भन्न नपरोस् बेइमान बटौली

  • गोविन्द भट्टराई

पाल्पाबाट बसाइँ गएकाहरूले बटौलीलाई बुटवलमा रूपान्तरण गरे । औलोको जगजगी हुने बटौलीलाई, रमाइलो र सुन्दर खस्यौली अनि बुटवल बनाए तर माउथलो पाल्पालाई बुटवल बस्ने पूर्व पाल्पालीले हेलाँ गर्छन् । पछिल्लो उदाहरण हो, बुटवल उद्योग वाणिज्य संघको विकाससम्बन्धी अवधारणा पत्र । तानसेनमा अशोककुमार शाही, अजय कर्माचार्य, प्रतीक्षा सिञ्जाली वा अरू जो कोही मेयर बन्लान् त्यो अलग कुरा जो बने पनि बुटवललाई उनीहरूले शत्रु ठान्ने र उपेक्षा गर्ने छैनन् । उद्योग वाणिज्य संघ पाल्पाका मोहन श्रेष्ठले बुटवललाई औधी माया गर्छन् तर ख्वै पाल्पाली मायाको कदर ?

पाल्पाका किसान घ्यू, अदुवा, तेजपत्ता, तरकारी बोकेर मस्याम, दोभान हुँदै औलोग्रस्त बटौली पुग्थे । सट्टामा कपडा, नुन, मसला ल्याउँथे । राणाकालसम्म पाल्पा, तानसेनबाटै त्यसभेगमा शासन चल्थ्यो । बिस्तारै सुनौली–पोखरा, गुल्मी तम्घास, रिडी र बागलुङ मोटरबाटो खुल्यो । सडकसँगै व्यापार पनि गाउँठाउँ पुग्यो । उपचारका निम्ति तानसेनको मिसन अस्पतालको मात्रै भर पर्नु परेन । तानसेनको त्रिभुवन बहुमुखी क्याम्पसमा मात्र छोराछोरी पढाउनु परेन । शिक्षा, स्वास्थ्य, व्यापारमा तानसेनभन्दा पोखरा, बुटवल अगाडि पुगे । अर्घाखाँची, स्याङ्जा, गुल्मीले पनि विकास गरे । पोखराबाट तानसेन छोरी माग्न आउने नेवार युवक, ‘त्यो काँठमा छोरीले दुःख पाउँछे’ भन्ने कन्याकी अभिभावकको जवाफ सुनेर फर्कन्थे । अहिले त्यो ‘काँठ’ पोखरा कहाँ पुग्यो ? तानसेनको तेज हरायो ।

तानसेनमा जन्मेकाहरू कोही बुटवल झरे, व्यापारी बने, उद्योगी बने । कोही काठमाडौं पसे, उतै बसे । २०१५ साले कम्युनिष्ट राजनीतिमा कहलिएका कमलराज रेग्मी, दरवारसँग जोडिएका पुराना कम्युनिष्ट केशरजंग रायमाझी पाल्पाली हुन् । पञ्चायतकालमा ५ पटक बुटवलको प्रधानपञ्च बनेका हरिबहादुर सिंह हुन् वा उद्यमी गणेशमान सिंह पाल्पाली हुन् । त्यस्तै लाकौल, श्रेष्ठ, सुवाल, पिया परिवार पाल्पाबाटै झरेका भेटिन्छन् । पञ्चायतकालको नीति निर्माण र योजना निर्माणमा मोहनमान सैंजू, पृथ्वीराज लिगललगायत पाल्पाकै हुन् । बहुदल र गणतन्त्रकालमा रामप्रसाद श्रेष्ठ, खिलराज रोमीलगायतले देशमा न्यायक्षेत्रको नेतृत्व गरे जो पाल्पाली हुन् । कला, साहित्य शिक्षा क्षेत्रको समेत उच्च तहमा पाल्पाली पुगे । 

पानी पाल्पाकै खाने, ढुंगा गिट्टी पाल्पाकै उधिनेर भवन निर्माण गर्ने, वन सम्पदा पाल्पाकै चाहिने तर विकासमा पाल्पाको नाम लिन नहुने ? बुटवलमा नाम चलेका पत्रकारहरू बालकृष्ण चापागाई, मोहन चापागाई, विनोद पहाडी, माधव नेपाललगायतले समेत उपेक्षा गरेको छ । गनिएका पत्रकार शम्भु श्रेष्ठ राजधानीमा रमाए । दोभानका दलबहादुर गुरुङले बटौलीलाई निकै माया गर्छन् तर बटौलीकाले पाल्पालाई उपेक्षा गर्दा किन मौन ? 

पाल्पासंग कृषि उपज छ– अदुवा, तेजपत्ता, अम्रिसो आदि । पाल्पाबाट चुनढुंगा सिन्कीको मोलमा झरेको छ बुटवल, परासी, कपिलवस्तुतिर । कति धुलो र धुँवा मात्र पाल्पालीलाई ?

पाल्पासँग ढुंगा, गिट्टी छ । ढाका र करुवा सक्कली बनाउने सीप छ । धार्मिक पर्यटनका लागि सिद्धबाबा (राम्दी–दोभान), भगवती, अमरनारायण, भैरवबाबा, ऋषिकेशव, रम्भापानी, माण्डव्य क्षेत्र छन् । रणउजिरेश्वरी भगवतीसँग जोडिएका पात्र कर्णेल उजिर सिंहले जितगढीमा अंग्रेजलाई हराए । बटौलीले अब विजय दिवस जितगढीमा सीमित गर्ने होइन बरु तानसेन भगवतीसंग जितगढीलाई जोड्नुपर्छ । सडक, केबुलकार, मोनोरेलका कुराले पाल्पा मात्र होइन सकेसम्म गुल्मी, अर्घाखाँची, नवलपरासी, कपिलवस्तुसमेत जोडिनु पर्छ । समग्र लुम्बिनी विकासको अवधारणा लिएर अगाडि बढ्नु राम्रो हुन्छ । प्रभावकारी हुन्छ । अखण्ड लुम्बिनीलाई बल पुग्छ ।

धर्म, संस्कृतिसँग जोडेर पाल्पालाई अघि बढाउन सकिन्छ । स्वास्थ्य, शिक्षासँग जोड्न सकिन्छ । कालिगण्डकीको पानी रामपुर, तिनाउ हुँदै बुटवल लाने सोच छ तर पाल्पालाई कसरी जोड्ने लाभमा ? योजना चाहिन्छ । बौद्ध पर्यटन योजना पाल्पासँग जोडेर बनाइनुपर्छ । बुटवल प्रदेश नं. ५ को राजधानी बन्नुपर्छ भनेर बुटवलवासीले भन्दा पाल्पालीले बढी चिन्ता र चासो व्यक्त गरे । अभियान र आन्दोलनबाट आवाज उठाए, दबाव दिए । बुटवलका बडा र विज्ञहरूले तानसेन पाल्पालाई अचेल पर्गेलेको अनुभूति पाइन्छ । भैरहवाबाट सिधै पोखरा अनि पोखराबाट सीधै बुटवल–भैरहवा पाहुना कुदाउने योजनालाई पाल्पालीले किन सघाउने ? प्रश्न उठेको छ ।

पाल्पामा राजनीतिको जग बसाएर बुटवलमा जरो गाडेका एमाले नेता विष्णु पौडेल, पाल्पामै ज्ञान आर्जन गरेका माधव घिमिरे, कांग्रेस नेता चन्द्र भण्डारी, माओवादी नेता हस्त केसी, एमालेका घनश्याम भुसाल हुन् वा मधेसीको वकालत गर्ने हृदयेश त्रिपाठी मार्का नेताले तानसेनको अवनतिमा रमाउनु हुँदैन । केशव स्थापितले जति सघाए पनि हुन्छ नेताले ।

टिप्पणीहरू