​नदेखिने लडाईंको नालिबेलि

झट्ट हेर्दा एउटा रोमाञ्चक सिनेमाझैँ लाग्ने पैसावालहरुको झगडाका भित्री पत्रमा अर्थोकै भेटिएको छ । कैलाश सिरोहिया र अजेयराज सुमार्गीको झगडासँग उपेन्द्र महतोको कनेक्सन यस्तो छ कि, खासमा महतो क्लियर नहुञ्जेल सिरोहिया र सुमार्गीको बाझाबाझ साम्य होलाजस्तो बुझिँदैन ।

उपेन्द्र महतोसँग जोडिएका महŒवपूर्ण पात्र हुन्, निरजगोविन्द श्रेष्ठ । तासको जोक्कर पल्टाएजसरी उनलाई देखाएर यो प्रकरण तन्किएको तन्कियै छ । उनी महतोबाट मासिक ७५ हजार अमेरिकी डलर शेयर आम्दानी लिने व्यक्ति हुन् । एनसेलमा नदेखिने गरी २० प्रतिशत आफ्नो शेयर राखिरहेको बताइने उपेन्द्रले निरजलाई तीन सय पृष्ठको डकुमेन्टमा सही गर्न लगाएका छन् । निरजगोविन्द यतै भैंसेपाटीको अग्लो घरमा रक्सी खाएर पल्टिरहन्छन् । त्यहाँ भएनन् भने बेलारुस पुगेका हुन्छन् । महतोको डेल्टा ट्रेड नामक फर्मबाट कारोबार हुने गरेको छ । अझै पनि पूर्व राजाका ज्वाईं राजबहादुर सिंहको मोबाइल कम्पनीमा भएको लगानीबापतको पैसा विदेशमा छ । सिंगापुरसम्म पैसा आइपुग्यो, तर सुमार्गीको पैसा रोकिएकै कारण उनको पनि जाम भएर बसेको । केही पैसा कम्बोडिया र लाओसमा सञ्चालित एनसेलजस्तै कम्पनीमा लगानी भएर बसेका छन् । कम्पनी रजिष्टार कार्यालयमा टेलियासोनेरालाई सयमा सय कित्ता शेयर बिक्री गरेको उल्लेख छ ।

कागजमा एक कित्ता शेयरको मूल्य सय उल्लेख छ, तर त्यो शेयर प्रतिकित्ता ७८ हजारका दरले किनबेच भएको वास्तविक कागज निरजगोविन्दसँग छ । यसो गर्नुको कारण हो, पैसाको लेनदेन बाहिरै हुनु । यता त्यस्तो कागज देखाएर अरुको आँखा छलिँदैछ । सुमार्गी र सिरोहियाको झगडामा पनि उपेन्द्र कुनै न कुनै हिसावले जोडिएको आशंका गरिन्छ । टेलियासोनेरा उपेन्द्रले निरजगोविन्दमार्फत छोडेपछि भावना सिंह अहिले २० प्रतिशतकी मालिक्नी छिन् । अहिले उनलाई पनि हटाएर सिरोहिया त्यसको प्रमुख बन्ने दाउमा रहेको बताइन्छ । उपेन्द्र महतोकी श्रीमती समताप्रसाद पहिला डेल्टाकी डाइरेक्टर थिइन् । शेयर नामसारी प्रकरणमा कर छलेको भन्दै लोकमान अख्तियार प्रमुख हुँदा समातेर अनुसन्धान गर्न लागेका थिए । त्यसबेला ‘मैले बचाएको हुँ नि’ भन्ने सुमार्गीको भनाइ छ । कैलाश सिरोहियाले क्या.रामेश्वर थापालाई कान्तिपुरको शेयर र मुनाफा फिर्ता गर्ने क्रममा दिएको चेक बाउन्स भएपछि लोकमानको आदेशमा प्रहरीले सिरोहियालाई समातेर थुन्न लाग्दा पनि ‘मैले नै बचाएको हुँ’ भन्ने सुमार्गीको खोकाइ छ । ठूल्ठूला कारोबारीका सही कुरा बाहिर हत्तपत्त नआउने, कन्याएको, खोस्रिएको कुरामात्र आउने । तर, खास कुराचाहिँ यस्तो रहेछ भन्ने प्रारम्भिक चित्र हो यो ।  

टिप्पणीहरू