​महान् मान्छेको कस्तो हुने होला मन

  • राजेन्द्र स्थापित

एनी हेथवे इंग्ल्याण्डको सोटरी गाउँकी । सोटरी स्ट्राटफोर्डको ठीक पश्चिममा पर्छ । रिचार्ड हेथवेको ठूलो खेतबारी थियो । एनी उनैकी सन्तान हुन् । रिचार्डका दुई पत्नीबाट ८ सन्तान जन्मिए । एनी जेठीपत्नीतर्फकी जेठी छोरी । रिचार्डको ठूलो कृषि फार्म । धनी बाबुका सन्तान भए पनि एनीले कहिल्यै स्कुलमा पाइला टेक्न पाइनन् । न त रिचार्डले घरमै शिक्षादीक्षाको व्यवस्था गरे । एनीले घरको काम सिकिन् । आमा–बाबुले पनि कसरी असल गृहिणी बन्ने भन्ने मात्रै सिकाए । 

त्यसबेला छोराको उमेर १४ र छोरीको १२ भएपछि बिहे गराइदिने चलन थियो । यद्यपि कानुनमा २१ वर्ष नपुगी बिहे गर्न नपाइने व्यवस्था थियो । त्यसैले सानो उमेरमा गरिने बिहे नातेदारभित्रै हुन्थ्यो । एनी सन् १५८१ मा २५ वर्षको भइसकेकी थिइन् तैपनि रिचार्ड बिहे गराउने हतारोमा थिएनन् । तर उनले आफ्ना व्यापारी साथी जोन शेक्सपियरलाई भेट्दा छोरीको बारेमा बताउने गर्थे । जोनका छोरा विलियम १७ वर्षका कलिलो छोराको बिहे २५ वर्षकी ऐनीसँग कसरी गराइदिने भन्ने दोमनमा थिए । बाबु–बाबु साथी हुँदा छोराछोरीबीच हेलमेल हुनु स्वाभाविक थियो । विलियम र एनी पनि मिल्ने साथी । यसैबीच रिचार्डको निधन भयो । उनका छोरा तथा एनीका सौतेनी भाइ बार्थोलोमेउ हेउल्याण्डतर्फ लागे । त्यहाँ उनकी आमा जोएनको नाउँमा धेरै जग्गा थियो । एनीहरु भने सोटरीमै बसे । एनी र विलियमको भेटघाट नियमित बन्दै गयो । र, एनी गर्भवती बनिन् ।

तत्कालीन इंग्ल्याण्डमा कुमारी आमा बन्नुलाई चर्च र समाजले राम्रो मान्दैनथे । फेरि कुमारी कन्यालाई आमा बनाउने विलियम नाबालिग (२१ वर्षको हुनुपर्ने) थियो । तसर्थ बद्नामी हुने डर दुवै परिवारलाई भयो । उनीहरुको अगाडि एनी र विलियमको बिहे गराइदिनेबाहेक विकल्प रहेन । दुवै परिवारको सहमतिमा स्थानीय चर्चले बिहेको सूचना जारी ग¥यो । नियमानुसार यस्तो सूचना तीनपटक जारी गर्नुपथ्र्यो, त्यो पनि तीनवटा आइतबार वा बिदाको दिन मात्र । सूचना जारी भएपछि बिहेप्रति कसैको आपत्ति छ भने चर्चमा उजुरी पर्न सक्छ । चर्चले जारी गरेको सूचनामाथि कसैको उजुरी नआएपछि एनी र विलियमको बिहे सन् १५८२ नोभेम्बर २७ मा भयो । साक्षीको रुपमा न्याय तथा शान्तिमन्त्रीको उपस्थिति थियो । त्यसबेलासम्म बिहे दर्ता गर्ने रजिष्टर कार्यालय बनेको थिएन । बिहे गर्दा विलियम १८ का थिए भने एनी २६ की । कानुनतः विलियमको उमेर पुगेकै थिएन । एनीको पेटमा त्यसबेला तीन महिनाको बच्चा थियो । एनीले दाइजोको रुपमा दिवंगत बाबुको इच्छापत्रमा उल्लेखित सम्पत्ति र नगद पाइन् । 

भोलिपल्ट बाबु रिचार्डका साथीहरु फल्क स्याण्डेल्स र जोन रिचर्डसनले एनी र विलियमको बिहेका लागि ४० पौण्ड नगद ग्यारेण्टी पेश गरे । ‘दि म्यान शेक्सपियर’ का लेखक फ्रांक ह्यारिस भन्छन्, ‘बैंक ग्यारेण्टी पेश गर्नुको अर्थ त्यो बेला विलियम शेक्सपियरको जीवनमा दुईटी महिला थिए । र, उनी गर्भवती बनिसकेकै कारणले मात्र एनीसित बिहे गर्न विवश बनेका थिए ।’ फ्रांकको दाबी छ, विलियम एनीसँग बिहे गर्न अनिच्छुक थिए, नातेदारको दबाबमा मात्र मान्दै थिए । बिहे जे–जस्तो परिस्थितिमा भए पनि बिहेपछि भने असाध्यै रमाए । प्रेम गर्न थाले । ६ महिनापछि एनी छोरीको आमा बनिन् । छोरी सुसान दुई वर्षकी हुँदा एनी फेरि आमा बनिन् । यसपल्ट जुम्ल्याहा सन्तान (छोरा हाम्नेट र छोरी जुडिथ) लाई जन्माइन् । विलियम शेक्सपियरका छोरा हाम्नेटको मृत्यु ११ वर्षको उमेरमा सन् १५९६ मा भयो ।

शेक्सपियरका बाबु जोन छालाका व्यापारी थिए । पञ्जालगायत अन्य वस्तु बेच्थे । जोनका ८ छोराछोरी । विलियम तेस्रा । ३ जना सानैमा मरे । विलियमकी आमा मेरी आर्डेन ठूलो जमिन्दारकी छोरी । दाइजोमा थुप्रै जमिन पाइन् । पत्नीबाट दाइजो आएपछि जोन झन् बढी धनी बने । उनले छोरो विलियमलाई स्ट्राटफोर्डको विख्यात ग्रामर स्कुलमा पढाए । विलियमले त्यहाँबाट अंग्रेजी र ल्याटिन भाषा सिके । इतिहासको अध्ययन गरे । अध्ययनपछि त्यहींकै एउटा स्कुलमा पढाउने काम गरे र लगत्तै उनको ऐनीसँग बिहे भयो । दुई छोरी र एक छोराको बाबु बने । उनलाई अभिनयमा ठूलो सोख थियो । त्यसबेला स्ट्राटफोर्डमा नाटक देखाउन लण्डनबाट एउटा टोली पुग्यो । टोली फर्कने क्रममा विलियम पनि पछि लागेर लण्डन पुगे । यो एनीले जुम्ल्याहा छोराछोरी जन्माएलगत्तैको समय थियो । शुरुमा नाट्यघरमा पर्दा तान्ने काम गरे । पछि स–सानो भूमिका निभाउन थाले । र, विस्तारै आफैंले नाटक लेखेर खेल्न र खेलाउनतिर लागे ।

शेक्सपियरले ३९ वटा नाटक लेखे तर जीवित छउञ्जेल एउटा पनि प्रकाशित भएन । सन् १५९३ मा ‘भिनस र अडोनिस’ तथा १५९४ मा ‘लुक्रिसको बलात्कार’ कविता छापिएपछि अभिनेता तथा कविको रुपमा स्थापित भए । प्रकाशित दुवै कविता साउथ ह्याम्पटनका अर्ल हेनरी रियोथेस्लीलाई समर्पण गरेका थिए । दुवै लामा र व्याख्यात्मक कविता थिए, यस्तो कविता उनले यो दुईटै मात्र लेखेका थिए । हेनरीलाई कविता समर्पित गर्दै लेखे, ‘मेरो प्रेम तपाईंप्रति अन्त्यहीन छ ।’

धेरै लेखकले शेक्सपियरलाई समलिंगी र हेनरीसँग उनको अन्तरंग सम्बन्ध रहेको दाबी गरेका छन् । कतिपयले शेक्सपियर आफू कमाउन र भविष्य खोज्न लण्डन जाँदा पत्नी ऐनी र स–साना छोराछोरीलाई साथमा नलानुको कारण यसैलाई मानेका छन् । शेक्सपियर करिब २७ वर्ष लण्डनमा बसे । तर कहिल्यै पत्नी र छोराछोरीलाई त्यता बोलाएनन् । उनी महिनैपिच्छे खर्च पठाउँथे, बिदाको मौका छोपेर घर फर्कन्थे तर दुई छोरी र एक छोरापछि एनीले गर्भाधान नगर्नुमा उनको जीवनमा हेनरीले स्थान लिइसकेको लेखकहरूले बताउने गरेका छन् । स्मरणीय छ, हेनरी विवाहित थिए तर महिलाका लुगा र महिलाजस्तै सजिएर हिँड्थे । शेक्सपियरले जीवनमा १५४ वटा सनेट (१४ पंक्तिको छोटो कविता) लेखेका छन् । ‘फियर युथ’ उनै हेनरीको बारेमा छ । कवितामा हेनरी उल्लेख नगरी ‘डब्लु. एच.’ लेखेका छन् । 

शेक्सपियर जीवित छउञ्जेल प्रकाशित कृतिमध्ये ‘लुक्रिसको बलात्कार’ निकै लोकप्रिय बन्यो । लुक्रिस प्राचीन रोमकी कुलिन नारी लुक्रिसियामा आधारित छ, जो सेक्सतुस तार्किनिउसबाट बलात्कृत भएकी थिइन् । सेक्सतुस रोमका अन्तिम सम्राट लुसिउस तार्किनिउस सुपरबुसका छोरा थिए । लुसिउस रोमबाट ३५ किमी टाढाको नगर एर्डिया कब्जा गर्न चाहन्थे । त्यसक्रममा छोरा तार्किनिउसलाई कोलासिया पठाए । तार्किनिउस त्यहाँ गएर लुसिउस तार्किनिउस कोलाटिनसको घरमा बास बसे । कोलाटिनस राजा सुपरबुसको भतिजीका छोरा थिए । बलात्कृत लुक्रिसिया उनै कोलाटिनसकी पत्नी हुन् । कोलाटिनस घरबाहिर रहेको मौका पारेर तार्किनिउसले लुक्रिसियाको शयनकक्षमा प्रवेश गरी जबर्जस्ती गरेका थिए । बलात्कृत भएपछि लुक्रिसियाले आत्महत्या गरिन् । 

शेक्सपियरले आफ्नी पत्नीलाई प्रेम गर्थे कि गर्थेनन् भन्ने विवाद धेरैले निकालेका छन् । किनभने शेक्सपियरले इच्छापत्रमा एनीको नाउँमा बिहेपछि आफूहरु सुत्ने गरेको पलङ, पलङमाथि ओछ्याइने तन्ना र बेडरुमको फर्निचर मात्र दिने उल्लेख गरेका छन् । शेक्सपियरले एनीसँग मात्र ३ वर्ष बिताएको र पत्नीसँग असन्तुष्ट भई लण्डन गएको दाबी उनीहरुको छ । उनीहरुले लण्डनमा ‘राजा रिचर्ड तृतीयको वियोगान्त नाटक’ लेख्ने र खेल्ने क्रममा एउटी महिलासित उनको प्रेम बस्न पुगेको भन्ने गरेका छन् । तर जुलियस सिजर, रोमियो जुलियट, मैक्बेथ, एन्टोनी एण्ड क्रियोपेट्रा, ह्याम्लेटजस्ता सदाबहार लोकप्रिय नाटक लेखेका अंग्रेजी साहित्यका सर्वश्रेष्ठ साहित्यकार शेक्सपियरको अन्य स्त्रीसँग अनैतिक सम्बन्ध राखेको सिद्ध हुने कुनै प्रमाण छैन । 

शेक्सपियर लण्डनबाट करिब २७ वर्षपछि सन् १६११ मा घर फर्के । स्ट्राटफोर्डमा नयाँ घर किने । एनीलाई पनि त्यतै बोलाए । अन्तिम ६ वर्ष लोग्ने, बाबु, बाजे बनेर दिन बिताए । सन् १६१६ मा उनको मृत्युपछि पनि एनीले त्यही घरमा धनी महिलाको रुपमा बिताइन् । एनीको निधन ७ वर्षपछि सन् १६२३ मा भयो । 

टिप्पणीहरू