मलाई मात्र किन मायाको पीडा ?
भन्छन्, संसारमा सबैभन्दा खुशी दिने र सबैभन्दा दुःखी बनाउने ठाउँ पनि परिवार नै हो । त्यसकारण परिवारमै गडबड भयो भने मान्छेले चाहेर पनि प्रगतिको द्वार भेट्टाउन नसक्दो रहेछ । मान्छेको स्वभाव कस्तो भने जो आफूसँग छैन, उसैको खोजीमा तड्पन्छ । भौंतारिन्छ । जो आफूसँग छ उसलाई कौडीको ठानिदिन्छ । हो, यस्तै हालमा गुज्रिएको छु । थाहा छैन । यो अजंगको समस्याको पहाडबाट कसरी बाहिर आउने ? विद्यालय तहमा कहिल्यै दोस्रो भइनँ । अतिरिक्त क्रियाकलापमा सदैव अब्बल । जब उच्च शिक्षा अध्ययनका लागि झोलाभरि सपना र मनभरि भविष्य बोकेर भित्रिएँ । निल्यो यही खाल्डोले मेरा सपना, जिन्दगी ।
प्यारका कारण जीवन ओरालो लाग्दै छ । बर्बाद हुँदै छु । विगतका ती दिन बिर्सन प्रयास गर्छु । तर, याद यसरी टाँसिएका छन् कि जति बिर्सन खोज्छु झन् गाढा बनेर आउँछ । बिहे भएको ६ वर्ष बितिसकेको छ । २ छोराको पिता । तर, आफूसँग जो छैन, उसकै कोरा कल्पनामा डुबिरहेको हुन्छु हरपल । जसलाई हृदयदेखि चाहें त्यो पाउन सकिएन । जोसँग जीवन गुजार्दै छु, त्यो चाह थिएन । नभएको र हुन नसकेको प्रेमिकाको यादमा तड्पिएर जीवन अगाडि बढ्दैन । थाहा छ । तर, त्यहाँबाट कसरी निस्कने ?
राजधानीकै चलेको एउटा रेडियो स्टेशनको टेक्निसियन, यसका अलावा डान्स टिचर । महँगो काठमाडौंमा बाँचिरहेको छु साह्रै सस्तो जिन्दगी । यस्तो लाग्छ, मायाले पनि पोल्ने र रुवाउने रहेछ । यहाँ आँखा खोल्दा र चिम्लँदा पनि आफ्नो हुन नसकेको मान्छेकै यादका तरेलीहरू आइरहन्छन् र भिज्छन् परेलीहरू । हिजैजस्तो लाग्छ, उनीसँग चोर पुलिस र रुद्राक्षको दानाले खोपी खेलेको । कति चोखो थियो हाम्रो प्रेम ! यो नक्कली थिएन । बेशर्त थियो । अहिले जोसँग बन्धनमा बाँँधिएको छु योचाहिँ दैनिक आवश्यकता पूरा गर्ने उद्देश्यले र समाजले कुरा नकाटोस् भनेर मात्र हो ।
जति छिटो बाँँधिएका थियौं प्रेममा उति नै छिटो टुट्यौं । भत्कियांै । हामी एक हुन नसकेको र बिछोड भएको ६ वर्ष बितिसकेछ । भन्थे, पहिलो प्रेमलाई भुल्न सकिँदैन । सायद त्यही भएर होला, कति छिटो बित्यो पाँच वर्ष ? तिमी धरान, म काठमाडौं । एक मन त भन्छ, तोडौं सामाजिक बन्धन र अँँगालौं तिमीलाई । तर, सक्दिनँँ । परिबन्दको अगाडि कसको के लाग्छ र ? हामीले रोपेको बरपिपल पनि ठूला भए होलान् ? हामीले सँगै खेलेका ठाउँँ एक्ला भए होलान् ? म त त्यही यादको साहरामा बाँँचेको छु यो शहरमा । यो शहर जहाँ जोडिएका छन् घरहरू । कोठाहरू । तर, कोसौं टाढा छन् मान्छेका मनहरू । गाउँँमा घर टाढा टाढा भए पनि मन नजिक हुन्छ तर शहर ठीक उल्टो । अतितका घाउले कति दुख्छ, पोल्छ । त्यो त दुख्नेलाई मात्र थाहा हँँुदो रहेछ । एक मुठी सास तिम्रै यादमा अडिरहेको छ ।
त्यही माया प्रेमलाई पनि तिमीले जुठो पारेर गयौ । म तिमीबाहेक अरूसँग खुशी हुन सक्दिनँँ । आँशु खसालेर रुँँदैमा तिमी आउने पनि होइनौ । रुँँदैमा विगत पखालिएर जाने होइन । यदि त्यस्तो हुन्थ्यो भने हजार जुनीसम्म तिम्रैनिम्ति रोएर बिताइदिन्थें । तिमी छैनौ मेरो जिन्दगीमा त्यसैले खल्लो छ जिन्दगी नुनबिनाको तरकारीजस्तो । यो महँगो शहरमा दुःख गरेर जेनतेन आज आफ्नो पेट पाल्ने त भएको छु । तर, मेरो विवशताको फाइदा उठाएर तिमी पराइको भयौ र चोखो माया लत्यायौ । आज यस्तो मोडमा पुग्छु भन्ने सोचेको पनि थिइनँँ । मनकामना मन्दिर गएर सँगै बाँँच्ने, सँगै मर्ने कसम खाएको हिजैजस्तो लाग्छ । ती कसम कहाँ गए ? अँगालोमा बाँधिएर खाएका कसम कहाँ गए ? भन्थे, तोड्नैका लागि कसम खाइन्छ । फटाहा मान्छेले सबैभन्दा धेरै कसम खान्छ रे !
हिजो हाम्रो माया पिरती देखेर नजल्नेहरू सायदै थिए । आज तिमी अर्कैको अँगालोमा बाँधियौ, अरूकै अँँगालोमा खुशी देखियौ । सायद हाम्रो मायामा पराइको आँखा लागेछ क्यारे ! मेरो विवशता र बाध्यता जान्ने प्रयाससम्म गरिनौ । तिमीले बोलाएकी थियौ चितवन । अफिसको कामले बिदा मिलेन । आउन सकिनँ । मलाई के थाहा तिमीले बोलाएको स्थानमा नपुग्दैमा जिन्दगीमा यति ठूलो घटना घट्छ भनेर ? मनदेखि नै गरेको माया यति सजिलै टुक्रन्छ भनेर ? तिमीले त मलाई अन्तिम भेट गर्न पो त्यहाँ बोलाएकी रहेछौ । चितवन आइपुग्न नसक्नुकै कारण मेरो जीवनमा यत्रो बज्रपात बर्सियो । कोही–कसैको बिना मर्ने त होइन, यद्यपि निष्ठुरीलाई भुल्न नसक्नु मेरै कमजोरी हो । मैले त केवल माया गरेको थिएँँ । चोखो । सच्चा मनले चाहेको थिएँँ । त्यही फल होला सायद बदलामा आँशु पिलाएर गयौ । पल÷पल जलिरहँे मैनझैं । बस् जलिरहेँ । जिन्दगीले कति चोट दिन सक्छ सहिदिउँँला । किनकि सहनेकै छाती अचानो हुन्छ यहाँ । हिजो भन्ने गथ्र्याै तिमीलाई पीडाले दुख्दा म पनि पीडाले दुख्छु÷छट्पटिन्छु । कसरी सक्ला एउटा पुरुषले आफ्नी संगिनीको सिउँदो अरूले रंगाएको हेर्न ? गरिब थिएँ । तिम्रा सारा खुशी किन्न सक्दिनथेँ । त्यसै कारण त तिमी रमाउँदै गयौ पराइको अँगालोमा । दुख्दो रहेछ मुटु बिछोडको पीडाले । जति दुख्दैन होला सायद कुनै धारिलो वस्तुले रेट्दा । तिम्रो खुशीको दिनभन्दा अघिल्लो दिन घरमा आएको थिएँ । कति दुर्भाग्य मेरो । तिमीले पठाएको निम्तो कार्ड आमाले दिनुभयो । बिचरी आमालाई के थाहा आफ्नै छोराको खुशी लुटिँँदै छ÷खोसिँदै छ भन्ने कुरा । आमालाई भनेको थिएँ, घर आएर विवाह गर्छु । तर, जोसँग विवाह गर्छु भन्दै आएको थिएँ, उसैको विवाहको कार्ड पाउँदा यो मन कस्तो भयो होला ? जब म र अर्जुन सँगै काठमाडौंमा बसेर ब्याचलर तह पढ्दै थियौं । घरबाट बाबा बिरामी हुनुभयो भन्ने फोन आयो, म घरमा आइपुग्दा कुरा अर्कै रहेछ । बुवा विरामी हुनुभएको नभई विवाहको कुरा गने पो ढाँटेर बोलाइएको रहेछ । राम्रो खानदानको छोरी । बुबा ममीको कुराले झसंग बनायो । हजारौं काँडाले एकैपल्ट घोचेजस्तो भयो । ठूलो भूमरीमा फसेजस्तै । टेकेको जमिन भासिएझैं । जन्म दिने बुबा आमाको प्रतिकार गर्न सकिनँ र बाँँधिएँ विवाह बन्धनमा । विवाह धुमधामसँग भयो । सबै खुशी थिए मबाहेक । मैले जसलाई चाहें त्यो पाउन सकिनँ । जसलाई पाएँ, त्यो मेरो चाहना होइन । हाय भावी तेरो खेल । यो कस्तो मान्छेको जात । जे छैन, त्यसैको चासो र चिन्तामा भौंतारिने ? यस्तो पीडाको पहाड मैले मात्र भोगेको हो वा अरूको जीवनमा पनि आइलाग्छ ?
– द्रोण पराजुली (नाम परिवर्तन), अर्खाउले जितपुर
टिप्पणीहरू