बरु राप्रपाका एक्ला माननीयले बोले

बरु राप्रपाका एक्ला माननीयले बोले

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा झापाबाट प्रतिनिधिसभाका सांसद राजेन्द्र लिङदेनले जयसिंह धामी बेपत्ता प्रकरण छानविनमा सरकार उदासीन देखिएको बताएका छन् । घटना घटेको एक महिना बितिसक्दा पनि सरकारले भारतीय पक्षसँग प्रश्नसमेत गर्न नसकेको भन्दै लिङदेनले आपत्ति जनाएका हुन् ।

भारतीय सुरक्षाकर्मीले तुइनको डोरी काटिदिएपछि धामी उर्लिरहेको महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । भारतीय सुरक्षाकर्मीको अमानवीय हर्कतका कारण आँखैअगाडि आफ्ना नागरिक नदीमा बग्दा पनि भारत सरकारसँग प्रश्नसम्म गर्न नसकेको भन्दै लिङ्देनले सरकार लाचार बनेको आरोप लगाए ।

‘भारतीय सुरक्षाकर्मीले तुइन खोलेकै कारण आफ्नो नागरिक हेर्दाहेर्दै नदीमा बग्दा पनि तिम्रा सुरक्षाकर्मीले गल्ती गरे,कारबाही गर भनेर भारत सरकारलाई भन्न समेत सक्दैन र नागरिक सुरक्षामा राज्य उभिन सक्दैन भने नागरिकका लागि यो भन्दा लज्जा, खतरा र दुर्भाग्य के हुनसक्छ ?,’ लिङ्देनले शनिबार ट्वीट गर्दै प्रश्न उठाएका छन् ।

महाकाली नदी पार गरिरहेका बेला भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटिदिँदा दार्चुलाको व्यास गाउँपालिका– २ मालगाउँका जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका थिए । तुइन काटेका कारण जयसिंह महाकालीमा खसेपछि एसएसबीका जवान आफ्नो ब्यारेकतर्फ भागेका थिए ।

गृह मन्त्रालयले घटनाको छानविन गर्न समिति गठन गरेर स्थलगत अध्ययन गरेपनि हालसम्म प्रतिवेदन सार्वजनिक गरिएको छैन । अध्ययन टोलीले भारतीय सुरक्षाकर्मीकै कारण जयसिंह नदीमा खसेको ठहर गरेकाले सरकार प्रतिवेदन सार्वजनिक गर्न हच्केको धेरैले आशंका गरेका छन् ।

टिप्पणीहरू