कानको जाली फुटाउँदै क्याप्टेन

प्रधानसेनापति पूर्णचन्द्र थापा नियुक्त भएसँगै कमाण्ड प्रतिबद्धतामै उल्लेख भएको थियो नागरिक–सैनिक सम्बन्ध विस्तार । त्यसैको जगमा टेकेर ६७ वर्षयता निरन्तर रेडियो नेपालबाट प्रशारण हुँदै आएको रेडियो कार्यक्रम तराईकेन्द्रित भाषाहरुमा समेत प्रशारण हुने गर्छ । सोहीअनुरुप प्रधानसेनापति नियुक्त भएकै दिनदेखि मैथिली भाषाको नयाँ संस्करण शुरु भएको छ । हाल त्यसले करिब एक वर्ष पुरा गर्न लागेको छ भने भोजपुरी तथा अवधी भाषामा समेत प्रशारण जारी छ ।

यही भाषाभाषी कार्यक्रमको नाममा एक जना मधेसी कोटाका अधिकृतले दादागिरी देखाउन थालेका छन् । ती अधिकत हुन्– बज्रदल गणका सह–सेनानी अनिल यादव । हेर्दा निकै सोझो र भलाद्मी तर कुटिल । यस्ता मान्छेलाई विश्वासपात्र बनाएका छन् प्र.से. प्रद्युम्न पौडेल ।
कहिले प्राविधिकसँग त कहिले प्रस्तोतासँग झगडा गर्छन् । सके जित्छन्, नसके फलानाले मलाई टेरेन, मेरो काम गर्दिएन भनेर रिपोर्ट गर्छन् । नेपाली भाषामा अरु कसैले लेखिदिएको स्क्रिप्टलाई मैथिलीमा रुपान्तरण गरेर कार्यक्रम बनाउन के नै गाह्रो काम हो र तर उनलाई त्यही काम कमिलालाई कुन्नी केको पहिरो भनेझैं भएको छ । बन्दुकको मात्र ज्ञान भएकोलाई के थाहा मिडिया के हो ? क्याप्टेन काठमाण्डौंका स्थायी बासिन्दा रहेछन् । मैथिली भाषामा राम्रो ज्ञान पनि छैन । सिपाहीले रुपान्तरण गर्दिएको समाचार पढ्ने जिम्मा, त्यही पनि १० मिनेटको समाचार ४०÷५० मिनेट पढ्छन् रेकर्डको बेला । 

प्राविधिकले एडिट गर्न गाह्रो भो, प्राक्टिस् गरेर पढ्नुस् भन्दा उल्टै रुप देखाउँछन् । १६÷१७ वर्ष जागिर भएको सिपाहीदेखि भर्खरै भाषाको लागि आएकाहरुलाई कठालो समाउनेदेखि शारीरिक तथा मानसिक पीडा दिनमा पनि अगाडि छन् ।

भर्खरै आएका सिपाहीहरुलाई स्वर तथा भाषा टेस्ट गरेर चित्त नबुझे युनिट फिर्ता पठाउँछन् । उनको स्वर यदि कसैले सुन्नु भो भने हाँसेरै मर्नुहुन्छ । त्यस्ता मान्छेले अरुको स्वर परीक्षासमेत लिन भ्याउँछन् । हेडक्वार्टरमा काजमा बसेको सिपाहीलाई ५÷६ महिना नबित्दै युनिटले बोलाउँछ, यिनको युनिटले चैं एक वर्ष हुन लाग्दा नि किन यिनको खोजी गर्दैन ? मैले यति जनाको दाँत झारेँ, यति जनाको कानको जाली फुटाएँ, यतिलाई कुटे भन्दा अरु कुरा नै गर्दैनन् । फुली लगाएकै कारण अर्काको जिन्दगी बर्वाद बनाउने अधिकार छ र सेनामा ?

टिप्पणीहरू