​आउने–जानेको आंकडा छैन

यसपालि दिल्लीमा नेपाल–भारत दुई देशीय संयन्त्रको छैटौँ बैठकमा प्रमुखताका साथ उठेको कुरा हो, प्रत्येक दिन नेपालबाट भारत र भारतबाट नेपालमा स्थल र हवाई मार्ग हुँदै कति नागरिक आवत–जावत गर्छन् ? एकार्काको देशमा इन्ट्री र एक्जिटलाई व्यवस्थित गर्ने गरी एउटा संयन्त्र बनाउनुपर्छ कि ! सुरक्षाको दृष्टिले पनि खुला सिमानामा यसो गरिनु जरुरी छ ।

उस्तै अनुहार, रंग रूप भएका तेस्रो मुलुकका नागरिक पनि निर्वाध आवत–जावत गरिरहेको अवस्था छ । जहाज हुँदै छिरेका भारतीय वा नेपालीबारे त अध्यागमनले अभिलेख राख्ने भयो । तर, स्थलमार्ग भएर आउने–जानेहरूको अभिलेख व्यवस्थित छैन । खुला सिमानाको सुविधामा असर नपर्ने र झन्झटिलो लाइन नहुने गरी स्मार्ट टेक्नोलोजी अपनाउनुपर्ने छ । यसबीच भारतबाट सार्प सुटर आएर राजधानीमा नेपाली नागरिकको दिनदहाडै हत्या गर्ने हदसम्मका काम भएका छन् । दक्षिणले दाबी गरेजस्तो ७० लाख नेपाली उता बस्छन् भन्ने आँकडालाई नेपालले गलत सावित गरिसकेको छ । नेपालले बढीमा ६ लाख नेपाली हुनसक्ने तथ्य पेश गर्दा भारतीयहरू चूप लागेका छन् । भारतमा बस्ने सबै नेपाली नेपाली हुन नसक्ने नेपाल पक्षको जिकिर छ । जस्तो कि, त्यहाँ प्रशस्त नेपालीभाषी भारतीय नागरिक छन् । भारतले तिनलाई पनि नेपाली नागरिक वा मूलवासी भनेको भए त्यो स्वीकार्य नहुने नेपालपक्षको भनाइ थियो । 

नेपाली नागरिकले भारतमा समान नागरिकको सुविधा पाएका छैनन् । र, भारतीय नागरिकले पनि यहाँ निर्वाध समान सुविधा लिएका छैनन् । सन् १९५० को सन्धिअनुसार त्यस्तो सुविधा दुवैले पाउनुपर्ने हो । नेपालमै पनि सरकारी जागिर खानका लागि यहींको नागरिकताको प्रमाणपत्र पेश गर्नुपर्ने मापदण्ड छ । जागिरको फारममै नेपाली नागरिक हुनुपर्ने अनिवार्य शर्त राखिएको हुन्छ । भारतीय नागरिकता देखाएर नेपालको जागिर खान पाइँदैन । बैठकमा नेपालका लागि भारतीय पूर्वराजदूत जयन्तप्रसाद ब्रेनस्ट्रोकका बाबजुद उपस्थित थिए, अड्कीअड्की थोरै मात्र बोल्थे ।

टिप्पणीहरू