​मीठो खाना, नमीठो तानाबाना

हामी भोजभतेरमा मीठो मानी–मानी ससेज खान्छौँ, सितनको रुपमा पनि निक्कै चल्छ । तर, त्यहीँ एउटा लफडा छ, कानुनको ।

आर्थिक ऐन २०७३ मा नेपालमै उत्पादित ससेजमा पाँच प्रतिशत अन्तशुल्क लाग्ने व्यवस्था रहेछ । यसबारे धेरैलाई थाहा थिएन । तब थाहा भयो, जब ०७५ सालमा भारतबाट आयातित ससेजमाथि पनि उत्तिकै कर लगाउने नीति बन्यो । त्यसपछि बल्ल छर्लंग भयो– स्वदेशी र यतै खपत हुने सामानलाई प्रोत्साहित गर्नुपर्नेमा उल्टै कसिएको रहेछ । पहिला स्वदेशी उत्पादनलाई कस्नुसम्म कसेर, त्यो कुरा थाहा पाएपछि बल्ल भारतीयलाई उत्तिकै दरमा अन्तशुल्क लगाउने सरकारको नियत ठीक नभएको व्यवसायीहरु बताउँछन् । नेपालमा ससेज उत्पादन गर्ने राम्रा र ठूला कम्पनीको संख्या ११ छ । यिनीहरुबाट कर असुल्ने क्रममा पहिला भ्याटमा दर्ता हुनुपर्ने, ०७३ सालदेखिको दण्ड जरिवाना तिर्नुपर्ने, नत्र उम्किन नपाइने भनेर तर्साइएको छ । नेपाली व्यवसायीहरु भने त्यस्तो प्रावधान हटाउनुप¥यो भन्दैछन् । थानकोटस्थित अर्बन फुड्स, जसको कार्यालय न्युरोडमा पनि छ, त्यहीँको राजभण्डारी थरका युवा यस्तो माग राख्दै अर्थ मन्त्रालयतिर दौडिरहेका भेटिन्छन् । तीन वर्षदेखिको दण्ड जरिवाना तिर्नुप¥यो भने तीन सय प्रतिशत आर्थिक भार बढ्ने उनीहरुको भनाइ छ । ०७३ मै थाहा पाएर दर्ता गरेको भए पाँच प्रतिशत कर तिरे पुग्थ्यो । दुई सय प्रतिशत थप दस्तुर गर्दा पाँच प्रतिशतका दरले तीन वर्षको १५ प्रतिशत त्यसै पनि तिर्नुप¥यो । त्यसमा दण्ड जरिवाना जोड्दा नेपाली उद्योग खत्तम हुने, भारतीयलाई फाइदा पुग्ने भन्दै व्यवसायीहरु आन्दोलित मनस्थितिमा छन् । 

उता, ससेजमा नांगो हातले समेत छुन नमिल्ने सोडियम नाइट्रेट नामक विषादी मिसाइएको गुणस्तर विभागले बताउने गरेको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले ६ महिनाअघि गरेको विशेष अनुगमनका क्रममा यो तथ्य बाहिर आएको हो । अनुगमन टोलीका डा. आभाष पौडेलले मासुमा सोडियम नाइट्रेट मिसाएर उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड भइरहेको बताएका छन् । टोलीले अनुगमन गर्दा बानियाँटारको सगरमाथा मिट प्रोडक्सनले यो रसाउन मिसाएको भेट्टाएको थियो । 

टिप्पणीहरू