कमरेडहरू कड्किँदाका कुरा

प्रचण्डले भारत भम्रणबारे सुनाइरहेका थिए, ‘एकदमै राम्रो भयो । मोदीजी आफैँ रिसिभ गर्न र पु¥याउन गाडीसम्मै आए । यस्तो हार्दिकता यसअघि बिरलै पाइन्थ्यो ।’

पार्टी सचिवालय बैठकको शुरुमै अध्यक्षले यसो भनिरहँदा माधव नेपालचाहिँ त्यति उत्साहसाथ सुनिरहेका थिएनन् । बरु सोधे, ‘रेस्पोन्स त राम्रो पाउनुभयो होला । तर, तपाईंले बोलेको कुरा मिलेन नि !’ प्रचण्डले अचम्म मान्दै सोधे, ‘के बोलेँ मैले ?’ भारतीय टेलिभिजन च्यानलमा पृथ्वीनारायण शाहले रक्तपातपूर्ण एकीकरण गरेकोलगायतका विषयमा बोलेकोबारे माधवले सोधे, ‘देश एकीकरण गर्नेजस्तो कुरा बिनारक्तपात सम्भव हुन्छ ? इटाली, जर्मनी र भारतमा त्यस्तो भएको छ ?’ प्रचण्डले जवाफ दिए, ‘मैले त्यस्तो भन्न खोजेको थिइनँ । पत्रकारहरूले ट्वीस्ट गरिदिए ।’ माधवले भने, ‘के को ट्वीस्ट हुन्छ । तपाईंले लाइभमा बोल्नुभा’छ, मैले पनि लाइभमै हे¥या’छु । लाइभमा पनि ट्वीस्ट हुन्छ ?’ दुई नेताबीच यस्तो कुरा हुन थालेपछि महासचिव विष्णु पौडेलले बैठकको ध्यान विषयमै केन्द्रित गर्न थाले । 
यो दृश्य हो, बालुवाटारमा गत साता सम्पन्न नेकपा सचिवालय बैठकको । 

वास्तवमा अहिले सत्तारुढ दल नेकपाको भित्री अवस्था ‘न हाँसको, न बकुल्लाको चाल’ भनेजस्तो भएको छ । पार्टी छ, तर संगठन सुचारु छैन । लाखौँ कार्यकर्ता छन्, तर सबका सब जिम्मेवारीविहीन अवस्थामा । न सरकारले जनतालाई उत्साह दिन सकेको छ, न पार्टीले कार्यकर्तालाई काम नै दिन सकेको छ । 

अध्यक्ष प्रचण्ड चार दिने चीन भ्रमणको सिलसिलामा काठमाडौंबाट बेइजिङ जान हिँडे । तर, नाञ्जिङ पुगेर उपराष्ट्रपतिसँग भेटी त्यहीँबाट फर्किंदै छन् । उनी फर्किएलगत्तै प्रम ओली संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका जाने तयारी छ । फर्किंदा दशैं–तिहारको माहौल हुन्छ । र, यसले सबभन्दा बढी क्षति पु¥याएको छ, पार्टी संगठनबीचको एकता प्रक्रियालाई । नेपालमा कम्युनिष्ट पार्टी, त्यसमा पनि विशेषतः तत्कालीन एमालेको संगठन सेना, प्रहरीपछि सबभन्दा मजबुत र फैलावटयुक्त मानिन्छ । तर, जेठ ३ मा माओवादीसँग एकता भएयता निष्क्रिय बनाइएका देशभरका संगठनलाई एकता प्रक्रियामार्फत पुनः चलायमान गराउने कुरा आलटाल गरिँदा त्यसको क्षति सरकारलाई पनि परेको छ । कसरी भने, सरकारमाथि चौतर्फी प्रहार छ । पार्टी कार्यकर्ताले सरकारको बचावमा संगठित हिसाबले लाग्नुपर्ने बेला आइसकेको छ । प्रम तथा अध्यक्ष केपी ओलीले अरिंगाल बनेर विरोधीको प्रतिवाद गर्न त भनेका छन् तर त्यसको काउन्टरमा नेता घनश्याम भुषालले ‘आफू गुट चलाउने, कार्यकर्ताले अरिंगाल बन्नुपर्ने ?’ भनेर सार्वजनिक रुपमै गम्भीर प्रश्न उठाइदिए । अर्थात्, पार्टी एकीकरण ढिलो हुँदा कार्यकर्ताहरू क्रमशः लाखापाखा हुँदै छन् । कम्युनिष्ट पार्टीका कार्यकर्ता विशेषतः दुई काममा अभ्यस्त छन् ।

पहिलो हो, संगठन र दोस्रो हो, (मास) जनपरिचालन । अहिले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको न्यायका निम्ति विभिन्न संघ, संस्थाले देशभर विरोध प्रदर्शनका कार्यक्रम आयोजना गरे । त्यसक्रममा नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रनजिकै भएको प्रदर्शनको दृश्य कस्तो आयो भने, सरकारको विरोधमा जाने अनुहार धेरैजसो नेकपाकै कार्यकर्ताको । सकारविरोधी गतिविधिमा अरिंगाल बनेर उत्रिन केपी ओलीले आग्रह गरेको भोलिपल्टै नेकपाका कायकर्ता बानेश्वरमा अरिंगाल बन्न त पुगे, तर सरकारको विरोधमा आयोजित प्रदर्शनमा । यसको कारण हो, संगठन निर्माण, पार्टीका धारणा जनताबीच लैजाने र परिवर्तित सन्दर्भमा पार्टीको भूमिका र कार्यदिशा बोकेर काममा लाग्नुपर्ने कार्यकर्ता लामो समयदेखि बेकामे बनाइनु । काम नपाएपछि राजनीतिक गतिविधिमा अभ्यस्त मान्छेहरू जाने त्यस्तै सभा र प्रदर्शनमै हो । त्यही जागरुकता पार्टी संगठन परिचालन, सरकारको बचावजस्ता काममा नदेखिनुले देशभर नेकपालाई ठूलै क्षति पुगिसकेको छ । 

उता, चीनसँग गरिएको ट्रेड एण्ड ट्रान्जिट सम्झौताले तुरुन्त परिणाम दिने होइन । तर, हल्ला यस्तो चलाइएको छ कि, मानौँ, अब भोलिपर्सिदेखि नै देश समृद्ध भइहाल्छ । अर्थात्, कामभन्दा प्रचार बढी गर्ने र सरकारको पक्षमा बोलिदिने कोही नभइदिने स्थिति छ ।

टिप्पणीहरू