​मदिरा मात्रै देशभरि मनग्ये

हामी नेपाली अब के–के कुरामा उन्नतिशील भएछौँ, सुन्दा पनि हाँसो लाग्छ । सूर्ति तथा रक्सी र बियरमा ९ देखि १० प्रतिशतले वृद्धि भएछ । तर, त्यसअनुसार राजश्व असुली कम छ । नाराजत्तिकै बनेको छ, ‘आयात प्रतिस्थापन र निर्यात प्रबद्र्धन’ । चालु आर्थिक वर्ष आयातमा यति वृद्धि भयो कि, त्यसको तुलनामा राजश्व संकलनको दर भने निराशलाग्दो !

आयात वृद्धिको तुलनामा भन्सारतर्फ २० प्रतिशत हाराहारी मात्रै राजश्व उठेको छ । कारण हो, ड्युटी फ्रि, अर्थात् करमुक्त सामान बढी आउनु । यसपालि उद्योग, कलकारखाना खोल्ने क्रम तीव्र भएको छ । कच्चा पदार्थ र मेसिनरी औजार ल्याउँदा सामान बढी देखिने, तर राजश्व जम्मा एक प्रतिशतमात्र तिरे पुग्ने । स्थानीय तहमा एम्बुलेन्स ल्याउने होड नै चलेको छ । त्यसो गर्दा मूल्य अभिवृद्धि कर (भ्याट) छूट र कर एक प्रतिशतमात्रै तिर्नुपर्छ । गाडी ल्याउँदा एम्बुलेन्सको नाममा ल्याउने, यता आएपछि निजी प्रयोगमा लगाउने ।

सरकारले गत वर्ष सामाजिक सुरक्षा भत्ताको कार्यक्रम नल्याएका कारण आलोचनाको शिकार भएको थियो । अब योसहित कर्मचारीको तलब, सांसदको भत्तावृद्धि, पूर्वपश्चिम रेल मार्गको घोषणा नीति, कार्यक्रम तथा बजेटमा गरिने सम्भावना छ । अहिलेसम्म सामाजिक सुरक्षा भत्ता दुई हजारका दरले दिइँदै गरेकोमा पाँच सय मात्रै थपियो भने ४२ अर्बमा ११ अर्ब थप्नुपर्छ । ७० कटेका बृद्धबृद्धा, ६० कटेका एकल महिला र कर्णालीका हकमा ६५ कटेका बृद्धबृद्धाको हकमा त्यस्तो भत्ता दिने गरिन्छ । कर्मचारीको हकमा दिइँदै आएको दुई हजार भत्तालाई अब तलबमा गाभ्ने तयारी छ । शिक्षक, कर्मचारी, सुरक्षा निकायसम्बद्ध पाँच लाख कर्मचारीको निम्ति तलबमा दुई सय अर्ब छुट्याइएको छ । यदि तलब १० प्रतिशत मात्रै बढ्यो भने २० अर्ब रकम थप्नुपर्ने हुन्छ ।

यसबीच कृषि उत्पादन बढेको छ । पर्यटकको संख्या ३० प्रतिशतले उक्लिएको आँकडा छ । औद्योगिक उत्पादन बढेको तथ्याङ्क पनि छ । गतवर्ष कूल गार्हस्थ उत्पादन (जिडिपी) को बृद्धि ६ दशमलव पाँच थियो । केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्ष ०७५÷७६ मा ६ दशमलव ८१ प्रतिशत (आधारभूत मूल्यमा) आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । यससँगै नेपालले लगातार तेस्रो वर्ष ६ प्रतिशतभन्दा उच्च आर्थिक वृद्धिदर हासिल गर्ने देखिएको छ । नेपालले गत आर्थिक वर्ष ०७४÷७५ मा ६ दशमलव ३ प्रतिशत र त्यसअघि ०७३÷७४ मा ७ दशमलव ७४ प्रतिशत वृद्धिदर कायम गरेको थियो । मौसमको अनुकूलता र विद्युत आपूर्तिमा अवरोध नहुनुका कारण औद्योगिक उत्पादन तथा आर्थिक कारोबारमा सहजता आएपछि यस्तो सम्भव भएको बताइन्छ । बजार मूल्यका आधारमा गत आर्थिक वर्ष ६ दशमलव ६६ र त्यसअघि आठ दशमलव २२ प्रतिशत आर्थिक वृद्धि भएको थियो । 

उता, शहरी विकास, भौतिक योजना, स्वास्थ्य, खानेपानी, शिक्षा मन्त्रालयमा विकासका नाममा आर्थिक वर्षको अन्त्य अनियमित तवरले पैसा सक्ने क्रम बढेको छ । सिञ्चाइतर्फ नदी नियन्त्रणका नाममा वर्षामा ढुंगा हाल्ने, असारमा बाढीले बगायो भनेर बिल बनाउने क्रम तीव्र छ । ग्रामीण सडक तथा पूर्वाधार विकास कार्यक्रम (डोलिडार) अन्तर्गत पनि भद्रगोल छ । 

त्यस्तै, रक्सीमा मिसाइने स्पिरिटको परिमाण तलमाथि गरेर केही रक्सी उद्योगले त्यसको आयातमा नियन्त्रण गर्नुपर्ने त केही उद्योगीले अझै सहज गर्नुपर्ने भन्दै उद्योग मन्त्री मात्रिका यादवमार्फत क्याबिनेटमा एउटा प्रस्ताव पु¥याएका छन् । नेपाली मदिरामा इटोन, एलडिआई, फ्युजेल आयल, मिथानल, डाइजेपाम, पाराडिहाइड, क्लोरल हाइड्रेड, अमोनियम क्लोराइड, साइकोट्रपिक, क्याफिनलगायत हानिकारक पदार्थ भेटिने गरेको कारण देखाउँदै एकथरि व्यवसायी स्पिरिट आयातमा नियन्त्रणको औचित्य पुष्टि गर्न सक्रिय छन् । 

अचम्म कस्तो भने, नेपालमा मदिराको आयात वर्षेनी यति बृद्धि छ, आयात व्यवसायमा यसलाई जित्ने अर्को विषय नै आउन सकेको छैन । जस्तो कि, आर्थिक वर्ष ०७०÷७१ मा कूल आयात एक अर्ब ९६ करोडको थियो । ०७४÷७५ मा तीन अर्ब तीन करोडको मदिरा आयो । त्यस वर्ष मदिराबाट मात्रै करिब चार अर्बबराबरको राजश्व संकलन भयो । मदिराका लागि आवश्यक कच्चापदार्थमा अनडिनेचर्ड इथायल, अल्कोहल, स्पिरिट, लिकर्स र अन्य स्पिरिचुअस बेभरेजको आयात उच्च देखिन्छ । ०७४÷७५ मा यसको आयात एक अर्ब ८० करोडको थियो । जबकि ०७० सालमा एक  अर्ब आठ करोडमात्र भयो । ह्विस्कीअन्तर्गतको अल्कोहल र स्पिरिट आयाततर्फ ०७४ सालमा ८१ करोड ७८ लाखको कारोबार थियो । त्यही कारोबार ०७० सालमा ५७ करोड ३३ लाख मात्र भयो । तेस्रो आयात हुने मदिरा हो वाइन । ०७४ सालमा ताजा अंगुरको वाइन र फोर्टिफाइड वाइनको आयात ३५ करोड ९२ लाख बराबरको भयो । अर्को अचम्म के छ भने, जाडोमा बढी खपत हुने भनिए पनि केही वर्षयता नेपालमा जेठ महिनामा मदिराको आयात उच्च देखिन्छ । गत वर्ष जेठमा ५२ करोड ५६ लाख मूल्य बराबरको मदिरा आयात भएको थियो भने सबैभन्दा कम कात्तिकमा सात करोड ८२ लाखको आयो । असोजदेखि माघसम्म ३१ करोडको मदिरा आयात भयो ।

टिप्पणीहरू