‘भरतपुर अस्पतालमा लाजको पसारो’

‘भरतपुर अस्पतालमा लाजको पसारो’
सुन्नुहोस्

भरतपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्टको कार्यशैलीमाथि चितवनका एकजना सञ्चारकर्मीले टिप्पणी गरेका छन् । आफ्नो फेसबुक पेजमा ‘भरतपुर अस्पतालमा लाजको पसारो’ शीर्षकमा लेख्दै प्रेस युनियन चितवनका अध्यक्षसमेत रहेका पत्रकार अनिल ढकालले मेसुको कार्यशैलीप्रति आपत्ति जनाएका हुन् । 

भरतपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलकाे इतिवृतान्त उल्लेख गर्दै उनले लेखेका छन्, ‘भरतपुर अस्पतालको विभागीय प्रमुखको बैठक रहेछ । एकजना चिकित्सक भेट्न जाँदा उहाँ मेसुको निवासमा हुनुहुँदो रहेछ । अन्य विभागीय प्रमुख पनि मेसुको क्वाटरतिर लागेको देखें । अस्पतालको अफिसियल बैठक मेसुको निवासमा ? अचम्म लाग्यो । बैठकको निम्तो मेसु कार्यालयमा अनि बैठक निवासमा राखिएको थियो ।’

अनिलले बैठक बस्न मिल्ने अस्पतालमा ठाउँ नभएकै हो र ? भनेर जिज्ञासा राखेका छन् । कार्यालयको औपचारिक बैठक निजी निवासमा राखेकोतर्फ उनले व्यङ्ग्य गरेका हुन् । अस्पतालका केही विभागीय प्रमुख र कर्मचारीलेसमेत प्रश्न उठाएको भन्दै लेखिएको छ, ‘व्यक्तिगत मेरो केही होइन । जे देखें त्यो शैली हाकिमी शैलीको हुकुमी शासन जस्तो देखियो । मेसुको कार्यालयमा नभए बिरामी कुरुवा घर भनेर निर्माण गरिएको भवन, जहाँ भाडामा क्यान्टिन चलाउन दिइएको छ । त्यो भन्दा माथि राम्रै हल भएझैं लाग्छ । सायद प्रधानमन्त्री निवासमा बैठक भन्ने सुनिरहँदा त्यसैको सिको गरिएको हुनसक्छ । यो कुरा कुनै विभागीय प्रमुखले उठाए, उठानन् थाहा भएन । एक जना चिकित्सकले भन्दै हुनुहुन्थयो, भित्र खाना पनि पाक्दैछ ।’

एउटा इतिहास र गरिमा बोकेको अस्पतालको प्रतिष्ठामा आँच आउने गरी निजी निवासमा गरिएको बैठकलाई भद्दाको संज्ञा दिइएको छ ।

टिप्पणीहरू