​कस्तो अप्ठ्यारोमा फसियो, कठै

रामायणमा रामले सीता गुमाए तर यहाँ त म आफँै गुम्ने निश्चित छ । उनीहरू दुवै जनासँग हिमचिम र चिनजान भएको दुई वर्ष बित्दै छ । चिनापर्चीभन्दा पनि त्यसपछिको सम्बन्ध प्रगाढ हुने रहेछ, दुई दिनको जिन्दगीमा । घरी–घरी लाग्छ, बरु चिनजानै नभएको भए कति जाति हुन्थ्यो होला । आफ्नो दुनियाँमा रमाउन त सक्थँे, कमसेकम । यसरी तड्पिएर जिउनु पर्दैनथ्यो । न मर्छु भनेर मर्न सकिरहेछु न त दिल खोलेर हाँस्नै । उफ् ! यो जिन्दगी ! उता उसलाई सम्झन्छु झनै मन बरालिएर कहाँ पुग्छ कहाँ । यता उसलाई सम्झन्छु उस्तै हुन्छ हालत । माया भन्ने चिज यस्तै हुँदोरहेछ । कसरी बुझाऊँ यो मनलाई । दुईमध्ये एकलाई गुमाउन पनि सक्दिनँ न त दुवैदेखि टाढा भएर बाँच्न नै सक्छु । अहँ ! पटक्कै बस्न सक्दिनँ । सायद, यस्तै हुँदोहोला मायामा जिन्दगीको यात्रा । घरी कता घरी कता । 

म पवित्रालाई स्नातक पढ्दै गर्दा मन पराउँथँे । सबैले मलाई ‘कोरियन ब्बाई’ भनेर नाक फुलाइदिन्थे । त्यसपछि त के नै चाहियो र अरू कुरा भन्नलाई ! चिनजान फेसबुकमार्फत भएको हो । २१ वर्षकी उनी मभन्दा एक वर्ष कान्छी छन् । मैले २२ वसन्त पार गरिसकेँ । आरआर कलेज, भृकुटीमण्डपमा पढ्ने सिलसिलामा फेसबुकमार्फत उनीसँग चिनजान हुन पुग्यो । तर, उनी र म सात कोष वारिपारि । उनी विराटनगर म कोटेश्वर । एक जना साथीमार्फत उनले फ्रेण्ड रिक्वेस्ट पठाएकी थिइन् । सायद मेरो बारेमा केही जानकार थिइन् कि ! मैले पनि साथी बन्ने प्रस्ताव सजिलै स्विकारँे । कैयौँ फेसबुक र कलेजका केटी साथीहरू भएको हुनाले उनलाई पनि मैले त्यही क्याटेगोरीमा राखेँ । सायद उनी पनि त्यस्तै होलिन् । र, न मैले साथी बन्ने प्रस्तावलाई सहर्ष स्विकारेँ । बरु त्यो रिक्वेस्ट थाती नै राखेको वा डिलिट  गरेको भए पनि यसरी बाँच्नुपर्दैनथ्यो होला । तर, मनले कहाँ मान्दोरहेछ र । जति प्रयास गरे पनि बिर्सन सक्दै सक्दिनँ । न औषधि खाएर पार लाग्नेवाला छ । न त औषधिको सट्टा एक घुट्को विष खाएर प्राण त्याग्न सकिन्छ । सम्झन्छु, मजस्ता कति जना फेसबुकेको जिन्दगी यसैगरी बितेको होला ! उनीसँग फेसबुकको भित्तामा कहिलेदखि च्याटिङ सुरु भयो भनेर ठ्याक्कै मिति भन्न सक्दिनँ । अहिले दिनरात फेसबुक र फोनमा कुराकानी भइरहन्छ । पहिलाझैँ गरी मलाई सताउँछिन् । भुलाउँछिन् । तड्पाउँछिन् । तर, मेरो तारिफ होइन रविनको कुरा गर्छिन् । पहिला मेरो तारिफ गरेर लठ्ठ बनाउँथिन् अहिले उसको । कुन दिन उनीसँग रविनको चिनजान गराएछु । हे ईश्वर ! अब म के गरुँ ? तिमी नै यसको जवाफ देऊ ! के मैले रविनसँग चिनजान गराउनु नै गल्ती थियो त ? 

पवित्राले फ्रेण्ड रिक्वेस्ट पठाएको करिब दुई महिनाअघि हुन सक्छ, रविनसँग चिनजान भएको । स्नातक पहिलो वर्षको परीक्षा दिएपछि न हो दोस्ती जमेको । त्यो भन्दा अघि क्याम्पसमा साथीहरूसँग हुँदा हाइ हेल्लोसम्म हुन्थ्यो । भनौँ न सामान्यदेखि घनिष्टता गाँसिएको दुई वर्ष बित्यो । तर, यति साह्रो घनिष्ट मित्रता गाँसिएला भन्ने सोचेको थिइनँ । ऊ हेर्दा सामान्य देखिन्थ्यो तर अध्ययनमा अब्बल । संघर्षशील र मिहिनेती । तर, म ऊजति न अध्ययनशील थिएँ न त केही कामै गर्न मन लाग्थ्यो । त्यतिखेर काम गर्न मनै लाग्दैनभन्दा म फोटो खिच्नचाहिँ खुब रुचि राख्थेँ । कलेजमा शिक्षकले पढाइरहँदा उरण्ठेउलो केटा साथीहरूसँग आरआरको बगैँचाभित्र छिरेर स्टाइल स्टाइलका फोटो खिच्थेँ । स्नातक भर्ना भएपछिका एक वर्ष यसरी नै बित्यो । शनिबार साथीहरूसँग घुम्न गइन्थ्यो । बेलुकी घर आइनपुग्दै फेसबुकमा दिनभरका फोटोहरू पोस्टिङ भएर डेढ सय लाइकसँगै कमेन्टको ओइरो आउँथ्यो । ती लाइक र कमेन्ट देखेर मनमनै गम्थँे, जिन्दगी जसो गरेँ उसैगरी चल्दोरहेछ । यसरी नै क्याम्पस जीवन बिताउने सिलसिलामा रविन मेरा लागि केही नयाँ चिज भएर आइदियो । 

जातले म राई । ऊ तामाङ । पवित्रा परिन् कोइराला । तर, हामीबीचको सम्बन्ध त्योभन्दा माथि थियो । हो, मलाई होइन पवित्राले उसैलाई मन परी । एकदिन घटना यसरी मोडियो । म रविनजस्तै सामान्य बन्दै थिएँ । पकेट खर्चका लागि काम पनि गर्न थालिसकेको थिएँ, रविन झैँ । बानेश्वरको एउटा अफिसमा । रविनको जीवनशैली निकै मज्जा लाग्थ्यो । कता–कता म पनि उसकै सिको गर्न खोज्थेँ तर कहाँ सम्भव हुनेरहेछ र अरूको नक्कल गर्न ! नक्कल गरे पनि त्यो केही क्षणका लागि हुँदोरहेछ । प्रकृतिमा कोही कोही त्यस्ता खालका मानिस पनि जन्मिँदारहेछन्, कम बोल्ने तर धेरै काम गरेर देखाउने । रविन पनि त्यसमध्ये एक थियो । बाहिरबाट झट्ट हेर्दा लम्फूझैँ देखिए पनि भित्री रूपले तीक्ष्ण ।

सरकारी स्कुलमा पढे पनि निजी विद्यालयमा पढेर आएका धनी बाबुका छोराछोरीलाई साइड लगाउँथ्यो । अंग्रेजीमा त झनै बेजोड । दैवले होला, कसरी हो कुन्नि गत वर्षको स्नातक परीक्षामा उसको पछाडिको सिटमा पर्न पुगेँ । त्यसपछि नै हो मैले उसको त्यो क्षमता देख्न र नियाल्न पाएको । भनौँ न मैले आँखा छली छली उसको कापीका अक्षरहरू सारेँ । नभन्दै स्नातक पहिलो वर्ष सजिलै उत्तीर्ण भएँ । र, दोस्रो वर्ष पनि पार भइसकेँ । अब, अन्तिम वर्षको परीक्षा दिन बाँकी छ । यसकारण म उसलाई एउटा साथी होइन अभिभावक र गुरुको रूपमा मान्छु । जसले मलाई आज त्यो कलेज उरण्ठेउले जीवनबाट सुधारेर केही गर्ने आत्मबल थपिदियो । तर, आत्मबलसँगै अर्काे चिज पनि भित्रभित्रै खोसेर लग्यो । खैर, अब भन्नुस् अब दोष कसको हो ? म केही खुट्ट्याउन सकेको छैन । 

मलाई आज त्यो अवस्थाबाट यो अवस्थामा ल्याउने जिम्मा रविनकै हो । म रूपले चिटिक्क थिएँ भने थोरै व्यवहार र ज्ञानले पनि । तर, ऊ रूपभन्दा व्यावहारिक र अध्ययनशील थियो । यसैकारण होला पवित्राले उनलाई अँगालो हाल्न पुगिन्, मोरङको त्यो यात्रापछि । असोज १५ को दसैँ फुपूको घरमा मनाउने योजना बुनेर म र रविन दसैँको दुई दिनअघि नै काठमाडौंबाट हुइँकियौँ । जहाँ बस्थिन् पवित्रा । जसले दसैँ मनाउन अनेकौं बिन्ती बिसाएकी थिइन् । आफ्नो जन्मथलो, धादिङलाई बिर्सेर उता गएको थिएँ म । फेसबुक र फोनमा सताउनसम्म सताउँथिन् । मायाले होइन मीठो बात् र मुस्कानले । भित्रभित्रै प्रेम अङकुराउन थाले पनि त्यो भन्न सकिरहेको थिइनँ । यति मात्र भन्थिन्, ‘हजुरजस्तो साथी भएपछि अरू के नै चाहियो र !’ यसकै जवाफ खोज्न विराटनगर गएको थिएँ । रविनले त्यहाँ जान आफू नभ्याउने पटक–पटक भने पनि मैले फकाइफुल्याई लगेँ । तर, त्यहीँ गल्ती गरेर पछुताइरहेछु । त्यहाँ पवित्रासँग एक हप्ता घुमघामसँगै रमाइलो गरियो । उनले मोरङको बेलबारी, पथरी र सुन्दरहरैँचा सबै नगरपालिकाका बस्ती–बस्ती घुमाइन् । त्यसैबेला हो उनी रविनसँग नजिकिन पुगेको । रविन लजालु तर व्यावहारिक खालको गफ गर्न रुचाउँथ्यो तर म विल्कुलै धेरै बोल्थँे ।

फुपूको घर जानुपूर्व मैले रविनलाई मेरो र पवित्राको सम्बन्धबारे केही भनेको थिइनँ । मात्रै त्यहाँ एक जना साथी पनि आउँछे ! भनेको थिएँ । त्यहाँ पुगेपछि पवित्राको रविनप्रतिको त्यो मनोभावलाई बुझिहालँे । तर, प्रतिवाद गर्न सकिनँ । सायद पवित्रा रविनसँग नजिकिन खोज्दै थिइन् । तर, नवीन पवित्रालाई एउटा साथीको नाताले बोलाउँथ्यो । मैले जे सोचेर गएँ  विल्कुलै फरक भइदियो । रविनको लाइफ स्टाइल खुब मन प¥यो भन्दै मेरासामु मनको कुरा पोख्थिन् । यो कुरा रविनलाई भनिनँ । यसरी नै एक हप्तासम्म मोरङमा दसैँँ मनाएपछि पवित्रासँग बिदा भएर काठमाडौं फर्कियौँ । अहिले ठ्याक्कै चार महिना बितेछ । तर, समय जति चाँडो बित्दै छन् मन त्यति नै चाँडो धड्किइरहेको छ ।

अझै पनि मनभित्र अड्किएको एउटा गाँठो पवित्रासामु फुकाउन सकिरहेको छैन । खै कसरी फुकाऊँ ? दिनरात पवित्राले फेसबुकमा भन्छिन्, ‘आई लभ रविन । प्लिज टेल हिम, माई फिलिङ्ग्स’ तर किन हो किन ? तेस्रो वर्षको परीक्षाको तयारीमा जुट्नुपरेकोले यो कुरा रविनसँग राख्न सकिरहेको छैन । उता, पवित्रालाई रविन परीक्षाको तयारीमा रहेको भनी टार्दै आएको छु । कहिले र कुन मितिमा कुन विषयको परीक्षा केही थाहा छैन । दिनरात उनको यादमा तड्पिएर बाँचेको छु तर सबै कुरा भन्न सकिरहेको छैन । म के गरुँ ?

 –अमिर राई, हाल कोटेश्वर 

टिप्पणीहरू