​राजदूत तीनचोटिसम्म रातिराति

हाम्रो जोडबल रह्यो र असोज–कात्तिकतिर चिनियाँ राष्ट्रपतिले नेपाल टेक्ने रहर देखाए भने अचम्म नमान्नुपर्ने भएको छ । 

सन् १९५० को अक्टोबर ७ तारिख । अर्थात्, सात सालको आसपास नेपाल राणाशाहीबाट मुक्त हुँदै गरेको बेला तिब्बतमाथि चीनको पूर्णस्वामीत्व कायम भएको थियो । र, त्यो समय अहिले ७० औँ वर्षमा पुगेको छ । त्यही वर्षगाँठका क्रममा चिनियाँ राष्ट्रपति सि जिनपिङ तिब्बतको यात्रामा निस्कँदैछन् । कार्यक्रम सकेर सिन्धुपाल्चोकतर्फको नाका खासाबाट चार सय किलोमीटरको दूरीमा अवस्थित चिनियाँ शहर सिगात्सेसम्म सिकोे यात्रा हुने सम्भावना छ । सिगात्से त्यही ठाउँ हो, जसमाथि नेपालले राणाकालमा कब्जा जमाएको थियो । यसचोटि चिनियाँ राष्ट्रपति त्यहीँबाट नेपाल आउने सम्भावना छ ।

यस्तो सम्भावनाको कसरी पनि अनुमान गर्न सकिन्छ भने चिनियाँ राजदूत हौ याङछी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धमाधम पुनःनिर्माण हुँदै गरेको रनवेको अवलोकनमा व्यस्त छिन् । राति–राति राजदूत विमानस्थलमा आफ्ना प्राविधिकहरुबाट भइरहेका कामको प्रगति बुझ्न गइरहेकी छन् । न चिनियाँ लगानी न देखिने गरी कुनै सरोकार नै– बनाउने ठेक्का मात्रै चिनियाँ कम्पनीले पाएको । उनले त्यसरी निरीक्षणमा जानुपर्ने कारण नै त खोलेकी छैनन् तर अनुमान गरिँदैछ– यही विमानस्थल टेक्ने गरी छिट्टै कुनै चिनियाँ उच्चपदस्थ अधिकारीको भ्रमण होला कि !

टिप्पणीहरू