​को चोखो बन्नु, कसलाई के भन्नु ?

रुद्रसिंह तामाङ काठमाडौं महानगरपालिकाको कार्यकारी प्रमुख भएका बेला ऐतिहासिक रानीपोखरीको सबै पानी निकाल्न लगाए र चौर बनाए । मोटर लगाएर पानी निकाल्ने कार्यमा त्यतिबेला अपत्यारिलो रूपले लाखौं खर्च देखाइयो । उनले नै पुरातात्विक महत्वको रानीपोखरीमा सिमेन्ट प्लास्टर गर्ने निर्णय पनि गराए । यति मात्र होइन, टेण्डरबाट प्रतिस्पर्धा गराई राष्ट्रपतिलाई ल्याएर प्लास्टर गरिएको संरचनाको शिलान्यास पनि सकाए । अहिले महानगरस्थित थुप्रै कर्मचारीसँग मिलेर तत्कालीन कार्यकारीले यी सब नचाहिँदो काम गरेका थिए । रुद्रले शुरु गरेको यही सिमेन्ट प्लाष्टरको खेल अहिले निर्वाचित मेयरका लागि बदनामीको मुख्य कारण बनेको छ । त्यतिबेला दुई वर्षभित्र सम्पन्न गरिने भनी राष्ट्रपतिलाई बोल्नसमेत लगाइयो । तर, व्यवहारमा भने रानीपोखरी निर्माणको काम रुद्रले सुरु गरेकै अवस्थामा छ । 

महानगरले निर्णय गरी, टेण्डर निकालेर प्रतिस्पर्धाबाट सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी सम्झौता गरेर सिमेन्ट प्लाष्टर गर्ने जिम्मा दिएको छ । यो निर्णयलाई सहजै अहिलेको नेतृत्वले कसरी अवज्ञा गर्न सक्छ ? रुद्रकै पालामा सार्क शिखर सम्मेलन आयोजना भयो । सोही सम्मेलनलाई पनि उनी र महानगरका उच्चपदस्थ नोकरशाहहरूले राम्रो शुभलाभ हासिल गर्ने अवसर बनाए । रुद्रकै अग्रसरतामा रानीपोखरीमा फाउण्टेन राख्ने नाममा करोडौं लगानी गरियो । करोडौंको लगानीमा पानीको फोहोरा निर्माण गरिएको केही महिना नबित्दै उनै रुद्रले रानीपोखरीलाई पानीविहीन बनाइदिए । अहिलेसम्म पनि सो फाउण्टेन निर्माणको हिसाब–किताब बुझाइएको छैन र उक्त निर्माण हस्तान्तरण पनि गरिएको छैन । 

कामनपाको स्वामित्व र व्यवस्थापनमा रहेको राष्ट्रिय सभा गृहमै गरिएको सार्क शिखर सम्मेलनकै लागि रुद्रकै अगुवाइमा सभागृहका सबै पुराना उपकरण परिवर्तन गरियो । करोडौंको लगानीमा त्यहाँका सबै कुर्सी, टेबलदेखि अन्य संरचना पुनर्निर्माण गरिएको थियो । हालसम्म पनि यो निर्माण समितिले महानगरलाई हस्तान्तरण गरेको छैन । यसको पनि हिसाब–किताब सार्वजनिक गरिएको छैन । 

टिप्पणीहरू