​बोटमा फल्न थाले लाखौंका नोट

के मालपोत कार्यालय नोट छाप्ने अखडा हो ? कि त्यहाँ पैसा फल्ने बोट हुन्छ र दिनदिनै मुद्रा टिप्न पाइन्छ ? होइन भने एउटा मामुली कर्मचारीले बैंकिङ च्यानलको प्रयोग गरेर बाबुको नाममा हरेक दिनजसो लाखौं रकम कसरी पठाउन सक्छ ? 

यो प्रसंग हो भूमिसुधार तथा मालपोत कार्यालय रौतहटका हाकिम वकिलप्रसाद पालको । उनी सरुवा भएर गौर पुगेको सात महिनाको बीचमा ६२ लाख ९५ हजार पठाएको देखिन्छ । बलुही भर्बलिया वडा नं. ९ बारा घर भएका बाबुको नाममा उनले पटक–पटक पौने करोड पठाएका हुन्  । नेपाल बैंकको वीरगञ्ज आदर्शनगरस्थित शाखामा ५ दशमलव ७५ प्रतिशत ब्याज पाउने गरी चल्ती खाता खोलेका बाबु राजेन्द्रप्रसाद पाललाई विभिन्न व्यक्तिको नामबाट रकम पुगेको प्रमाण फेला परेको छ । उनी २१ असोज ०७५ मा गौर आएकै दिन श्यामबाबु बैठाका नामबाट ३ लाख ५० हजार पठाए । त्यसको केही दिनपछि आफ्नै नामबाट ५ हजार, मंसिर १० मा पहिलो पटक ६० हजार र दोस्रो पटक ४० हजार रुपैयाँ जम्मा गरिदिए । 

मालपोत गौरका लेखन्दास राम एकवाल यादवको नामबाट ८ लाख ८५ हजार फागुन ९ गते, छिनुवा शाखामा कार्यरत गंगा भनिने सहायक कर्मचारी मुन्ना कुँवरको नामबाट चैत १३ गते १५ लाख पठाए । भोलिपल्टै उही व्यक्तिको नामबाट १ लाख १३ हजार, पर्सिपल्ट १ लाख ६२ हजार पठाएको अभिलेख छ भने २१ पmागुनमा भाइ राजकुमार पालको नामबाट ६ लाख ५७ हजार पहिलो पटक र दोस्रो पटक ७ लाख १८ हजार पठाएको देखिन्छ । त्यसको भोलिपल्ट ५ लाख ५० हजार रुपैयाँ पठाएको विवरण जनआस्थासँग सुरक्षित छ । 

यस्तै, ३ चैतमा पर्वेज अख्तरका नामबाट आफैंले भौचर बनाई २ लाख ५० हजार र सोही दिन २ लाख ५० हजार पठाएको पाइन्छ । १२ चैतमा इन्द्रकुमारीको नामबाट १ लाख ५५ हजार, चैत १३ गते लेडिज स्टाफको पति (देवेन्द्रको नाम) बाट ५० हजार गएको छ । २१ गते कार्यालय सहायक रजिस्टे«शन फाँटको (रामविनय)को नामबाट ३ लाख, वैशाख १२ गते रामबाबुको नामबाट २ लाख पठाएको देखिन्छ । 
यसरी उनी त्यहाँ पुगेको सात महिनाको अवधिमा ६२ लाख ९५ हजार जम्मा गरी वैशाख १२ गते ६२ लाख ९१ हजार निकालेको प्रमाण जनआस्थासँग सुरक्षित छ । समाचार तयार पार्दासम्म उनको खातामा १० हजार ६१२ रुपैयाँ मात्र बाँकी छ । 

उनले यसरी विभिन्न व्यक्तिको नाममा आफैं भौचर भरी गौरबाट वीरगञ्ज पैसा पठाएका हुन् । यी तिनै व्यक्ति हुन् जसमाथि गौरको राइस मिलले चर्चेको जग्गा जाली लालपुर्जा बनाएर बिक्री गरेको आरोप छ । अनि यो त्यही ठाउँ हो जहाँ माओवादी र फोरमबीच ०६३ सालमा झडप हुँदा २७ जनाको ज्यान गएको थियो । जसलाई फोरम जन्माउने चौरका रूपमा चिनिन्छ । यही ठाउँ किर्ते गरी बेचेको आरोप लागेका उनी अहिले त्यहाँबाट फरार भई काठमाडौंमा लुकेर बसेका छन् । यसरी अकुत रूपमा कमाएको सम्पत्तिले बारा र वीरगन्जमा घर जोडेका छन् । स्टिङ अपरेशनका नामा ५÷७ हजार घुस लिने कर्मचारीलाई कारबाही गर्ने अख्तियारको आँखा यस्ता ठूला माछामा भने पर्न सकेको छैन । 

– राजकुमार रायबाट

टिप्पणीहरू