ढोंगले सधैं जिन्दगी धानिन्न
समता स्कुलमा विमलाले काम गर्न थालेको तीन महिना पनि भएको थिएन । तर, त्यहाँ काम लगाउनु नै दशा सावित भयो । झण्डै १० वर्षसम्म इण्डियातिरै होटल चलाएर बसेका थियौं हामी । यही वैशाखमा नेपाल फर्किएको ।
साता दिनमै विमलाले काम भेट्टाइन् क्लिनरको । बिहानै उठेर काममा जान्थिन् । झण्डै १२÷१३ घण्टा खटिन्थिन् । निरास थिइन् उनी । काममा टर्चर र प्रेसर बढी भएको गुनासो गरिरहन्थिन् । सल्लाह पनि भएको थियो तलब लिएलगत्तै काम छाड्ने तर न उनले तलब पाइन् न त कामै छाड्न सकिन् । बरु छाडेर गइन् सारा दुनियाँँ ।
काम छाडेलगत्तै केही व्यवसाय गर्ने समझदारी थियो । घटना हुनु अघिल्लो रात । म कामबाट फर्कंदै थिएँ, साइकलमा गौरीघाटबाट । मिस्डकल आयो । साँझ ७ बजेर ३२ मिनेटमा । सोचें घर पुगिन् होला र मलाई नदेखेर कल गरिन् । कल फर्काउन खोज्दै थिएँ ७ बजेर ३३ मिनेटमा समता अस्पतालबाट फोन आयो । फोन गर्नेले भन्यो ‘विमला दिदी त दिउँसैदेखि हुनुहुन्न ।’ सोचें घर गइहोली । जसै पुगें कोठा, झुन्डिरहेको थियो ढोकामा ताला । श्रीमती र बच्चा दुवै नदेखेपछि हतारिँदै स्कुल पुगें । २ घण्टा ट्युसन चलेर ६ बजे स्कुल छुट्थ्यो । बच्चालाई स्कुलबाट प्रायः उसैले लिएर आउने गर्थी । दुई घण्टासम्म कोही लिन नआउँदा बच्चा अलमल परेर बसिरहेको थियो । म पुग्दा रातको आठ बजिसकेको थियो । बच्चालाई लिएर अस्पताल पुगें । मलाई देख्नेबित्तिकै उनीहरूले श्रीमतीको मोबाइल दिए । जसै मैले मोबाइल लिएँ, अस्पतालका कर्मचारीको अनुहार अँध्यारो भयो । मैले अस्पतालवरपर श्रीमती खोजेँे ।
उनीहरूले यहाँ छैन, आफन्तकोमा खोज्नू भने । आफन्तलाई फोन लगाएँ । अहँ, कहीँ फेला परिन । मनमा चिसो पसिसकेको थियो । राति १२ बजेसम्म खोज्यौं । सबै कोठा चहा¥यौं । तर, दुई वटा कोठाको चाबी छैन भनेर टारे । त्योमध्ये एउटा १८ नम्बरको कोठा थियो । अफिसका स्टाफ कहिले म्यामको अफिस रुम हो भन्छन् । कहिले मिटिङ रुम हो भन्छन् । जेसुकै रुम होस् चाबी देऊ भनँे । दिन मानेनन् । हारगुहार गर्न बौद्ध प्रहरी चौकी पुगँे । त्यहाँबाट दुई प्रहरी खटाइए । उनीहरूलाई पनि त्यो रुमको चाबी दिइएन । रातभर जाग्राममै बित्यो ।
यताउता सडकतिर खोजेँ तर कतै भेटिएन । १८ नम्बर कोठाको चाबी किन दिन मान्दैनन् ? सोचेँ, त्यहाँ केही न केही गडबडी पक्कै छ । भोलिपल्ट बिहानै आफन्तसहित मिलेर त्यही रुमको चाबी माग्यौं, दिन मान्दै मानेनन् । हातपातको स्थिति भएपछि बल्ल चाबी निस्कियो । सालो केटो र सेक्युरिटी गार्ड रुम खोल्न गएका थिए । नभन्दै त्यही कोठामा झुण्डिरहेको अवस्थामा भेटियो श्रीमतीको लास । एउटा खुट्टामा चप्पल छ । एउटा हात गर्धनमा लगिएको छ । तल टेक्न मिल्ने अवस्था छ । टाउकामा चोट छ । यदि आत्महत्या हुन्थ्यो भने भित्र सुसाइड र बाहिरबाट ताला ठोक्ने कसरी हुन्छ ? आखिर सत्य लुकाएर कतिन्जेल छुप्थ्यो ? हामी रातभर त्यहीं नबसेको भए त्यो लास पनि गायब पार्ने थिए कि ! प्रहरी आयो । लासको मुचुल्का उठ्यो र पोस्टमार्टमका लागि लैजाने तयारी भयो ।
गोजीमा भेटियो एउटा कागज । लेखिएको थियो, क्लिनरकै काम गर्ने तिर्था दिदी, रिसेप्सनकी संगीता र उत्तम सञ्जेलकी श्रीमती (म्याम) लाई नछाड्नु । हामीले मगायौं सीसी क्यामेराको फुटेज । तर, प्रहरीभन्दा दोषी एक कदम अगाडि निस्कियो । अस्पताल प्रशासनले पुरानै फुटेज देखायो । घटना हुनुभन्दा ३ घण्टा अगाडिको । बाँकी फुटेज डिलिट । प्रहरीले शव पोष्टमार्टमका लागि फरेन्सिक विभागमा लग्यो । रिपोर्ट आउँछ– आत्महत्या हो, हत्या होइन । नेपालमा पोस्टमार्टम गर्ने र फरेन्सिक ल्याबका विशेषज्ञ डाक्टरहरू आंैलामा गन्न सकिने मात्र छन् । के उनीहरू घुसखोर, माफिया, विभिन्न शक्तिकेन्द्र र पैसाको प्रभावमा परेकै हुन् त ? यही कारण अधिकांश हत्या आत्महत्यामा परिणत हुन्छन् र पीडितहरू न्यायबाट वञ्चित हुन्छन् । पीडकहरूलाई उन्मुक्ति मिलिरहेको छ । समतामा यसअघि पनि दुई जना स्टाफले यसैगरी ज्यान गुमाएका र अन्त्यमा आत्महत्या गरेको देखाएर उम्किएको उदाहरण छ । हिजोसम्म एउटा गार्ड, भोलिपल्टै अर्काे । न टिक्छन् गार्ड न त टिकेका छन् स्टाफहरू । दुई महिनामा चार–पाँच जना गार्ड परिवर्तन भइसके ।
हामीबीच प्रेम विवाह भएको दश वर्ष बित्यो । अहँ, यो अवधिमा उनले कहिल्यै ठूलो स्वरले बोलिनन् । यस्तो मान्छेले आत्महत्या गर्ने कल्पना पनि गर्न सक्दिनँँँ । यदि आत्महत्या थियो भने त्यो कोठा जहाँ विमला झुण्डिएकी थिइन्, बाहिरबाट कसरी र किन ताला ठोकियो ? चाबी माग्दा किन अनेक बहाना बनाइयो ? सिसिटिभी फुटेज किन डिलिट गरियो ? यी प्रश्नको जवाफ दिने हिम्मत छ उत्तम सञ्जेल सर ? पहिला ३ सय रुपैयाँमा विवाह गरेको हल्ला पिट्यौ । सामाजिक सञ्जालमा वाहवाही खायौ । केही घण्टा नबित्दै फेरि लाखौं खर्चिएर विवाह ग¥यौ । सय रुपैयाँ शुल्कमा बिरामीको उपचार गर्ने र सय रुपैयाँमा बालबालिका पढाउने धन्दा त भन्यौ तर क्रमशः पर्दा उघार्दै गयौ ।
– बुद्धिराज योञ्जन, मृतक विमलाको श्रीमान््, दोरम्बा गाउँपालिका, रामेछाप
टिप्पणीहरू