४ हजार पुग्यो सामाजिक सुरक्षा भत्ता,ज्येष्ठ नागरिक झन् दङ्ग

४ हजार पुग्यो सामाजिक सुरक्षा भत्ता,ज्येष्ठ नागरिक झन् दङ्ग

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आर्थिक वर्ष २०७८/७९ को लागि सरकारले तोकेको नयाँ सामाजिक सुरक्षा भत्ता जारी गरेको छ ।

विभागले मन्त्रिपरिषद्को भदौ १६ गतेको बैठकको निर्णयानुसार ३३ प्रतिशतले बृध्दि भएको सामाजिक सुरक्षा भत्ताको मासिक भत्ता गत साउन १ गतेदेखि नै लागू भएको जनाएको छ ।नयाँ सामाजिक सुरक्षा भत्ताअनुसार ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई ४ हजार रुपैयाँ तोकिएको छ । यसै गरी ६० वर्ष उमेर पुगेका साबिक कर्णालीको प्रत्येक जिल्लाका नागरिक र ६० वर्ष उमेर पुगेका देशभरिका दलित नागरिकलाई २ हजार ६ सय ६० रुपैयाँ तोकिएको छ।

विवाह नगरी बसेका ६० वर्ष उमेर पुगेका महिला,सम्बन्धविच्छेद वा न्यायिक पृथकीकरण गरी बसेका ६० वर्ष उमेर पुगेका र पतिको मृत्यु भएका जुनसुकै उमेरका एकल महिलालाई पनि सरकारले २ हजार ६ सय ६० रुपैयाँ भत्ता तोकेको छ ।

यस्तै पूर्ण अपाङ्गता भएकालाई ३ हजार ९ सय ९०,अतिअसक्त अपाङ्गता भएकालाई २ हजार १ सय २८ र लोपोन्मुख आदिवासी जनजाति जस्तैः कुसुन्डा, बनकरिया,राउटे,सुरेल,हायु,राजी, किसान,लेप्चा,मेचे,कुसवाडिया, पत्थरकट्टा,सिलकट कुसवधियालाई ३ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ ।

सरकारले भत्ता वितरण कार्यविधि २०७७ को अनुसूची ५ बमोजिम तोकिएका क्षेत्र तथा जिल्ला र देशभरिका दलित परिवारका पाँच वर्ष उमेर ननाघेका एकल आमाबाट जन्मिएका बढीमा दुई सन्तानलाई ५ सय ३२ रुपैयाँ भत्ता समेत तोकेको छ ।

जारी नयाँ सामाजिक सुरक्षा भत्ता देशभरका सबै स्थानीय तहको हकमा लागु गर्नसमेत भनिएको छ ।

टिप्पणीहरू