आनीको त्यसपछि मोडिएको जिन्दगानी

आनीको त्यसपछि मोडिएको जिन्दगानी
सुन्नुहोस्

मानव सेवा आश्रम बेलायत च्याप्टरले यही मे ५ मा क्याम्बर्लीस्थित लेकसाइड होटलमा आनी छोइङ एकल साँझ प्रस्तुत ग¥यो । लामो समयपछि यति धेरै सहभागीबीच सम्पन्न यस कार्यक्रमले विदेशी दर्शकहरुको समेत बाक्लो उपस्थिति हुने गरी अर्को कार्यक्रम आयोजना गर्न तिर्सना जगाएको छ । आनी यदि हेलम्बुतिर मौन ध्यानमा जानुभएन भने यसनिम्ति पहल हुने नै भयो । आनीको नाम र मानव सेवा आश्रम नेपालको कामका आधारमा हाम्रो टिमले गरेको व्यवस्थापकीय दायित्व नै यो कार्यक्रम सफल हुनुको मुख्य आधार थियो । 

गत अक्टोबरमा पहिलोपटक मानव सेवा आश्रम काठमाडौंमा युके संयोजक सुनिल खड्कासहित पुग्दा संस्थापक रामजी अधिकारीको टिमको स्वागत, सत्कार तथा त्यहाँ बस्नुहुने करिब २०० जनाको चहलपहलले मन आनन्दित भएको थियो । त्यहाँबाट हामी यही कार्यक्रमसम्बन्धी छलफलका लागि आनीजीको बासस्थान पुगेका थियौं । यो नै हाम्रो पहिलो भेटघाट थियो । केही समयको भलाकुसारीमा उहाँद्वारा व्यक्त धारणाले कार्यक्रम सम्पन्न गर्न त्यति सहज र सरल होलाजस्तो लागेको थिएन । तर, चुनौती सामना गर्दा झन् अलौकिक अनुभव प्राप्त हुने आशामा अगाडि बढ्यौं ।

आयोजक टिममा रहेका हामी कसैसँग पनि यो परिमाणको कार्यक्रम सञ्चालन गरेको अनुभव थिएन । विभिन्न पृष्ठभूमिका साथीहरु भएकाले सोच्ने र काम गर्ने शैलीमा एकरुपता रहेन तर मुख्य ध्येय सडकमा नारकीय जीवन बिताएका तर अहिले नेपालको १९ जिल्लाका २४ आश्रममा रमाइरहेका करिब १७ सय बाआमा, दाजुभाइ, दिदीबहिनी, छोराछोरीको अनुहार सम्झिएर तीन महिनाभन्दा बढी समय अहोरात्र यो काममा लागिरह्यौं । केही भए मे ५ पछि बसेर छलफल गरौंला भनी थाती राखिएका केही विषय कार्यक्रम सफलतासँगै ओझेलमा परेका छन् । बरु अर्को पटक कसरी भव्य कार्यक्रम गर्न सकिएला भनेर अहिलेका कमी–कमजोरीलाई शिक्षाको रुपमा लिन सकिने आत्मबोध भएको छ । 

पाँच वर्षको उमेरदेखि घरको काममा आमाबाबालाई बाध्यात्मक सहयोग गर्दा पनि दिनहुँजस्तो कुटाइ सहनुपरेको आनीको जीवनकथाका केही भाग पढे पनि उहाँसँगको सामिप्यताले छोटो समयमा कैयन विषय सिक्न पाइयो । नाममात्रको विद्यालय जीवन बिताउनुभएकी आनी आफैंले एउटा विश्वविद्यालय बोकेर हिँड्नुभएको छ । जसले जुन विषय चाह्यो, त्यो सिक्न सक्छ उहाँबाट । १० वर्षको उमेरमा आनी बन्ने पक्कापक्की भए पनि १३ वर्षको उमेरबाट आफूले नयाँ जीवन पाएको तर आमालाई मृगौला दान गर्न नपाएकोमा उहाँ लामो समयसम्म पछुतोमा पर्नुभएछ र एउटा अस्पताल नै निर्माण गर्नतिर लाग्नुभएछ । आफूले पढ्न नपाए पनि ३ सय जनाभन्दा बढीलाई पढाइरहनुभएको छ । आमा बन्ने रहर भएर पनि पूरा गर्न नपाउँदा अनाथ बालकलाई छोरा बनाएर राख्नुभएको छ । कपाल मुडुलो पारी भिक्षु वस्त्रमा बुद्ध धर्म प्रचारप्रसारतिर लागेको जस्तो देखिए पनि १० वर्षको उमेरमै धर्मको खोजीमा नभई स्वतन्त्रताको खोजीमा हिँडेको र त्यो वातावरण बुद्ध धर्ममा रहेछ भन्ने बुझाइले मलाई सबभन्दा बढी प्रभाव पारेको छ । 

कार्यक्रम प्रचारप्रसारको क्रममा एक जना नामुद कार्यक्रम आयोजकले टिकट ५० पाउण्ड रहेछ, हुन त आनीले कसेर लिएको होलासम्म पनि भन्न बाँकी राखेनन् । मलाई हाम्रो समाजमा हुने, सुन्ने र अनुमान गरिने विषयमा आकाश–पातालका फरक किन हुन्छ होला भनेर धेरैपटक प्रश्न उठाउन मन लाग्छ । त्यसो त अक्टोबरको पहिलो भेटमै उहाँले यदि डेढ–दुई करोड पनि मानव सेवा आश्रमको लागि जम्मा गर्न सक्नुहुन्न भने दुःख नदिनुस् ।

अन्त कतै कार्यक्रम गरेर त्यति पैसा म आफैंले पनि दिन सक्छु, किन तपाईंहरु दुःख गर्नुहुन्छ भन्नुभएको थियो । ब्याण्डका चार जनालाई सामान्य खर्च भए पुग्छ, हामीलाई त्यस्तो खर्च गर्नुपर्दैन भन्ने उहाँको धारणा थियो । मलाई लागेको थियो, उहाँले जहाजको टिकटचाहिँ बिजनेस क्लासको लिएको हुनुपर्छ तर जब एयरपोर्टमा लिन जान टिकटसहितको जानकारी आयो, मेरो त्यो भ्रम पनि दूर भयो । सामान्य कलाकार आउँदा पनि महँगो होटलमा बस्ने रहर हुन्छ तर हामीले उहाँहरु सबैलाई एउटा तीनकोठे घरमा व्यवस्था गरेका थियौं । सबै मिलेर खाना पकाउने, सरसफाइ गर्ने, कति रमाइलो ! गजबको कुरा, एउटा कार्यक्रममा आनीलाई भेटेपछि भारतीय मूलका घरबेटीले जति समयसम्म बसे पनि शुल्क तिर्न नपर्ने भनेका थिए ।

नेपाल फर्किने बेला केही किनमेल गर्नुपर्ने होला भन्दा उहाँलाई मन पर्ने पसल कि सण्डे मार्केट कि त च्यारिटी सप पो रहेछ । त्यहाँ किनमेल गर्दा राम्रो सामान सस्तोमा पाए पनि पैसा भने कुनै संस्थालाई परोपकारी काममा जाने भएकाले मन पर्छ भन्नुभयो । पैसा कमाउनु भनेको श्वास फेर्नु जस्तो हो, कहिलेकाहिँ लामो श्वास रोकेर राख्न खोज्यो भने उकुसमुकुस भएजस्तो कमाएको पैसा जम्मा गरेर राख्ने हैन, आफूभन्दा बढी आवश्यकता भएको ठाउँलाई दिनुपर्छ भन्ने आनीको मान्यता अति मननयोग्य छ । पैसा भनेको करेन्टजस्तो प्रवाह भइरहनुपर्छ, त्यसैले करेन्सी भनिएको हो भन्ने ओशोको प्रवचनमा पनि यही भावना प्रतिविम्बित भएको पाइन्छ ।

एक दशकदेखि सक्रिय मानव सेवा आश्रमले २०८२ सालदेखि कोही पनि सडकमा बास बस्न नपरोस् भन्ने महान् अभियान सञ्चालन गरेको छ । जुन गतिमा यस संस्थाले काम गरिरहेको छ, यसलाई निरन्तरता दिन आवश्यक छ । आनीजस्ता मनकारीहरु यो अभियानमा जोडिनु र जोडिँदै जानु यो अभियान सफल हुनुका कारक हुन् जस्तो लाग्छ । आनी किन यो अभियानमा होमिनुभयो होला भनेर सोध्दा उहाँको जवाफ थियो, ‘सडकबाट उद्धार गरेर ल्याइएका अशक्त र असहायहरुलाई नुहाएर जब सफा गरिदिन्थें, हेर्दा उनीहरु सफा भएजस्तो लाग्थ्यो तर म आफू नै सफा भएको अनुभूति गर्थें । उनीहरुलाई खाना खुवाउँदा म आफैं तृप्त हुन्थें । तिनलाई पानी पिलाउँदा मेरो तिर्खा मेटिन्थ्यो । उनीहरु आनन्दले सुतिरहँदा मलाई निद्रा पुग्थ्यो । यस्तो मानवीय सेवाबाट प्राप्त हुने आनन्द अन्यत्र कहीं, कतै पाइँदैन ।’

हामी पनि सकेसम्म कुनै न कुनै मानवीय काममा संलग्न हुँदै आएका छौं । कोही धेरै, कोही थोरै समय, परिस्थितिअनुसार हुने नै भयो । कमाइको हिस्साका आधारमा भन्ने हो भने सामान्य गुजारा चलाइरहनेहरुले गर्ने सरसहयोगको मूल्य बढी हुन जान्छ तर सबैले सधैं जिम्मेवारीपूर्वक दायित्वहरु वहन गर्नसक्ने सम्भावना हुँदैन । एक्लोले सारा संसार परिवर्तन गर्न नसकिए पनि कोही कसैको संसार सरल र सहज बनाइदिन सकिन्छ । त्यसैले यो समाजले हामीलाई केही दिएको छ । हामी जति नपाउनेहरु मात्र हैन, सामान्य गुजारा वा मानिस भएर बाँच्न नपाएकाहरुलाई केही गर्नुपर्छ भन्ने भावना यी र यस्ता कार्यक्रमहरुले जगाइदिने गर्दछन् ।

हामीले प्रचारको बेला नै यो कार्यक्रम बेलुकी ६ बजे नै शुरु हुनेछ भनेका थियौं । प्रायःजसो हाम्रा कार्यक्रम समयमा शुरु नहुँदा अन्त्य पनि ढिलो नै हुने गर्दछ । हामीले ६ देखि ७ बजेसम्म संस्थाको कार्यक्रम, ७ देखि साढे ९ बजेसम्म आनीको एकल प्रस्तुति भनेका थियौं । आनीको हातमा ७ बजेर ५ मीनेटमा माइक पर्‍यो र साढे ९ बजे कार्यक्रम सकियो । अर्को खुशीको कुरा, भोलिपल्ट मे ६ को दिन अल्डरसट फुटबल क्लब स्टेडियममा नेपालको राष्ट्रिय टिम र यहाँको सि समूहबीच मैत्रीपूर्ण फुटबल खेलको शुरुमा आनीद्वारा राष्ट्रिय गीत गाइएको थियो ।

(साभार:जनआस्था साप्ताहिकबाट)


 

टिप्पणीहरू