​पत्नीको शरीरबाट गोली निकाल्दै पूर्वराजा

धुँवा, धुलोमात्र हैन, राजनीतिक वातावरणदेखि बालबच्चाको पढाई पनि नसप्रिएपछि अब पूर्वराजाको परिवारले वैकल्पिक बसोबासको रुपमा थाइल्याण्ड रोज्ने भएको छ । एक महिनाअघि नै त्यता लागेकी हिमानी शाह भदौ २ गते शुक्रबार थाइ एयरको उडानबाट फर्कंदैछिन् । यहाँका विभिन्न महŒवपूर्ण कामहरु भ्याएर फेरि ११ गते त्यसतर्फ उड्ने योजना छ ।

उता थाइल्याण्डमा पूर्वराजा ज्ञानेन्द्रको विस्तृत स्वास्थ्य परीक्षण चलिरहेको छ । यही मौकामा दरबार हत्याकाण्डमा परेकी पूर्वरानी कोमलको शरीरबाट गोली निकाल्ने प्रयास पनि हुँदै गरेको स्रोतले जनाएको छ । मोटाईसँगै मधुमेह र रक्तचाप बढेका कारण तत्काल गोली निकाल्न नमिल्ने, तर अझै केही वर्ष गोली भित्रै रहँदा त्यो क्रमशः क्यान्सर बनेर शरीर गाल्ने खतरा छ । अहिले तौल त घटेको छ, तर मधुमेहको आक्रमणसँगै रक्तचाप स्थिर हुन नसक्दा समस्या आएको निर्मलनिवासस्रोतले जनाएको छ ।

त्यस्तै, थाइल्याण्ड जानुअघि साउन ४ गते एनजिओप्लास्टी गरेर मुटुमा स्टेन्ट हालेका ज्ञानेन्द्रले मुटुका रक्तनली सुचारु गराउने क्रममा थप उपचार गराएका हुन् । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा मुटु परीक्षण गरिँदा रक्तनलीमा ८५ देखि ८८ प्रतिशतसम्म अवरोध देखिएको थियो । डा.यादव भट्टको नेतृत्वमा एनजियोप्लास्टी गरिएको हो । चिकित्सकको सुझावअनुसार अहिले ज्ञानेन्द्र र कोमल दुबैले पूर्णतया मुख बारेका छन् । हिमानीको शरीरबाट गोलीका छर्रा निकाल्न सकिने, नसकिनेबारे चिकित्सकहरुले कुनै टुंगो दिएका छैनन् । हिमानी स्वदेश फर्किएको बेला पति पारसको पनि स्वास्थ्य परीक्षण गराउने बेला भएको कारण सकेसम्म सँगै लैजान कोसिस रहने स्रोतले जनाएको छ । उनी पनि मुटुका रोगी हुन् । पारस हिजोआज छाउनीस्थित बहिनी प्रेरणाकहाँ बस्ने गर्दछन् ।

एक साताको काठमाडौं बसाइमा हिमानीले पारिवारिक कामसहित बालुवाटारस्थित हिमानी ट्रस्टका प्रशासनिक काम पनि गर्ने छिन् । ट्रस्टका नियमित दाता र दातृ निकायको सहयोग घटेपछि दैनिक काम नै प्रभावित भएको बताइन्छ । हिजोआज ट्रस्टमा तलब खुवाउनेबाहेकका काम खासै भएका छैनन् । फस्र्ट टर्म परीक्षापछि बिदा रहेको छोराछोरीको स्कुल भदौ १ बाट खुल्दैछ ।

टिप्पणीहरू