​महिलाबाट को हुने होला मख्ख

तीन जना मधेसी महिलाले नेपाली कांग्रेसको तर्फबाट समानुपातिकहिसावले  संसदमा प्रतिनिधित्व गर्न पाउने भएपछि पुराना र नयाँ आकांक्षीहरूको दौडधूप तीव्र बनेको छ । दोस्रो पटक समानुपातिकतर्फबाट प्रतिनिधिसभामा सहभागिता जनाइसकेकी मीनाक्षी झा तेस्रो पटकका लागि दौडधूपमा छिन् भने संगीता मण्डलले दोस्रो पटकका लागि विमलेन्द्र निधिदेखि आरजु देउवासम्म धाउन भ्याइसकेकी छन् । नयाँ अनुहारमा पूर्वराष्ट्रपति रामवरण यादवकी भतिजी रेखादेखि नगिना यादवसम्म देखा परेका छन् ।

यसैगरी, पर्साबाट जिल्ला सभापति अजय द्विवेदीकी श्रीमती सुष्मा तिवारीदेखि राजेन्द्रबहादुर अमात्यको सिफारिसमा रिता गुप्तासम्मले दौडधूप जारी राखेका छन् । त्यस्तै, पूर्व उपसभामुख चित्रलेखा यादव र कोषाध्यक्ष सीतादेवी यादवका लागि दुईवटा सिट सुरक्षित जस्तै भएको अवस्थामा बाँकी एक सिटमा निधिको जोडबलमा मीनाक्षीले तेस्रो पटक पाउने सम्भावना छ । गत महाधिवेशनमा केन्द्रीय सदस्यमा लडेकी झा पराजित भएर पार्टी सभापतिनिवास पुग्दा देउवाबाट तिमीलाई यादवहरूले हराए, चिन्ता नगर म छु भन्ने आश्वासन पाउनासथा उनका आँखा रसाएका थिए । संगीता मण्डलले श्रीमान्ले बेल्जियममा कमाएको पैसा महोत्तरी कांग्रेसका सभापति महेन्द्रकुमार रायदेखि निधि हँुदै आरजुसम्म पु¥याउन लागेको चर्चा छ । महेन्द्रले कांग्रेस महाधिवेशनका बेला आफ्नो पकडमा थुप्रै भोट भएको भन्दै केन्द्रीय सदस्यहरू जिपछिरिङ लामा, शंकर भण्डारीदेखि रामेछापका ठेकेदार कान्छारामसँग राम्रै रकम संकलन गरेको चर्चा चलेको थियो । 

पहिलो पटक निधिलगायतलाई खुशी पारेर सभासद् बनेकी संगीता यसपटक पनि सोही फर्मुला अपनाई आरजुसम्म पुगेको बताइन्छ । ०७१ सालतिर राजधानीको त्रिपुरेश्वरमा भएको एउटा भोजमा आफूले अर्कैलाई दिएको पैसा सांसदद्वय भुटनीदेवी खवास र मञ्जु चौधरीले चोरेको आरोप लगाएकी थिइन् । तर, उनकै चालकले यो रहस्यको पोल खोल्दै पैसा अर्कै व्यक्तिलाई दिएको संसदीय दलका कर्मचारीसमक्ष बताएका थिए । उता, पूर्वराष्ट्रपति रामवरण यादवका सांसद भइसकेका छोरा डा.चन्द्रमोहनले प्रदेशसभा र भतिजी किरणले महोत्तरीबाट हार्नु र भतिजा समीर यादवले गाउँपालिका चुनावमा कांग्रेसका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिनु एकैचोटी भएको छ ।

पूर्वराष्ट्रपतिको परिवारले सबै हारको बदला समानुपातिक सांसदबाट लिन खोजेको छ । त्यसैगरी, महोत्तरीकै पुराना कांग्रेस कार्यकर्ता प्राध्यापक नगिना यादव पनि कांग्रेस नेता बालकृष्ण खाँणको जोडबलमा समानुपातिकको सिट लिने दाउमा छिन् । महोत्तरी जिल्लालाई निधिले जहिले पनि पाखा लगाई अवसर पाउँदा धनुषालाई च्याप्ने गरेका कारण यसपटक पनि त्यसो नहोला भन्न सकिँदैन भन्ने गुनासो छ ।

– राजकुमार राय

टिप्पणीहरू