छोरीसँगै एउटै कक्षा नछोडी
शारीरिक अशक्त भएको मानिसले केचाहिँ गर्न सक्छ ? हामीले देखे÷पढेका छौँ, विश्व चर्चित हेलेन केलरदेखि झमककुमारी घिमिरेसम्मको कहानी । चैत ०४५ को कालो दिन । गणेश भट्टराईका लागि काल बनेर आयो । कसलाई के थाहा जीवनको रीत कसरी चल्छ ? हिँँड्दा हिँँड्दै फ्याट्ट चुँडिन सक्छ जिन्दगी चप्पलको तुनाझैं । र, उड्न सक्छ प्राणपखेरु । मृत्युरूपी एम्बुस कहाँ बिच्छ्याइएको छ कसलाई थाहा ? सडक पार गर्दै थिए, एक्कासि पछाडिबाट एउटा गाडी जोडले हुइँकिएर आयो र ठक्कर दियो । ब्याक गरेर फेरि किच्ने असफल प्रयास ग¥यो । तर, स्थानीय, बटुवा मिलेर गाडी चालकलाई प्रहरीकहाँ बुझाइदिए । ठक्करले होसहवास गुमाएका ती व्यक्ति थिए, गणेश अर्थात्, हाल रूपन्देही लीलाराम न्यौपाने उच्च माध्यमिक विद्यालय, भैरहवाका प्रधानाध्यापक । स्मृतिबाट मलिन हुँदै गएको यो घटना उनी कसरी बिर्सन सक्छन् र ? कालो क्षण सम्झिँदै भन्छन्, ‘मैले अचेत भएको अवस्थामा पनि हातको इशाराले गुहार माग्न छाडेको रहेनछु । चालक गाडी फर्काएर किच्न तयार भएको थियो । तर, सबैजना आउनुभयो र मेरो उद्धार भयो ।’
त्यसपछि उनलाई तुरुन्त उपचारको लागि पाल्पा मिसन हस्पिटल लगियो । श्वास फेरेको बाहेक अरू केही कुराको चेत थिएन । भन्छन्, ‘यी कुराभन्दा पनि दोस्रो जीवन बाँच्न पाउनु नै ठूलोजस्तो लाग्यो ।’ होसमा आउँदा डाक्टरले मुखमा मास्क लगाएर एकअर्कामा कुरा गर्दै थिए । कोही आफन्त थिएनन् । थाहा पाए, ‘घुँडाभन्दा मुनिको भाग काम लाग्दैन, नकाटी नहुने भयो ।’ हरियो, अग्लो र सग्लो रूख एकछिनमै ठुटो भयो । जीवन बगरसरी भयो । चाहन्थे ‘विगतका ती कल्कलाउँदा दिन फेरि उस्तैगरी फर्किउन् ।’ तर, कहाँ सम्भव थियो र ? दुनियाँमा हरकुरा सपार्न समय लाग्छ तर, बिगार्न क्षणभर । उनको जीवन तहसनहस भयो । वर्षाको भेलसरी आएको बाढीबाट निस्कन भने कोशिसरत नै थिए ।
त्यो भेलबाट बाहिर आउन कहाँ सजिलो थियो ! झन् झन् डुब्दै जाँदा श्रीमतीले हात दिइन् । त्यसपछि गणेशले नयाँ जीवन पाए । पढेका थिए संसार हाँक्नेहरूको कथा । हेलेन केलर, स्टेफेन हकिन्स, नेपालकी झमकुमारी घिमिरे । उनीहरूको कहानी कैयौँ गुणा दर्दनाक थियो । उनले पनि अठोट कसे, ‘मजस्ता हजारौँले इतिहास रचेका छन् भने म किन रच्न सक्दिनँ ।’ संघर्षको मैदानमा आफ्नो ज्यानसँग लड्दै उनी प्रधानाध्यापक बनेर समाजसामु उदाहरण बने ।
बचेरासँगै माउ (आमा) थियो तर, परिवारको संरक्षणदेखि दानापानी लिएर खुवाउने अभिभावक अस्पतालमा पसारिएको थियो । त्यतिबेला सोच्थे, ‘सतिसालको रूखको जरा मक्किँँदै गएपछि त्यसले आफ्नो हाँगाबिँगालाई कसरी पोषण दिन सक्छ ?’ हो, जतिबेला उनी अस्पतालको बेडमा थिए, आफ्नो र परिवारको जीवन सोचेर चिन्तित बन्थे । राति रुन्थे । मनभित्रै कोशांै टाढासम्म पुग्नेगरी चिच्याउँथे । तर, कसले सुन्ने । खै ईश्वर ? किन उनको कुरा सुन्न चाहँदैन ? उनी यसरी नै हरदिन तड्पिरहेका थिए, रूखको जरा झन् झन् खिइँदै गएको थियो । तर, त्यो जरामा मलजलसहित आइदिइन्, श्रीमती । र, दुखेको प्रत्येक भागमा मलम लगाइदिइन् । गणेशलाई लागेको थिएन, बीसको उन्नाइस हुन्छ । ‘भो छाड्दे मेरो स्याहार गर्न । म आज हो कि भोलि हुँ । हुर्किँदै गरेका चिचिलाहरूलाई सपारेस् ।’ तर, श्रीमतीले श्रीमान्को त्यो रोदनमा हाँसो भरिदिइन् । एक दिन, दुई दिन हुँदै नयाँ पखेटा पलाउन र पहिलेझैँ जुर्मुराउन थाले ।
‘मेरी श्रीमती संसारकै महान् व्यक्ति हुन् । उनलाई पुज्ने कुनै सामग्री छैन धर्तीमा ।’ गणेश विगतमा फर्किन्छन्, ‘मेरो त्यस्तो हालत हुँदा उनको पेटमा कान्छी छोरीले किक मार्थिन् । उनी जतिसक्दो चाँडो बाहिरी संसार हेर्न चाहन्थिन् । तर, मेरो हालत ?’ उनी आफैँलाई त्यस्तो अवस्थामा श्रीमतीले स्याहारिन् । झरीमा निभ्न लागेको बत्तीलाई निभ्न दिइनन् । एउटा लोक कथाजस्तो बनेको जिन्दगीलाई शब्दमा वर्णन सकिन्न । श्रीमतीलाई स्याहार्नुपर्ने बेलामा आफैँलाई स्याहार्नुपर्दा कुन पतिको मन नरोला ! गर्भमा बच्चा बोकेर पाल्पाको उकाली–ओरालीमा लडिबुडी गर्दै हस्पिटलमा उनको स्याहासुसार गर्न आइपुगेकी थिइन् । गणेश भन्छन्, ‘उनले एकैचोटि दुई जनालाई वटाको जीवन दिइन् ।’
जीवनको आस मारिसकेका गणेश अहिले प्रधानाध्यापक छन् । कुनै बेला जनआन्दोलनमा समेत सरिक उनको सम्बन्ध आजका चर्चित नेता बालकृष्ण खाँड, घनश्याम भुसालसँग थियो । १२ असोज ०१९ मा कामको सिलसिलामा तत्कालीन भारतको पूर्वीभाग (हालको ढाका) मा जन्म भएको हो । पुख्र्यौली घर पाल्पाको छेर्लुङ । जन्म जहाँ भए पनि बाबुबाजेको जन्मभूमि र अहिलेको मेरो कर्मभूमिमा आएका पाल्पाको छेरलुङ । प्रारम्भिक शिक्षा त्यहाँबाटै आरम्भ भयो । ६ जना दिदीबहिनी । पाँच दाजुभाइ । उनी कान्छो । कान्छो भएकाले अरु दाजुभाइभन्दा बढी माया पाए । बुबाले कट्टु फाटुन्जेल गरेको दुःखका बाबजुत गरिखान पुग्दैन थियो । पछि भिनाजुले तानसेनको सेन इस्टिच्युटमा लगेर पढाए । त्यसको दुई वर्षपछि तराई झरे । रूपन्देहीको मणिग्रामको शान्ति नमुना माविबाट ७ कक्षा उत्तीर्ण गरे । दाजुसँग बसेर जनता मावि तानसेनबाट बाँकी अध्ययन पूरा गरी क्रमशः उच्च अध्ययन, स्नातक र स्नातकोत्तर पनि छिचोले ।
लीलाराम न्यौपाने उच्च मावि अन्य सरकारी विद्यालयको तुलनामा अग्रस्थानमा छ । एउटै सेक्सनमा ७२ जना छन् । जहाँ तीन वटा सेक्सनमा अध्यापन हुँदै आएको छ । गणेश भन्छन्, ‘विद्यालयलाई नमुना बनाउन भैरहवावासीको अतुलनीय सहयोग पाएको छु । सदैव पाइरहने अपेक्षा गर्दछु ।’ त्यो दुर्घटनापछि शिक्षण पेशा नरोजेको भए उनी सायद अर्कै दुनियाँमा हुन्थे । सायद राजनीति रोजेको भए बालकपनाको मित्र घनश्याम भुसाल, बालकृष्ण खाँणझैँ सांसद हुने थिए होला । तर, उनलाई राजनीति गर्नु बेकारको चिज लाग्यो । हामफाले चेतना ज्योतिको खाल्डोमा र पढाउन थाले ।
०३८ मा धुमधामसाथ विवाह भएको थियो, संगीता भट्टराईसँग । जतिबेला उनी स्नातक तह छिचोल्ने क्रममा थिए । विवाहपछि परिवारसहित भैरहवा आए । भैरहवा बहुमुखी क्याम्पसबाट अर्थशास्त्र र संस्कृतिमा ग्र्याजुएट गरे । बुटवल वाणिज्य बंैकमा काम पनि गरे । तर, पछि विविध कारणले राजीनामा दिन बाध्य भए । त्यसपछि फेरि यात्रा मोडे । स्कुलमा अंग्रेजी शिक्षक भए । ०४२ सालबाट निरन्तर पढाउन थालेका उनी हाल जेठी छोरीसँगै समाजशास्त्रमा स्नातकोत्तर गर्दै छन् । बुवा र छोरी साथीझैँ छन् । छोरा किरण काठमाडौंमा जागिरे छन् । छोरी सृष्टि कलेज पढाउँँछिन्, कान्छी कृति अमेरिकाको टेनेसीमा अध्ययनरत छिन् । तीन सन्तानबाट चार नाति÷नातिनी छन् । भन्छन्, ‘परिवारको जगलाई संगिताले दह्रो बनाइन् । अब, त यो जग सदाका लागि दह्रो भएको छ ।’ गणेश छिट्टै साहित्यिक कृति प्रकाशन गर्ने तयारीमा छन् ।
टिप्पणीहरू