‘गो ब्याक फातिमा, गोली हान्छौ छातिमा’ भन्दै १०० ग्रुपको आक्रोश

‘गो ब्याक फातिमा, गोली हान्छौ छातिमा’ भन्दै १०० ग्रुपको आक्रोश

एमसीसी सम्झौता खारेजीको माग गर्दै आज पनि उपत्यकाका विभिन्न ठाउँमा बिरोध प्रदर्शन भएको छ । सरकारले जारी संसद अधिवेशनबाट एमसीसी अनुमोदन गर्ने तयारी गरेपछि विभिन्न संघसंस्था र व्यक्तिहरुले केही दिनयता गरिरहेको बिरोध प्रदर्शन आज पनि जारी राखेका हुन् ।

आज ’हाम्रो नेपाल हामी नेपाली’, ’१०० ग्रुप’, ’वीर गोर्खाली’ र ’एमसीसी खारेज अभियान’ ले संयुक्त रुपमा कालोपट्टी बाँधेर बिरोध प्रदर्शन गरेका छन् । १०० ग्रुपका अध्यक्ष बब्लु गुप्ता, वीर गोर्खालीका संयोजक नगेन्द्र देउजा, सामाजिक अभियन्ता मुना श्रेष्ठ ,जेरी ताम्राकार, हेमराज थापालागायत झण्डै ५० जनाको संख्यामा रहेका प्रदर्शनकारीले कालो पहिरनमा शीरमा कालो पट्टि बाँधेर बिरोध र्याली निकालेका हुन् ।

सो क्रममा प्रदर्शनकारीहरुले एमसीसीबिरुद्ध चर्को नाराबाजी समेत गरेका छन् । उनीहरुले ’एमसीसी खारेज गर’, ’एमसीसी चाहिँदैन देश बेच्न पाईंदैन’, एमसीसीविरुद्ध आवाज उठाउनेको धरपकड बन्द गर’, ’गो ब्याक फातिमा, गोली हान्छौ छातिमा’, ’अमेररिकी साम्राज्यवाद मूर्दावाद’, राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर’, एमसीसी सम्झौता धोका हो’, जस्ता नारा लगाएका थिए ।

अनामनगरबाट शुरु भएको र्याली भाटभटेनी सुपरमार्केट, बिजुलीबजार पुल, बबरमहल हुँदै माइतीघर मण्डलामा पुगेर बिरोधसभामा परिणत भएको थियो ।

टिप्पणीहरू