काजीलाई यसपालि धेरै कष्ट
०४६ सालको पहिलो जनआन्दोलनपछिको प्रजातन्त्र पुनःस्थापना संसदीय निर्वाचनमा धनकुटामा आफ्नो वर्चस्व राख्दै आएको राप्रपा प्रजातान्त्रिकबाट यसपटक पनि हालका उद्योगमन्त्री सुनीलबहादुर थापा लोकतान्त्रिक गठबन्धनबाट गृहजिल्ला धनकुटाबाट चुनाव लड्दै छन् ।
०५६ सालको निर्वाचनमा थापाका बुबा पूर्वप्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापाले तत्कालीन धनकुटा क्षेत्र २ बाट अत्यधिक मतान्तर विजयी भएका थिए भने ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा अत्यधिक मतान्तरले पराजित भएका थिए । मन्त्री थापाले ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वीलाई थोरै मतान्तरले पराजित गर्दै थापा हाल दोस्रोपटक मन्त्री बनेका छन् । ०७० सालमै उनका प्रतिद्वन्द्वीसमेत रहेका हालका एमाले अध्यक्ष राजेन्द्र राई वाम गठबन्धनबाट चुनावी मैदान जाने लगभग निश्चित भएको छ ।
प्रतिनिधिसभा र संविधानसभा सदस्य निर्वाचनका लागि पहिले दुईवटा निर्वाचन क्षेत्र रहेको धनकुटामा अहिले एउटा मात्र निर्वाचन क्षेत्र भएको छ । यसपटक धनकुटाबाट चुनाव जित्न भने लोकतान्त्रिक गठबन्धनलाई सहज छैन । स्थानीय तह निर्वाचनकै आधारमा मतदान हुने भए एमाले र माओवादीको चुनावी गठबन्धन वाम गठबन्धनपछि लोकतान्त्रिक गठबन्धनको स्थिति पहिलेभन्दा धेरै कमजोर देखिन्छ ।
गत असार १४ गते सम्पन्न भएको स्थानीय तह निर्वाचनको परिणाम हेर्ने हो भने थापालाई चुनाव जित्न यसपटक धेरै नै कठिन देखिन्छ । तर, नेताको व्यक्तिगत प्रभावले स्थानीय तह निर्वाचनको भन्दा जनमत परिवर्तन हुन पनि सक्छ । वाम गठबन्धन पछि धनकुटामा थापाले पनि कांग्रेस र संघीय समाजवादी फोरमको समर्थनमा लोकतान्त्रिक गठबन्धनबाट थापा चुनाव लड्ने लगभग पक्का भएको हो ।
हुनत धनकुटाको चुनावी माहोल सधँै एकै किसिमको रहेको पनि पाइँदैन । ०५४ को स्थानीय निकाय निर्वाचनमा पनि धनकुटामा राप्रपा र कांग्रेसको नतिजा असारमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनको जस्तै धेरैजसो ठाउँमा शून्य नै भएको थियो । तर, ०५६ को संसदीय निर्वाचनमा सुनीलका बुबा सूर्यबहादुर थापा अत्यधिक मतले विजयी भएका थिए भने ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा नेकपा माओवादी दुई वटै निर्वाचन क्षेत्र जितेको थियो । त्यस्तै, ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा क्षेत्र न १ मा एमाले र क्षेत्र न २ मा राप्रपा विजयी भएको थियो ।
०७० सालमा भएको संविधानसभा दोस्रो निर्वाचनमा थापा १० हजार ९३ मत ल्याएर धनकुटा क्षेत्र न २ बाट विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राजेन्द्र राईले ९ हजार ६ सय ३७ मत पाउँदा तत्कालीन एनेकपा माओवादीका हरिराज खेवाले ४ हजार २ सय २५ मत ल्याएका थिए भने कांग्रेसका आनन्दसन्तोषी राईले २ हजार ४ सय २४ र संघीय समाजवादी फोरमका राजकुमार राईले ७ सय ४२ मत पाएका थिए । त्यतिबेला अहिलेको वाम गठबन्धन एमाले र माओवादीको मत जोड्दा र अहिलेको लोकतान्त्रिक गठबन्धन राप्रपा, कांग्रेस, संघीय समाजवादी फोरम र राप्रपा नेपालको पनि मत जोड्दा लोकतान्त्रिक गठबन्धन धनकुटा क्षेत्र न २ मा ५ सय ३८ मतले पछाडि परेको थियो । अझ पूरै जिल्लाभरिमा त लोकतान्त्रिक गठबन्धन वाम गठबन्धनभन्दा १ हजार ९ सय ६९ मतले पछाडि परेको थियो ।
त्यतिबेलै कमजोर रहेको हालको लोकतान्त्रिक गठबन्धन त्यसको ४ वर्षपछि त झनै कमजोर देखिएको छ । असारमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा एमालेले जिल्लाका सात वटै स्थानीय तहमा प्रमुख र उपप्रमुख जितेर क्लिन स्विप गरेको थियो । एमाले बाहेकका अन्य राजनीतिक दल पनि चुनावमा नखटिएका पनि होइनन्, उनीहरूले जिल्लाभर पार्टीको पक्षमा माहोल बनाएका थिए । तर, परिणाम सबै एमालेले हात पा¥यो ।
अझ लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बन्न लागेका थापाको घर रहेको पाख्रिबास नगरपालिकामा त एमालेले वडासम्म पुरै प्यानल नै जितेको थियो । त्यस्तै वडातर्फको नतिजा हेर्ने हो भने पनि वाम गठबन्धन धेरैले अगाडि आएको छ । ६० वटा वडा रहेको धनकुटामा ४९ वटामा एमालेको प्यानल, ४ वटामा कांग्रेसको प्यानल र एउटा–एउटामा माओवादी केन्द्र र संघीय समाजवादी फोरमका प्यानल विजयी भएका छन् । बाँकी ११ वडामध्ये कांग्रेस ५ र माओवादी केन्द्रका ४ र संघीय समाजवादी फोरम र नयाँ शक्तिले १र१ वडामा वडाध्यक्ष मात्रै विजयी भएका छन् ।
यसले ४ वर्षको बीचमा धनकुटामा राप्रपा, कांग्रेस र संघीय समाजवादी फोरम खस्किएको देखाउँछ भने, एमालेले धेरै सुधार गरेको छ र माओवादी केन्द्रको केही मत बढेको छ । यस्तो अवस्थामा एमाले र माओवादी मिल्दा लोकतान्त्रिक गठबन्धनका थापालाई चुनाव जित्नु सहज छैन ।
स्थानीय तहको निर्वाचनमा अध्यक्ष वा प्रमुखलाई मात्र पाएको मत हेर्ने हो भने एमालेले जिल्लाभर २९ हजार ३ सय ९८ मत पाएको थियो भने माओवादी केन्द्रले १० हजार २९ मत पाएको थियो । त्यस्तै, एउटा स्थानीय तहमा राप्रपा र दुईवटामा संघीय समाजवादी फोरमसँग चुनावी तालमेल गरेको कांग्रेसले १७ हजार ९ सय ५८ मत ल्याएको थियो ।
यसमा एमाले र माओवादीको मत जोड्दा ३९ हजार ४ सय २७ पुग्छ, जबकि त्यो मत खसेको मतको ५७ दशमलव १३ प्रतिशत हो । यसरी हेर्दा लोकतान्त्रिक गठबन्धनका थापाले स्थानीय चुनावमा एमाले र माओवादीलाई मतदान गरेका धेरैभन्दा धेरै मतदाताको मत आफ्नो पक्षमा पार्नुपर्ने हुन्छ तर त्यो त्यति सहज भने छैन ।
टिप्पणीहरू