​कमरेडहरु धमाधम रंगिला काण्डमा

जनयुद्धकालमा अत्यधिक मौलाएको साँस्कृतिक बिचलनको रोग नेकपाका नेता–कार्यकर्तामा पनि फस्टाउन थालेको छ । 

यस्तो रोगले मोरङ आक्रान्त छ । कानुनमन्त्री भानुभक्त ढकालको निर्वाचन क्षेत्र नम्बर ३ झनै यस मामिलाबाट ग्रस्त छ । उत्तरी मोरङको पश्चिम क्षेत्रमा पूर्वएमालेको नगर नेतृत्व सम्हालिसकेका व्यक्तिदेखि सामान्य कार्यकर्ता पनि पतन भएका उदाहरण छन् । कांग्रेसभित्र त्यस्ता मामिला आइपरे सहजै सल्टाइन्छन् तर खोक्रो आदर्शका कारण कम्युनिस्टभित्र सकसपूर्ण बन्ने गरेका छन् ।

केही समयअघि ज्यान हत्या अभियोगमा पक्राउ परी योगेन्द्र गुरुङ जेल पुगेका छन् । पूर्व एमालेको बेलबारी नगर अध्यक्ष भइसकेका उनका दुई छोरासहित श्रीमती काठमाडौं बसेका हुनाले मोरङमा अरबेकी श्रीमतीलाई ‘गर्ल फ्रेण्ड’ बनाएका रहेछन् । योगेन्द्रसँगको सम्बन्धका कारण अरबमा कार्यरत श्रीमान्ले बेवास्ता गरेपछि पिरोलिएकी रमिला राईले बारम्बार विवाहका लागि दबाब दिने गरेकी थिइन् । बारम्बार झगडा पर्ने क्रममा पछिल्लो पटक योगेन्द्रकै घरमा रहेकी रमिला मध्यराति जोडले कराएको र बाहिर हल्ला जान नदिन मुख थुन्दा प्राण गएको बयान छ । मध्यरात प्राण गएपछि भोलिपल्ट आफ्नै कारमा हालेर लाशलाई सप्तकोशीमा फ्याँकिदिएको बयान योगेन्द्रले प्रहरीलाई दिएको भए पनि दुई–तीन हप्तामा लाश फेला परेपछि मात्रै हतको पुष्टि भएको हो । 

यो त पर्दाफास भएको उदाहरण भयो । तर, अपराधमा पुग्न नदिई गुपचुप मिलाइएका थुप्रै घटना छन् । मोरङ क्षेत्र नम्बर ३ मै केही महिनाअघि पूर्वएमालेको राम्रै जिम्मेवारी पाइसकेका एक सरकारी शिक्षक तथा बोर्डिङ सञ्चालक परस्त्रीसँग सहवासको कारण झण्डै ठूलो झमेलामा फसेका थिए । ‘गर्लफ्रेन्ड’ ले सबै कुरा पर्दाफास गरिदिने धम्की दिई झमेला बढ्दै गएपछि स्थानीय पार्टी नेतृत्वलाई गुहार्नुपरेको थियो । पार्टीको पहलमा ती महिलालाई दुई लाखको मुठो बुझाएर मामिला सुल्झाइएको थियो । 

केही समयअघि वित्तीय संस्थामा कार्यरत एक जना नेकपा कार्यकर्ताले पनि विवाहपछिकी गर्ल फ्रेन्डलाई झण्डै घरकी कान्छी बनाएका थिए । कसो–कसो भाग्ने योजना लिक भएपछि पार्टी र आफन्त लागेर योजना विफल तुल्याइएको थियो । त्यसपछि ती महिलालाई तीन लाख रुपैयाँ बुझाएर अवैध सम्बन्ध टुटाइएको छ । 

त्यसैगरी, ५० वर्ष हाराहारीको उमेर पार गरिसकेका नेकपा समर्थक एक व्यापारी पनि आफ्नै व्यापारिक स्टाफ युवतीसँग घरकै बेडरुममा रमाएका बेला श्रीमतीले रंगेहात भेट्टाएकी थिइन् । परिवारले ती युवतीलाई आइन्दा फर्केर नआउने शर्तमा ५ लाख रूपैयाँ दिएर काठमाडौँ पु¥याएकोमा पाठेघर फालिसकेकी श्रीमतीसमक्ष श्रीमान्ले रोइलो गरेपछि फर्काएर घरमै पुनर्बास गराइएको थियो ।

अर्का एक व्यापारी पनि एक अरबेकी श्रीमतीलाई गर्लफ्रेण्ड बनाएका कारण झण्डै ठूलै फन्दामा परेका थिए । पेट बोकाएर क्युरेट गराउने खर्चसमेत नदिएको भन्दै महिलाले सुसाइड नोट लेखेर आत्महत्या गरेपछि ती व्यापारी एक महिनासम्म अलप भएका थिए । मामिला सुल्झिएपछि मात्रै व्यापार सम्हाल्न आएका छन् । त्यसैगरी बेलबारीमा वैदेशिक रोजगारमा गएकाकी श्रीमतीले बच्चा पाएपछि एक महिनाअघि सिटी सफारीका चालकले पाँच लाख तिरेर सामाजिक र कानुनी रूपमा मुक्ति पाएका छन् ।

मोरङमा थुप्रै नेता र कार्यकर्ता छन्, जसमध्ये कोही एउटै परस्त्रीलाइ बर्षांैसम्म खेलाउने गर्छन् त कोही सिजनैपिच्छे बदली–बदली रमाउने गरेका छन् । समाज र देश बदल्ने भनेर राजनीतिमा लागेका ‘क्रान्तिकारी’ हरू नै समाजलाई बिकृत बनाउनतिर उद्यत भएपछि जनताले कसको भरोसा गर्ने होला ? 

टिप्पणीहरू