ।

देशभक्त प्रगतिशील मोर्चा गठन गरे । रमेश त्यसको नेता भए । त्यही बेला शाही सरकारले जिविसमा ‘टिके’ सभापति, उपसभापति भर्ति गर्दा सभापति भए । ०६२/६३ को जनआन्दोलनपछि माओवादी भए । त्यहाँ राज्यसमिति सदस्य थिए । यसपालि स्थानीय चुनाव हुने भयो भन्ने छनक पाउनासाथ एमालेमै फर्किए । उनीसहित प्रदीप योञ्जनहरुको समूह एमाले भयो । तर, त्यहाँ मेयरको टिकटमात्र पाउन बाँकी भनिएका जिल्ला कमिटी सचिव आनन्द श्रेष्ठ अन्तिममा हिस्स परे । मेयरको प्रतिस्पर्धामा रमेश नदेखिँदै लब श्रेष्ठ र आनन्द श्रेष्ठमध्ये एकको नाम चर्चामा थियो । लब आनन्दलाई रोक्न लाग्ने, आनन्द लबलाई रोक्न । यसो गर्दागर्दै रमेशले टिकट फुत्काए । उनले देवशंकर पौडेल र जिल्ला अध्यक्ष शान्ति पौडेललाई खुशी पारिएको चर्चा छ । शर्त थियो, क्षेत्री समुदायको मत पाएर जित्ने र माधव नेपाल खेमामा प्रतिबद्ध भएर लाग्ने । आनन्द र लब जसले टिकट पाए पनि दुवैजना ओलीपट्टिका भएकाले तीनै जनाको नाम केन्द्रमा सिफारिस गरेर पठाइयो र देवशंकरहरुको जोडमा अष्टलक्ष्मीले रमेशको नाम सदर गरिदिए । 

त्यस्तै, जिल्लाको पुरानो सदरमुकाम रहेको रामेछाप नगरपालिका एमालेले जित्दाजित्दै हा¥यो । जिल्लाका निकै राम्रा युवा नेता रोशन पाख्रिनले एक सय भोटले हार्दा आफ्नै गाउँ ओख्रेनीमा एमालेबाटै अन्तर्घात भोग्नुपरेको चर्चा छ । दोरम्बा गाउँपालिकामा हालत त्यस्तै भयो । चुनावको अघिल्लो दिन गौश्वारामा झडप भयो । माओवादीका केही युवा घाइते भए । डिएसपी कुमोद ढुंगेलले युवाहरुलाई गुण्डाका नाममा पक्राउ गरेर थुनेपछि एमालेको मनोबल कमजोर भयो । कायकर्ता नै भोट हाल्न जान पाएनन् । र, माओवादीले जित्यो ।

टिप्पणीहरू