​मन्त्रीज्यूलाई के थाहा मर्म

१० वर्षे जनयुद्धको समयमा वर्गविहीन समाज निर्माण गर्न भन्दै युद्ध लडेका रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–७ का धर्मबहादुर ओली उपचार नपाएर जीवन–मरणको दोसाँधमा छन् । युद्धकै बेला लागेको गोलीको छर्राले शरीरमा क्यान्सर भएको छ । राजधानीका विभिन्न अस्पतालमा जीवन जोगाउन छटपटाइरहेका उनको घर, सम्पत्ति उपचारमै रित्तिएको छ । आमूल परिवर्तनको नारा बोकेर १० वर्ष जनयुद्ध लडेका धर्मबहादुरलाई आफ्नै पार्टीले पूरापूर बेवास्ता गरेको अनुभव छ । 

धर्मबहादुरले भने, ‘प्रहरी चौकी तथा तत्कालीन शाही सेनाको ब्यारेक कब्जा गर्नेदेखि गाउँमा फरक आस्थाका मान्छेलाई पक्राउ गर्ने कामसमेत गरियो तर अहिले म मृत्युसँग संघर्ष गर्दा पनि सहयोग गर्नु त कहाँ हो कहाँ कोही नेता भेट्नसम्म आएका छैनन् ।’

धर्मबहादुर अर्घाखाँची आक्रमणको क्रममा खुट्टा र शरीरका अन्य अंगमा बमको छर्रा लागेर घाइते भए । 

त्यही बम र बारुदका छर्राको असरले संवेदनशील अंग अण्डकोषमा क्यान्सर भएपछि काटेर फाल्नुपरेको छ । अहिले ६ महिनाका लागि केमो चढाइएको छ । नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर ललितपुरमा राखिएका धर्मबहादुर पीडा सुनाउँछन्, ‘जनताको मुक्तिका लागि थुप्रै लडाइँमा सहभागी भए, कमाण्डरको आदेश पालना गरँे तर आफ्नो शरीर स्वस्थ राख्न सकिनँ, कोही सहयोगी मन भए मेरो परिवारको पालन–पोषणमा सहयोग गरिदिनुहोला ।’ 

उपचार क्रममा अहिलेसम्म १७ लाख रुपैयाँ खर्च भएको पत्नी आशा बताउँछिन्, ‘अहिलेसम्म उपचारका लागि लागेको सबै पैसा गाउँबाट महँगो ब्याजदरमा ल्याएका छौं, सञ्चो हुने सम्भावना छैन, अझै उपचारका लागि कति लाग्ने हो थाहा छैन’, सानीभेरी गाउँपालिकाले ५० हजार र वडा ७ ले ४० हजार गरेर जम्मा ९० हजार रुपैयाँ सहयोग गरेका छन् । जिल्लाबाट निर्वाचित सांसद, मन्त्री, पूर्वमन्त्री कोही पनि अहिलेसम्म एक पटक भेट्न समेत नआएको भन्दै उनले दुःख व्यक्त गरिन् । 

  • राजु लामिछाने
 

टिप्पणीहरू