वाइसिएलको नेता अब प्रचण्डले छान्ने

वाइसिएलको नेता अब प्रचण्डले छान्ने

नेकपा (माओवादी केन्द्र)को सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल)को नेतृत्व छान्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ । शनिबारदेखि जारी सम्मेलनमा सहमतिसहित नेतृत्व चयनको प्रयास असफल भएपछि वाइसिएलले जिम्मा पार्टीलाई सुम्पेको हो ।

सोहिबारे निर्णय लिन माओवादी केन्द्रको आकस्मिक स्थायी कमिटी बैठक बसेको थियो । बैठकले वाइसिएलबारे आवश्यक निर्णय गर्न अध्यक्ष प्रचण्डलाई जिम्मा दिएको स्थायी कमिटी सदस्य मात्रिका यादवले जानकारी दिनुभयो । ‘वाइसिएलको नेतृत्व चयनमा सहमति नभएपछि अध्यक्ष कमरेडलाई निर्णय गर्न जिम्मा दिएका हौँ’,उहाँले भन्नुभयो ।

हालका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले पनि सहमतिमा नेतृत्व टुंग्याउन नसकिएको बताउनुभयो । सम्मेलनले नेतृत्व चयन गर्न नसकेपछि पार्टीलाई जिम्मा दिइएको उहाँको भनाइ छ । ‘वाइसिएल भनेको पनि पार्टी नै हो,पार्टीले नेतृत्व छान्ने कुरा अस्वभाविक होइन’,उहाँले भन्नुभयो, ‘पार्टीको स्थायी कमिटीले निर्णय गर्ला ।’ सापकोटाका अनुसार सम्मेलनले केन्द्रीय कमिटी भने गठन गरिसकेको छ । पदाधिकारीमा मात्र सहमति जुट्न नसकेको उहाँले बताउनुभयो ।

दीपशिखाले नेतृत्व छाड्ने भएपछि वाईसीएलको अध्यक्षका लागि तीनजनाको दावेदारी देखिएको छ । हालका महासचिव सुबोध सेर्पाली,सुमन देवकोटा र यशोदा न्यौपानेले दावी छोडेका छैनन् । त्यस्तै,महासचिवमा कसम गुरुङ, गणेश शाही,मिङ्मातन्डु शेर्पा र नवराज ढुंगाना ‘विश्वास’ ले आकांक्षा राखेको बताइएको छ ।

टिप्पणीहरू