रविको सांसद पद मुद्दा किनारा नलागेसम्म निलम्बित
प्रतिनिधि सभा सदस्य रवि लामिछानेलाई संसद सचिवालयले निलम्बन गरेको छ । चितवन जिल्ला क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद लामिछानेलाई सांसद पदबाट निलम्बन गरिएको सूचना टाँसिएको छ ।
लामिछाने विरुद्ध कास्की जिल्ला अदालतमा पुस ७ गते सहकारी ठगी, संगठित अपराध र सम्पती शुद्धीकरण सम्बन्धी समेत मुद्दाको पूरक अभियोगपत्र भएसँगै संसद सचिवालयले निलम्बन गरेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । सम्पति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा २७ मा प्रचलित कानूनबमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्बन भएको व्यवस्था रहेको उनले बताए ।
लामिछानेलगायत ४४ जनाविरुद्ध हिजोमात्रै जिल्ला सरकारी वकील कार्यालय कास्कीले सम्पत्ति शुद्धीकरण, संगठित अपराध र सहकारी ठगीसमेत गरी तीनवटा मुद्दा दायर गरेको थियो ।
टिप्पणीहरू