​यस्ता नारी छन् र त समाज अडेको छ

नारीको अर्काे रूप धर्ती यसै भनिएको होइन रहेछ । चाणक्य भन्छन्, पुरुषभन्दा नारीले सोह्र गुणा बढी सहन सक्छन् । सहुँ सहुँजस्तै परे पनि । उनी धर्ती बनेर सहिरहेकी छन्, पीडाको अजंगको पहाड । श्रीमान्बाट भोगेका अत्यासलाग्दा पीडाबीचसमेत अनवरत श्रीमान्माथि माया खन्याइरहेकी छिन् । सहर बजारमा आजकल ब्रोइलर पिरती गाँस्नेहरू मायाको बदलामा माया खोज्छन् । शरीरका लागि मात्र प्रेम गर्ने आजको तन्नेरी पुस्ताले यिनीबाट सिक्नुपर्ने र जान्नुपर्ने धेरै चिज छन् । तीमध्ये एक हो अनकन्डिसनल लभ अर्थात् बेशर्त माया के हो ? बिनाकुनै कारण उनी बेशर्त माया ! 

देविका भुसाल १७ वर्षअघि धनेश्वरसँग विवाह बन्धनमा बाँधिइन् । विवाह गरेकै वर्ष श्रीमान्सँग झरिन् राजधानी खाल्डोतिर तर उनका सपना यो राजधानीले पूरा हुन दिएन । जसको आडभरोसा लागेर राजधानी भित्रिएकी थिइन् त्यही टेक्ने लठ्ठी बांगो भो । अर्थात् गाउँमा छँदाका सोझा श्रीमान् सहर पसेपछि बांगिए, जसरी दुर्योधनको संगतले भीष्म गाई चोर्न हिँडेका थिए । उनी पनि साथीसंगीको संगतका कारण भट्टी धाउन थाले । 

 भन्छन्, सुख दुई दिनको पाहुना, दुःख हुन्छ सधैँको साथी । विवाह पछाडिका दुई वर्ष खुशी र उमंगका वर्ष थिए । तर, खुशीरूपी पाहुनाले छाडेर गयो । पतिले अब श्रीमतीमा होइन, अन्यत्रै खुशी देख्न र भेट्न थाले । कोखमा बच्चा आएको समय । श्रीमतीका लागि सबैभन्दा बढी माया–ममता दिनुपर्ने श्रीमान् रक्सी र भट्टीमा खुशी खोज्न थाल्ने । 

दुवै दाङका । धानेश्वरका दाजु माछामासु छुनुहुन्न तर उनीचाहिँ रक्सीको आहालमा डुब्न थाले । विवाहअघि रक्सी खाएको थाहा थिएन । थाहा पाएको भए जानीजानी भीरमा किन हामफाल्थिन् ? ६० सालमा जेठो छोरालाई जन्म दिइन् । सुत्केरी स्याहार्नुपर्ने श्रीमान् भट्टीमा रक्सी धोक्न पुग्थे । घर आउने÷नआउने टुंगो हुन्नथ्योे । कुनै समय १२÷१५ दिन हराउँथे । जेठो छोरा हुर्कियो । ६ वर्षको फरकमा कान्छो जन्मियो । यसबीच श्रीमान्÷जागिरे पनि थिए घरेलु विभागमा करारअन्तर्गत । जति कमाउँथे आफैं उडाउँथे । कालान्तरमा रक्सीमा यसरी डुबुल्की मारे कि हाकिमले जँड्याहा भन्दै गलहत्याइदिए । 

श्रीमान्लाई धेरै सम्झाइन्, बुझाइन् । धेरै आँसु बगाइन् । तर, नशा लागेपछि कसको के लाग्दो रहेछ र ? बिहान रक्सी छुँदै छुन्न तिम्रो कसम भन्ने  लोग्ने बेलुका टिल पल्टेर आउँथे । श्रीमान् सुध्रेलान् र जीवनमा सुखका दिन फर्केला भन्ने झिनो आसमा अस्पताल, धामी–झाँक्री जान्ने–सुन्ने कहाँ पुगिनन् ! कहीँबाट केही पार लागेन । औषधिले छोएन, धामीझाँक्रीले पनि भएन । अन्ततः श्रीमती भएर पनि श्रीमान्ले घरपरिवारका लागि निभाउनुपर्ने दोहोरो जिम्मेवारी निभाउन थालिन् । एकातिर दुईवटा बच्चाको लालनपालन, शिक्षा–दीक्षा र औषधोपचार, अर्काेतिर कोठाभाडा, रासनपानी जुटाउनुपर्ने जिम्मेवारी, अनि बिग्रेको श्रीमान्लाई सही ट्र्याकमा ल्याउने काम ।

आखिर यो समाज जेमा पनि महिलालाई दोष दिन्छ । श्रीमान् नै गलत ट्र्याकमा हिँडे,  जँड्याहा भए तर अपगालको भारी उनैमाथि आइलाग्यो । काठमाडौंबाट दाङ धेरै पर होइन । तर, यही श्रीमान्कै बानीका कारण ७ वर्ष भयो बुबाआमाको आँगन नटेकेको । जब माइती जान्थिन् आफन्तले जँड्याहाकी श्रीमतीको बिल्ला भिराउँथे । बुबाआमाले छोरीको दुःख देखेर भनेका पनि हुन्, ‘दुवै नाति लिएर आइज र यतै बस् ।’ तर मानेन मनले । आफ्नो पीडा अरूलाई देखाउन चाहिनन् । असह्य पीडामा पनि मुस्कुराइन् । यो बेहिसाब दुःख र अजंगको पहाडले किच्न थालेको ठ्याक्कै १७ वर्ष भयो । अब दुःखसँग अभ्यस्त भइसकेकी छन् । लाग्छ, पढेको भए यस्तो दुःख र पीडा भोग्न पर्दैनथ्यो होला ।

सुखले जीवन जिउन सकिन्थ्यो होला । बिहान उठ्नु, छोराहरूलाई खुवाउनु, विद्यालय पठाउनु र अरूको घर तथा जुठा भाँडा माझ्न पुग्नु । अरूलाई चोरेर, ढाँटेर र छलेर पो खान हुँदैन, पाखुरा चलाएर, पसिना बगाएर खान लाज मान्नुपर्ने कुरा होइन । धेरै पटक एक्लै भाग्यलाई सरापेर एक्लै रोएकी छन् । फेरि आफ्ना दुई नाबालक लालाबालाको अनुहार सम्झिन्छिन् । पुलकित हुन्छिन् । तिनकै उज्ज्वल भविष्यका लागि रातदिन घामपानी तिर्खा प्यास नभनी श्रम गरिरहेकी छन् । मैतीदेवीस्थित मार्बल्स बोर्डिङ स्कुलमा पढ्छन् दुवै छोरा । जेठो छोरा नौ कक्षामा । कान्छो दुईमा । एउटा सानो कोठा । छोराहरू पढिरहेका हुन्छन्, होमवर्क गरिरहेका हुन्छन् । बाबा जाँड खाएर आउँछन् र होहल्ला गर्छन् । यस्तो तनावबीच पनि पढाइ राम्रै छ । कहिलेकाहीँ अरूको जोडी हाँसेर हिँडेको देख्दा उनको मन कुँडिन्थ्यो मेरो पनि श्रीमान् यस्तै भइदिएको भए …….!

तर ती सपना मात्र भए । भन्छिन्, ‘धेरै पटक एकान्तमा सन्तानले नदेख्ने गरी रोएर आफैंलाई हल्का पार्ने प्रयास गरेकी छु ।’ छोराहरू कहिलेकाहीँ प्रश्न गर्छन्, ‘आमा, बाबाले किन रक्सी खानुभएको, हामीलाई दुःख दिनुभएको होला ?’ सन्तानलाई यस्ता प्रश्नमा नअल्झिन र पढाइमा ध्यान दिन आग्रह गर्छिन् । धेरैका श्रीमान् श्रीमतीले ससानो झगडामा पनि सम्बन्धविच्छेद गरेको देख्छु । पहिला पहिला परालको आगो भनिने लोग्ने स्वास्नीको झगडा अहिले मूढाको आगो बनेको पाइन्छ । म आफैं पनि कुनै समय अल्कोहलिक हुँ । रेडियोमा बोल्ने जागिर । सुरुमा आफैं पैसा तिरेर खुवाउने भेटिए, बानी परेपछि आफैंले पैसा तिरेर रक्सी खुवाउन थालियो । धेरै पिएँ ।

कहिले खुसीले पिएँ कहिले दुःखमा । र, पिउँदा पिउँदै यति पिए कि रक्सीले नै मलाई पियो । श्रीमतीले छाडिन् । मुटुको टुक्रा छोरी आफैंसँग लिएर गइन् । यसपछि अझै धेरै पिउने भएँ । म पनि हिजो उनीजस्तै कुलतमा फसेको मान्छे । तैपनि सुध्रिएँ । मामाको छोराले समयमै रिह्याब सेन्टरमा नपु¥याएको भए आज जीवित हुन्थिन होला । रिह्याब सेन्टरमा बसेर म सुध्रिएँ अर्थात् भनौं न पुनर्जीवन पाएँ । मजस्तै यी धानेश्वर दाजु पनि बदलिन सक्छन् । सन्तान र श्रीमतीको सुखका खातिर बाँच्न सक्छन् । एकबारको जुनीमा केही गरेर देखाउन सक्छन् । यही कारण विनय पाण्डे दाजु र म मिलेर सञ्चालन गरिरहेको रिकभरी होममा पठाएको छु उनलाई । बेवारिसे लास तथा घाइतहरूको निःशुल्क उपचार त गर्दै आएको छु । कुलतमा डुबेकाहरूले समेत निःशुल्क उपचार पाउनपर्छ भन्ने ध्येय छ । 

यसरी धर्ती समान भएर श्रीमान्लाई बेशर्त माया ममता र स्नेह प्रदान गर्ने श्रीमतीहरू धेरै कम हुन्छन् । अहिले फेसनझैं बनेको छ डिभोर्स । तर, धर्तीझैं सहेर बस्ने देविका भुसाललाई स्यालुट ! जसले १७ वर्षसम्म अत्याचार सहिन् । र पनि श्रीमान्का कमजोरीमा प्रेम नै पाइरहिन् । प्रेम नै खन्याइरहिन् । बेशर्त । यस्ता आदर्श नारी छन् र त समाज अडेको छ । 

– विनयजंग बस्नेत, अध्यक्ष एक्सन फर सोसल चेन्ज 

टिप्पणीहरू