​कोही फेल, कोही पास, कोमल ओली खास

कोशिशसम्म गर्ने हो तर सधैं, सबैतिर सफलता मात्रै हात नलाग्ने रहेछ । कस्तो नमज्जाको खबर भने, अभिनेत्री करिश्मा र पूर्वकमलरी शान्ता चौधरीहरुले यो उमेरमा एसइई पास गरेर तारिफ बटुलिरहँदा धेरै सम्भावना बोकेकी, क्षमतावान भनेर चिनिएकी माननीय तथा गायिका भने पाँचमा तीन विषय लागेर फेल भएकी छन् ।

नेकपाको प्रदेश कमिटी सदस्य र संघीय संसदको सदस्य भएको यो मौकामा उस्तै परे सञ्चारमन्त्री नै भइहाल्छु भनी हिँडेकी उनको परिक्षाफलले भएभरका शुभचिन्तकलाई चिन्तित बनाएको छ । पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गर्नका लागि कपन, पैयुँटारस्थित कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशन (सिजेएमसी) भर्ना भएकी राष्ट्रियसभाकी सांसद एवं गायिका कोलम वली यसरी पाँचमा तीन विषय लागेर अनुत्तीर्ण भएकी हुन् । त्यसमध्ये बिसञ्चो हुँदा एउटा सेमेस्टरको पूरै परीक्षा दिन सकिनन् ।

अथक यात्री मञ्जु मिश्रले चलाएको उक्त कलेज पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त छ । कोमलले पहिला स्नातकसम्म अध्ययन गरेको त्रिभुवन विश्वविद्यालयबाट लैजानुपर्ने माइग्रेसन सर्टिफिकेट पनि बुझाएकी थिइनन् । त्यसकारण उनको रिजल्ट ‘विथहेल्ड’ (देखाउन असमर्थ) मा पर्दै आएको थियो । कोमलले दिएको परीक्षामध्ये पहिलो सेमेस्टरअन्तर्गत पाँचमा दुई विषय अनुत्तीर्ण गरिन् भने ६–६ महिनामा जाँच दिनुपर्ने दोस्रो सेमेस्टरमा मिडिया हिस्ट्रीसहित तीन विषय लगाइन् । फेल हुने क्रम सेमेस्टरपिच्छे एक–एक विषयका दरले थपिन थालेपछि असार १२ गतेदेखि शुरु भएको तेस्रो सेमेस्टरको परीक्षा भने अस्वस्थ्यताको कारण देखाएर दिइनन् ।

६० पूर्णांकमा उत्तीर्ण हुन २४ ल्याउनुपर्नेमा ८ देखि १० नम्बर मात्र जुटेको बताइन्छ । उनी अनुत्तीर्ण भएका विषयलाई जिपिएमा रुपान्तरण गर्दा ‘डी’ ग्रेडमा पर्छ । जबकि, ललितपुरको कुमारीपाटीस्थित आयाम इन्टरनेशल कलेजको परीक्षा केन्द्रमा कोमलका लागि बस्ने सीटको अलग्गै व्यवस्था थियो । गार्डहरुलाई कलेज म्यानेज्मेन्टले ‘उहाँ मान्यज्यू हुनुहुन्छ, हेरविचार गर्नुस्’ भन्थ्यो । पानी चाहिए पानी, चिया चाहिए चिया– परीक्षा केन्द्रभित्र केही कुराको अभाव हुन दिइएको थिएन । तर, मान–खातिरले मात्र नहुँदो रहेछ, शायद ‘जनताको मान्छे’ बनेर हिँड्दा उनले पढ्ने फुर्सद पाइनन् होला । फलतः सबैलाई दुःखी बनाउँदै फेल भइन् † अहिले रत्नराज्यलगायत पत्रकारिता विषय पढाइने थुप्रै कलेज खुलेका छन्, जसमध्ये पोलिगन र सेफर्ड पनि पर्छन् । उनको कलेजबाट भने यसपालि ७ जना परीक्षार्थी थिए । 

टिप्पणीहरू