क्रिकेट समर्थक कुटिएकोमा रास्वपाको चासो
नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल सकिएपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानबाहिर भएको कुटपिटको घटनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चासो राखेको छ ।
अस्ति त्रिभुवन विश्वविद्यालयको गेट नजिकै एउटा समूहले सर्लाहीको बलरा घर भएका अमनकुमार सिंहलाई कुटपिट गरेको थियो । जनकपुर बोल्ट्सको समर्थक भएकै कारण नश्लीय आधारमा उनीमाथि हातपात गरेको भन्दै कतिपयले आपत्ति जनाइरहेका बेला रास्वपाले पनि आफ्नो धारणा सार्वजनिक गरेको हो ।
कार्यवाहक प्रवक्ता मनिष झाले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सम्पन्न उक्त प्रतियोगिताको अन्तिम खेलपश्चात् भएको अभद्र घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाए । ‘जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीचको अन्तिम खेल पश्चात् भएको त्यस किसिमको साम्प्रदायिकता प्रेरित हिंसात्मक घटना सामाजिक सहिष्णुताले भरिपूर्ण नेपालका लागि अशोभनीय छ’, उनले भने, ‘अत : त्यसखाले साम्प्रदायिक क्रियाकलापको हामी सँधै विपक्षमा छौं ।’
उद्दण्ड समूहका व्यक्तिहरुले जनकपुरका समर्थकलाई रडले प्रहार गरी घाइते बनाउनुका साथै सामाजिक सञ्जालमार्फत् नश्लीय तथा रंगभेदी शब्दद्वारा अपमानित गरेको भन्दै उनले घटनाका दोषीलाई कारबाही गर्न मागसमेत गरेका छन् ।
‘सामाजिक सहिष्णुता तथा सद्भाव नेपाली समाजको विशेषता मात्र नभई हाम्रो सुन्दर तथा विशिष्ट पहिचानसमेत हो । नेपाली जनमानसमा यो अमूल्य सम्पदालाई चोट नपुर्याई प्रवर्द्धन गर्नु हामी सबै कर्तव्य हो’, झाले भने, ‘तसर्थ उक्त घटनाका दोषीलाई कानुनबमोजिम कारबाहीका लागि गृह प्रशासनको ध्यानाकर्षण गराउँदै आगामी दिनमा यस्ता घटना नदोहोरियोस् भनी सचेत रहन सबैमा अपील गर्दछौं ।’
टिप्पणीहरू