​सरकार, छतबाट गोली हान्ला खबरदार

कम्तिमा पञ्चायतकालमा केही सिष्टम थियो, यद्यपि त्यो एकद्वारको थियो र मुठ्ठीभरका मान्छेमात्र हरेक कुरामा हावी हुन्थे । अहिले बहुकेन्द्रको स्थितिले कुन कुनाबाट, कसलाई खुशी पारेर काम लिन्छन्, अह्राउँछन्, पत्तो नहुने ! यस्तो हुँदा सुरक्षाका दृष्टिले देशको राजधानी काठमाडौं झन्झन् जटिलतामा फस्दैछ । 

केन्द्रीय सचिवालय सिंहदरबार, मुखैअगाडि गुप्तचरी मुख्यालय, सँगै जिल्ला प्रशासन कार्यालय, अलिक पर सर्वोच्च र जिल्ला अदालतसहित अत्यन्तै संवेदनशील निकायहरू । यसै पनि केन्द्रीय कारागारको मूलगेटमा पुगेर युनुस अन्सारीलाई पेस्तोल ताकिएको देश † त्यसमाथि सिंहदरबारका संवेदनशील निकायकै बीचमा ढलेको आधी धरहराजत्रै (९ तले) होटल बन्छ । अपराधीले आफ्नै साथीलाई बाँकी राख्दैनन् भनेझैं अदालत वा प्रशासनमा बन्दीको म्याद थप्न, बयान गराउन ल्याइँदा माथिबाट कुनै सार्पसुटरले निशाना लगायो भने के हुन्छ ? लिफ्ट, नियमित सिंढी र आपतकालीन भ¥याङ गरेर तीन प्रकारका एक्जिट वे भएको होटलमा अपराधीले कसुर गरेपछि कुन बाटो प्रयोग गर्छ ? होटलमा बस्न आउनेको निधार हेरेर नियतिको पहिचान हुँदैन । एक मीनेटभित्र काम सकेर कसुरदार टाप कस्छ ।

सिसिटिभी फुटेजले त देखाउला, तर हुने कुरा भइसकेपछि मान्छे खोजेर वा भेटेर पनि नहुनुपर्ने अपराध भइसकेको हुन्छ † केन्द्रीय सचिवालय भएको ठाउँ, जहाँ देशका कार्यकारी प्रमुख (प्रधानमन्त्री) देखि सबै मन्त्रालय, मन्त्री, मुख्यसचिव, प्रधानन्यायाधीश, न्यायाधीशहरू, सिडिओ रहन्छन् । ड्रोन वा आत्मघाती हमलाको सहारा लिनै पर्दैन, ती ठाउँ वा व्यक्तिमाथिको निशानाका लागि त्यही ९ तले होटल काफी छ । संसारभर ‘कु’ हँुदा पहिलो निशाना बन्ने टिभी रेडियो यसै पनि हाम्रो सुरक्षा संयन्त्र घटना भएपछि मात्र सतर्क हुने चलन छ । यो स्थितिमा जिल्ला प्रशासन कार्यालय, बबरमहलसँगै गुप्तचरी मुख्यालय राअविको मुखैअघि मेडिसिन माफिया विशाल पण्डितले होटल बनाएका छन् । ‘ओपनिङ सुन’ लेखेर मुन्तिर ‘बेसक्याम्प क्याफे’ चलेको छ । झट्ट हेर्दा जमिनको क्षेत्रफल र भवन निर्माण प्रचलित मापदण्ड अनुसार पाइन्न । नक्सा पास गर्नुपर्ने र निर्माण सम्पन्नको प्रमाणपत्र दिनुपर्ने महानगरपालिकाबाट ती सबै प्रक्रिया पूरा भएका छन् । तर, नियम–कानुन पालना गरिएकै भए पनि सुरक्षा संवेदनशीलतासँग जोडिने विषयलाई राज्यले निषेध गर्न पाउँछ, सक्छ । तर मालिकहरूको ‘पहुँच’ का कारण होला, त्यस्तो भएको छैन । त्यो ‘पहुँच’ले भोलि क–कसलाई खान्छ, हेर्न बाँकी छ । किनकि भवितव्य नभै नेपालीले चेत्दैनन् । 

होटल नै चलाउने हो भने पनि उच्चस्तरीय भेटघाटलाई सहज हुन्छ, सोल्टी र हायातबाट ट्राफिक जाम गराउँदै आइरहनै पर्दैन । पर्यटन बोर्ड वा कुनै सरकारी निकायले विदेशी पाहुना राख्ने, सुरक्षा प्रबन्धसहित त्यसलाई सञ्चालन गर्दा हुन्छ । तर, देशको अति संवेदनशील परिसरमा निजी लगानीका होटल खोल्न दिने, जो पनि माथि उक्लिन र ओर्लिन पाउने व्यवस्थाले खतरा त बढाउँछ नै । विश्व इतिहास पनि हेरौँ, कहिल्यै सूर्य नअस्ताउने देश भनिन्थ्यो बेलायतलाई । आधा संसार उसको उपनिवेश  थियो । त्यहाँका आइरिस रिपब्लिकन आर्मी नामक विद्रोहीहरूले रातदिन निदहराम पारेका थिए । उनैले सन् १९८४ को १२ अक्टोबरमा समुद्री किनारको ग्रयाण्ड ब्राइटन होटलमा टाइम बम फिट गरेर तत्कालीन प्रधामन्त्री मार्गरेट थ्याचरको हत्याप्रयास गरे । प्रधानमन्त्री त बचिन्, तर उनको क्याबिनेटका पाँच मन्त्री र कर्मचारी उक्त हमलामा हताहत भए । 

हचुवाको निर्णयबाट क्षणिक लाभको लोभमा अनुमति दिनेहरूले ‘दि डेज अफ ज्याकल’, अर्थात् स्यालका ती दिनहरू नामक १९७३ मा रिलिज भएको राजनीतिक थ्रिलर फिल्म हेरे हुन्छ । त्यसमा तत्कालिन फ्रेञ्च राष्ट्रपति चल्र्स द गललाई १९६२ को अगष्टमा अल्जेरियालाई स्वतन्त्रता दिएको रिसमा स्वतन्त्रता दिवसकै दिन आक्रमण गर्न खोजिएको झाँकी देखाइएको छ । ऐतिहासिक ‘विजयद्वार’ परेड चोकमा नजिकैको घरबाट स्नाइपर (टेलिस्कोप लगाएको हतियार) प्रयोग गरी एक ब्रिटिश जासुसले मार्न खोजेका थिए । त्यसको १५ महिनापछि यही रुपमा सडकमा गुडिरहेका अमेरिकी राष्ट्रपति जोन अफ केनेडीलाई स्नाइपरको प्रयोगबाट हत्या गरिएको थियो । 

अगष्ट ४ मा भेनेजुएलाली सेनाको ८१ औं वार्षिकोत्सवका अवसरमा राजधानी काराकासमा आयोजित कार्यक्रमलाई संबोधन गरिरहेका बेला राष्ट्रपति निकोलास मडुरोमाथि ड्रोन आक्रमण भयो । सैनिक सतर्कताका कारण उनी बचे । 

नेपाल त त्यस्तो देश हो,  जहाँको राजदरबारभित्र सेनाका अनेकन टुकडी, सुरक्षा तैनाथी परिचालन भएकै अवस्थामा समेत राजा वीरेन्द्रको बंशनाश भएको तर प्रतिकारको कुनै खबर आजसम्म आएको छैन ।

सिंहदरबारजत्तिकै संवेदनशील छन्, सैनिक मुख्यालय, केन्द्रीय कारागार, भद्रगोल जेल र महिला बन्दीगृह । त्यहीँ सेनाको एउटा सप्लाई गण पनि छ । र, त्यसको बीचमा ठडिएको छ, हेलिप्याड सुविधासहित सिभिल मल । सामान्यतया सैनिक मुख्यालय आसपास मानिसहरूको सामान्य हिँड्डुल पनि बर्जित हुन्छ । तर, सिभिल मलमा हेलिकोप्टर ल्याण्ड गर्दासम्म सैनिक मुख्यालयलाई सोध्नुपर्ने कुनै नियम, बाध्यता वा आवश्यकता छैन । सुरक्षाकै कारण देखाउँदै जंगी अड्डा हाताभित्र सञ्चालित पार्टी प्यालेस (आर्मी अफिसर्स क्लब) मा हालैदेखि सर्वसाधारणका भोज–भतेरमाथि बन्देज लगाइएको छ । तर, उत्तिकै चुनौति दिइरहेको सिभिल मल जस्तोतस्तै ठडिएको छ । अपराधीको आँखा लाग्यो भने जंगी अड्डा ‘उडाउन’ कुनै आइतबार कुर्नुपर्दैन । मुन्तिर केन्द्रीय कारागार छ, जहाँ भारतीय खुफिया सञ्जालसम्बद्ध मनमित सिंहले दिनदहाडै युनुस अन्सारीमाथि गोली हान्ने हिम्मत गरे । त्यतिबेला सिभिल मल बनिसकेको थिएन । यदि थियो भने, गुप्तांगमा पेस्तोल राखेर मनमित किन कारागारभित्र छिर्थे ? त्यही सिभिल मल माथिबाट काम फत्ते गर्थे होलान् †

नक्सालस्थित पुलिस हेडक्वार्टरको पश्चिममा त्यस्तै छ । १३ तले घर बन्यो, कसैले रोक्न सकेन । खबर पाएर तत्कालिन गृहसचिव डा.गोविन्दप्रसाद कुसुम पुगे । र प्रहरी हेडक्वार्टरका अधिकारीलाई सामेल गरेर उक्त भवन निर्माणकार्य रोक्न लगाउनु भने । तर, भवन बनाउने मान्छेहरूले महानगरबाट नक्सा पास गरेकोदेखि प्रहरी हेडक्वार्टरको अनुमति लिएको चिठीसम्म निकालेपछि बोल्ने के ? अनि, पुलिस हेडक्वार्टरको मूलगेट अघिल्तिर दुई–तीनवटा दारु स्टेशन चलेका छन् । पछाडि गैह्रीधाराको कुरै भएन, साँझ परेपछि ताल–तालका जँड्याहाको जमघट हुन्छ । मातेको बहानामा राति हेडक्वार्टर हानियो भने के हुन्छ ?

अर्को सुरक्षा निकाय सशस्त्रको मुख्यालय छ, हल्चोकको खाल्डोमा । शेषनारायणको डाँडाबाट कसैले निशाना लगायो भने रोक्ने संयन्त्र छैन । त्यसमाथि डाँडामा एउटा गुम्बा छ । त्यहाँ सर्वसाधारणको त कुरै भएन, बर्दीधारी प्रहरी जाँदा पनि सिडिओको चिठीबिना छिर्न दिँदैनौँ भन्छन् । जबरजस्ती ग¥यो भने काठमाडौंमा भएभरका गुम्बाका भक्तको लस्करै पुग्छ । पुलिस पनि छिर्न नपाउने त्यहाँ के छ ? कतै स्वतन्त्र तिव्बत गतिविधिका मान्छेहरूले शंकास्पद सामग्री त थुपारेका छैनन् ? 

सरकारले यस्ताखाले संरचना निर्माणमा रोक लगाएका उदाहरण पनि छन् । जस्तो कि, ०६५ सालताका सिंहदरबारको उत्तरतिर, न्युप्लाजामा १० तले घर बन्न लागेको थियो, स्वीकृति लिएर गृहले उद्योगलाई सोध्यो । यसपछि भवन विभागबाट स्वीकृति लिएर निर्माणकर्ताहरू गृह पुगे । तर, गृहले सुरक्षाको दृष्टिले मिल्दैन भन्यो, काम रोकियो । सिंहदरबारको न्युनतम आधा किलोमीटरसम्म कुनै पनि ठूलो भवन नबनाउने नीति नै छ । तर, महानगरपालिकाले यो नीति हेर्दैन, पहुँचवालाले भटाभट अनुमति लिन्छ ।

राजसंस्था हुञ्जेल नारायणहिटीवरपर तीन तलाभन्दा बढीको भवन बनाउन पाइँदैनथ्यो । अहिले त राष्ट्रपति भवनअगाडि, पहिला काठमाडौं होटल भए ठाउँमा भव्य अपार्टमेन्ट तयार हुँदैछ । राष्ट्रपति भवन, भैरवनाथ गणदेखि प्रहरीको केन्द्रीय तालिम प्रतिष्ठान र सिआइबीसम्मको दृश्य त्यसको माथिल्लो तलाबाट मज्जाले हेर्न मिल्ने गरी बन्न लागेको हेर्ने कसले ?

टिप्पणीहरू