​सबैतिर पुरुषको शासन

अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको बैठकमा भाग लिन स्विजरल्याण्डको जेनेभा आइपुगेकी बिन्दा पाण्डेले खुलेर धेरै कुरा राखिन् । एमाले पोलिटव्युरोे सदस्य भएर आफ्ना नेताहरूको समेत आलोचना गरिन् । जनआस्थाका निम्ति लक्ष्मण देवकोटासँग भनिन्, ‘पुरुष नेता झलनाथ, केपी, माधव, वामदेव, शेरबहादुर, प्रचण्ड प्रत्यक्षमै चुनाव लड्नुपर्ने किन ? उहाँहरू त समानुपातिकमा पो आउनुपर्ने । कुरै गर्नुहुन्छ भने माधव नेपाल उठेको काठमाडौंको क्षेत्र मेरो हो । उहाँले छाडेको भए म तयार थिएँ । त्यत्रो नेता, छाड्नुस् भन्ने कुरा पनि भएन । काठमाडौंका सबै चुनाव क्षेत्रमा भूमिगत कालदेखि काम गरेका एकसे एक महिला तयार छन् । तर, उनीहरूको चर्चा हुन्न । अझै पनि पुरुषप्रधान सोच र प्रवृत्ति हावी छ ।’
संसद्मा नागरिकतासम्बन्धी कार्यदलको संयोजक भएर काम गर्दाका अनुभवलाई चुनावसँग गाँसेर भनिन्, ‘अहिले जोडजोडसँग समानताका कुरा गर्ने नेता छोरीलाई छोरासरह अंश दिनुपर्ने कुरामा जिब्रो चपाएर बोल्दै थिए । यो वा त्यो पार्टी होइन, हरेक पार्टीबाट । यहाँ त देखाउने कुरा यौटा र गर्ने अर्कै भयो । 

वामपन्थी एकतामा चीन फ्याक्टर
तराईको आन्दोलनलाई कारण बनाएर नेपालको सार्वभौमिकतालाई चुनौती दिँदै मोदी सरकारले लगाएको नाकाबन्दीको बेला वामपन्थी नमिल्ने हो भने देशको अस्तित्व र यत्रो आन्दोलनबाट ल्याएको गणतन्त्र खतरामा पर्ने अध्यक्ष ओलीलगायत महसुस गरे । नेपाल भूपरिवेष्ठित मुलुक हो, भारतवेष्ठित होइन । खुला सिमाना छ भन्दैमा सबै कुरा भारतमै निर्भर रहने परम्परा अन्त्यका लागि चीनको ढोका खोल्नुपर्छ भन्ने पार्टीले महसुस ग¥यो । भारतसँगको सम्बन्ध सन्तुलनमा ल्याउन चीनसँगको व्यापार, वाणिज्य र साँस्कृतिक सम्बन्धको आयाम फराकिलो पार्नुपर्छ भन्ने लाग्यो । सँगसँगै गणतन्त्रको संस्थागत विकास गर्न र तीव्र गतिमा विकास निर्माणका निम्ति वाम एकताले बलियो शक्ति तयार नपारी हुन्न भन्ने लागेर लामो गृहकार्यपछि एकता गरिएको हो । वाम एकतापछि कांग्रेसको नेतृत्वमा राइट विंग्सहरूको जुन शक्ति एकत्रित भएको छ, त्यसले अब देशमा स–साना कोटरी खोलेर मोटाउने प्रवृत्ति अन्त्य हुने संकेत देखाएको छ । हिजो थ्रेसहोल्डको विषयमा साना दलले किचलो निकालेर सफल हुन नदिए पनि वाम एकताले अर्को हिसाबबाट अब दलका दुकान खोल्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने संकेत देखाएको छ । प्रत्यक्षबाट एक जना चुनिनुपर्ने बाध्यताले पनि यस्तो अवस्थामा ल्याइदिएको हो । उस्तैपरे कमल थापाको राप्रपा र मजदुर किसान पार्टी नै संकटमा पर्ने देख्छु म । केपी ओलीको प्रधानमन्त्रीत्व कालमा बलियो भएको चीनसँगको मित्रताले नेपालको विकास निर्माणमा बल पुग्नेछ । आगामी चुनावमा वामपन्थीको बहुमत आए रुन पनि पाइन्न भनेर देउवाजीहरू आत्तिनुपर्ने कुरै छैन । उहाँहरूको छटपटाहट त वामपन्थीको नेतृत्वमा बलियो सरकार भएर विकासका काम भटाभट हुन थालेपछि सत्तामा आउन पाइन्न कि भन्ने मात्रै हो । सत्तामा केही नगरी बसिरहनुपर्ने कांग्रेसी मानसिकतालाई प्रहार भएको छ यो एकताले ।

अझै बराबरीमा छैनन् महिला
संविधानतः अझै पनि महिला–पुरुष बराबरीमा छैनन् । छोरासरह अंश पाउन त यत्रो लडाइँ लड्नुप¥यो । सानो उदाहरण दिन्छु, छोरीले विदेशी नागरिकसँग बिहे गरेर जन्मेको बच्चाले नपाउने । यदि, कसको बच्चा हो ? बाउ चिन्दिनँ भनेदेखि आमाको हिसाबले वंशजको आधारमा नागरिकता दिने । पतिको नाम खुलाए नपाइने । नागरिकतासम्बन्धी ऐन कानुनको पहिलो ड्राफ्ट गर्ने मै हुँ । मधेसवादी दल, कांग्रेस र वामपन्थी दलभित्र केही पुरातन चिन्तन भएका नेताले महिलालाई पनि बराबरी हुने कानुन बन्न दिएनन् । समय लाग्छ तर यो कानुन बनेरै छाड्छ भन्नेमा आशावादी छु । परम्परागत रूपमा पुरुषभित्र हुर्किएको संस्कृति र चिन्तनगत प्रभावले जतिसुकै आदर्शका कुरा गरे पनि नछाड्नेरहेछ । यो सत्य भन्न हिचकिचाइरहनुपर्दैन । 

छाउपडीको संरक्षण पढेलेखेकाहरूबाटै
बजारमा आउने र देखिने कुराभन्दा वास्तविकता परै हुने रहेछ । म भन्छु, पढेलेखेका, सहरिया, युरोप, अमेरिका घुमेकाहरूले छाउपडीजस्ता रुढीगत कुरा झन् बचाव र निरन्तरता दिइरहेका छन् । अमेरिका युरोप आउँदा देख्छु, महिनावारी भएको बेला भगवान्को मूर्तिलाई फोटो भएको कोठामा महिला छिर्दैनन् । स्वास्थ्यका हिसाबले सरसफाइ भएपछि पूजा गर्न के हुन्छ ? त्यसैले आफूले रुढीवादी कुरा छाड्न नसक्ने अनि दोष अरूलाई लगाएर मात्र हुन्न । हामी आफंै पनि धेरै कुरामा दोषी छौँ । त्यसमा पढेलेखेकाहरू सबैभन्दा अगाडि छन् । 

दीपक मनाङे एमालेका उम्मेदवार होइनन्
मनाङ अचम्मको जिल्ला रहेछ । सुनेका कुरा र वास्तविकता फरक रहेछन् । अदालत छ, मुद्दा छैन । खोला छन्, माछा छैन । खेतबारी छन्, अन्न छैन । अझै पनि मुद्दा–मामिला गाउँकै कचहरीबाट मिलाउने चलन रहेछ । राजीव गुरुङ पार्टी प्रवेश गरेको कुरा थाहा थियो । पार्टी नेतृत्वले राजीव गुरुङ र दीपक मनाङे यौटै हुन् भन्ने उनी प्रदेशसभाका लागि सिफारिस भएपछि मात्र थाहा पाएको हो । अनि पार्टीले रिजेक्ट गरेको हो । के गर्नुहुन्छ, ४० जना मात्र एमाले सदस्य भएको जिल्लामा अरू पार्टीबाट प्रवेश गर्ने कुरा राम्रै थियो । तर, दीपक मनाङेको ठाउँमा उठेका अर्का एमाले उम्मेदवारले हात झिकिदिएपछि यो कुरा चर्चामा आएको हो । पार्टीले मनाङेलाई समर्थन गर्दैन । उनी एमालेका उम्मेदवार होइनन् । समानुपातिक अवधारणाको अर्को पक्ष के हो भने विभिन्न विषयका विशेषज्ञहरू संसद्मा लैजाने । त्यसो हुँदा विनोद चौधरी जता गए पनि उद्योग गरेर बसेका हुनाले संसद्मा आवश्यक हुन् ।

टिप्पणीहरू