​‘राजकुमारी’हरुको पछिल्लो रोजाइ

न बाबु, न आमा, न त पतिकै साथ ! जिन्दगीको आधा बाटोमै छोरी मान्छेले यस्तो वियोग कसरी सहन सक्लान् ? तर, सहेका छन् र जिन्दगी हाँसेरै बिताएका छन्, स्व.अधिराजकुमार धीरेन्द्र शाहका सन्तानले ।

धीरेन्द्रपुत्रीहरुको जस्तै त होइन, तर आफ्नै लापरवाहीले फूलजस्तो जिन्दगीलाई खरानी बनाएका पारस शाह हिजोआज यिनै दुःखी बहिनीहरुसँग टहलिएर दिन काट्दैछन् । बाबु–आमाकहाँ उति आवत–जावत छैन । पत्नीसँगको सम्बन्ध औपचारिकमात्र हो ।

धीरेन्द्रको महाराजगञ्जस्थित पुख्र्यौली जमिन जीवनकुञ्ज १२ वर्षअघि नै बिक्री भई तीन छोरीले दामासाहीका हिसाबले पैसा बाँडचुड गरिसकेका छन् । तीमध्ये १० वर्षअघिको तिहारका बेला पति अभिनेष शाहको निधन भएपछि माहिली धीरेन्द्रपुत्री ‘टुहुरी’ बाट ‘बिधवा’ पनि भइन् । सासू आशा सिंहसँग पति हुँदैदेखि कुरा नमिल्ने कारण गहनापोखरीको घरबाट पतिवियोगलगत्तै निस्किइन् । र, अहिले बिग्रिएका दाजु पारस शाहलाई सुधार्ने प्रयाससाथ बहिनी दिलाशासहित भैंसेपाटीमा बस्छिन् । कहिले दरबारकाण्डमा जोडिएकी एकमात्र फुपुको कमलादीस्थित शोभा सदनमा देखापर्छिन् । जेठी पूजा भने पति डा.राजीव शाहीसँगै बाँसबारीमा बस्छिन् । तर, यी तीन दिदीबहिनी र एक दाजुको भेट भइरहन्छ, दरबारमार्गमा । अहिले जीवनकुञ्ज रहेको जमिनमा होटल बनाउने लक्ष्यसहित आलिशान महल तयार हुँदैछ । त्यसलाई अपार्टमेन्ट बनाउने कि होटल नै चलाउने भन्ने टुंगोचाहिँ कम्तिमा पाँच तलाको निर्माणकार्यपछि लगाउने लगानीकर्ताहरुको सोचाई छ । धीरेन्द्रकै स्वामीत्वमा रहेको धुम्बाराही, चप्पलकारखानास्थित क्लब कुण्डलिनी पनि बिक्री भइसक्यो । र, त्यहाँ अहिले नेपालकै अत्याधुनिक प्राविधिक सुविधासहित कुण्डलिनी डाइग्नोष्टिक सञ्चालनमा छ । पूरै शरीरको परीक्षण गर्नका लागि त्यहाँको ल्याबमा भारतका नाम चलेका अस्पतालले समेत सम्पर्क राख्ने गरेका छन् । त्यसो त केही वर्षअघि प्रहरी अस्पताल महाराजगञ्जमा पनि अत्याधुनिक ल्याब भित्रिएको छ । तर, वीर, शिक्षण र गंगालालजस्ता सरकारी अस्पतालले पनि स्वास्थ्य परीक्षणका लागि संकलन गर्ने रगत, वीर्य, खकारका नमुना प्रायः कुण्डलिनीमै पठाउने गरेका छन् । 

यसरी भएको जायजेथा टुंगो लगाएपछि धीरेन्द्रका तीन सन्तान तनावमुक्त जिन्दगी बाँच्ने प्रयास गर्दैछन् । उनीहरु प्रायः दरबारमार्ग, होटल याक एण्ड यति रोडस्थित विवेक उपाध्यायको बुटिकमा हुन्छन् । बुटिक, अर्थात् पसल भए पनि भित्र व्यवस्थित रुपमा बस्ने, खाने ठाउँ छ, एयरकण्डिसन कोठा छ । एक समय सो बुटिक सिताष्माले नै चलाएको हल्ला थियो, तर त्यो निराधार हो । किनभने, उनी बाँकी जिन्दगी बिन्दास पाराले बाँच्ने निधोमा पुगेकी छन्, कसैकी पत्नी बन्ने, व्यापार चलाएर घाँडो बोक्नेजस्ता काम नगर्ने कसमै खाएकी छन् । भएकी छोरी पनि काम गर्नेहरुले नै स्याहार गरिरहेका छन् । दबारमार्गका बुटिकवाला विवेक पूर्वशाही परिवारको युवापुस्तासँग पहिल्यैदेखि निकटस्थ हुन् । कुमारी बैंकका मालिक स्व.नूरप्रताप राणाका छोरा अमिर विवेकका भिनाजु हुन् ।

त्यहाँ धीरेन्द्रपुत्रीहरुको जमघट अरु दिन पनि हुन्छ, तर शुक्रबारचाहिँ अलिक भव्य चल्छ । जतिसुकै फिटनेश र डाइटिङ गरे पनि शरीरको मोटोपन नघटेपछि सिताष्माले फिटनेश र डाइटिङ गर्नै छाडिन् । हातमा प्रायः सिगरेट बोक्छिन्, त्यसभित्र सामान्य सुर्ती हैन, ‘जय शम्भो’ हुन्छ । सिताष्माले मात्र हैन, उनीहरुको सर्कलका सबै साथीहरु ‘जय शम्भो’ अर्थात्, पशुपतिका बाबाजीको प्रसादमा रम्ने गरेका छन् । तर, यस्तोबाट पारसलाई उनीहरुले टाढा राख्छन् । त्यसो त पटक–पटकको हृदयघातका कारण पारस आफँै पनि आजकल मदिरा र धुमपानमा रुची राख्दैनन् । दिदीबहिनीसँग भए दरबारमार्ग–लाजिम्पाटको त्रिसरा वा पुल्चोकस्थित लबिम मलतिर जान्छन् । दिदीबहिनीबाहेकका सर्कल भए झम्सिखेल (झमेल) तिर हुन्छन् । धुवाँको जिन्दगी त त्यागे, तर युवतीहरु भेला पारेर रमाइलो गर्न भने छाडेका छैनन् । उनका लागि त्यसको प्रबन्ध गरिदिन दुई–तीनजना मान्छे नै खटिएका छन् । उनका लागि युवतीहरुको कुनै स्तर निर्धारण छैन । एउटै मापदण्ड हो, तिनले झुम्म भएर उनीसँग नाचिदिनुपर्ने, रमाइलो गरिदिनुपर्ने !

टिप्पणीहरू