​केटी काण्डवाला कमरेड बिप्लवद्वारा कर्‍याप्पै

सत्ता र विद्रोहीका काममा हत्तपत्त समानता पाइँदैन । तर, त्यस्तै संयोग देखिएको छ । सरकारले जुवा–तासजस्ता सामाजिक विसंगतिमाथि निर्ममतासाथ कारवाही अगाडि बढाउँदै त्यसका कसुरदारमाथि सम्पत्ति शुद्दिकरणसम्मको मुद्दा लगाउँदैछ । सशस्त्र विद्रोहरत विप्लव नेतृत्वको नेकपा पनि अहिले त्यही अभियानमा छ, जुवा, तास एवं तस्करी नियन्त्रण गर्ने ।

जनआस्थालाई प्राप्त गोप्य सर्कुलरअनुसार उसले पार्टी पुनर्गठन भएको दिन, अर्थात् मंसिर ८ गते महासचिव नेत्रविक्रम चन्द (विप्लव) लाई युट्युब अन्तर्वार्तामार्फत सार्वजनिक गर्दै छ । प्रचण्डहरुबाट छुट्टिएको दिनलाई भव्य बनाउनका निम्ति सभा, साँस्कृतिक कार्यक्रम, उपहार, शुभकामना आदानप्रदानसँगै शहीद परिवारसहित जनयुद्धका घाइते–अपांग, बेपत्ता परिवारलाई सम्मान, क्रान्तिकारी अन्दोलनमा महŒवपूर्ण भूमिका निर्वाह गर्ने वृद्धवृद्धाको सम्मान, भेटघाटजस्ता कार्यक्रम तय गरिएको छ । त्यसअघि मंसिर ५ गते खेलकुद कार्यक्रमको आयोजना गरिने कुरा सर्कुलरमा उल्लेख छ । विभिन्न स्थान र समयमा पक्राउ परी बन्दी जीवन व्यतित गरिरहेका पार्टी नेता÷कार्यकर्तामाथि मारपिट गर्ने जेलर र नाइकेहरुलाई कारवाही गर्ने व्यहोरा पनि त्यसमा छ । 

यसरी विप्लव समूहले सामाजिक विसंगतितर्फ हात हाल्ने भएको हो । प्राप्त सर्कुलरमा उल्लेख भएका विप्लवका नयाँ नारा यस्ता छन्, ‘लागुपदार्थ निषेध गरौँ । लागुपदार्थ व्यापारीलाई कारवाही गरौँ । देह व्यापार बन्द गरौँ, देहव्यापारीलाई कारवाही गरौँ । विषादी रक्सी बन्द गरौँ । लुटेरा, गुण्डाहरुलाई कारवाही गरौँ । अन्यायपूर्ण कर नतिरौँ ।’

गत वर्ष पक्राउ परी रिहा भएका पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) को डायरीमा उल्लेख भएअनुसार, प्रधानमन्त्री केपी ओलीको हत्याका लागि खटाइएका भनिएका ‘असल’, अर्थात् चन्द्र खड्का अहिले तीन महिने निलम्बनमा छन् । बुटवलस्थित पेन्सन क्याम्पमा बिष्फोट गराएपछि सोको भिडियो लिक गरेर उनी पक्राउ परेका थिए । उनको रिहाईका लागि पूर्वमाओवादी, हाल सत्तारुढ नेकपाका नेता जनार्दन शर्मा (प्रभाकर) सक्रिय भएका थिए । प्रभाकरसँग असलको रहस्यमय सम्बन्ध देखिएपछि छानवीनका क्रममा उनी कारवाहीमा परेका हुन् ।

त्यस्तै, यौन काण्डका कारण क.राकेश तीन महिने निलम्बनमा छन् । विधानको धारा २३ मा गरिएको ‘विशेष व्यवस्था’ अनुसार पार्टी वार्ड समिति गठन गरिने कुरा सर्कुलरमा उल्लेख छ । खड्ग बिक (प्रकाण्ड) का स्टाफ तथा पूर्व सांसद गमबहादुर श्रीष म्याग्दी जिल्ला इञ्चार्ज थिए, उनी अर्थात् क.विजेतालाई स्कुलिङ विभागमा स्थानान्तरण गरिएको छ । बिरामी बिदा माग्ने मेचीका केन्द्रीय सदस्य सुमन लिम्बू ‘दिपेश’ लाई छुट्टी दिइएको छ भन्ने पूर्वेली तामाङ थरका राजीव र दंगाली खड्का थरका तिलकलाई युवा संगठनबाट ब्युरोमा तानिएको छ । प्रतिक घिमिरेलाई चाहिँ भारत प्रवासको जिम्मेवारीबाट सेती–महाकालीमा स्थानान्तरण गरिएको छ । त्यस्तै, जनसंगठनका सम्मेलनहरु पनि हुने त्यसमा उल्लेख छ । त्यसअनुसार, दलित मोर्चाको फागुनपछि, मजदुरको १ मेमा, महिलाको ८ मार्चमा, शहीद परिवार समाजको बैठक २८ गते, बेपत्ता परिवार समाजको बैठक मंसिर २ मा, मधेसी, थारु, शिक्षक र सामना परिवारको इञ्चार्ज तोकिएको र त्यसबारे सम्बन्धित माध्यमबाट जानकारी दिइने भएको छ । 

आर्थिक अभियानको अवधी थप गरेर मंसिर मसान्तसम्म सञ्चालन गर्ने कुरा उक्त सर्कुलरमा उल्लेख छ । त्यसमा प्रविधिसम्बन्धी महŒवपूर्ण निर्णय लिइएको उल्लेख भए पनि विस्तृत विवरण भने छैन । मंसिर ८, अर्थात् पुनर्गठन दिवसअघि पार्टीको मुखपत्र ‘जनक्रान्ति’, फागुनमा ‘जनसेना’, माओ दिवसमा ‘दृष्टिकोण’, फागुनमा ‘जनसत्ता’ र ‘सचित्र जनसेना’ प्रकाशन गर्ने सर्कुलरमा उल्लेख गरिएको छ । क.सन्तोष, क.माइला, क.पवन र क.सुदर्शनका रचनाहरु प्रकाशित गरिने कुरा पनि उल्लेख छ । त्यस्तै, तिहारपछि पत्रकारको तालिम सञ्चालन गरिने योजना प्रस्तुत छ ।

त्यस्तै, सुरक्षा निकायले गरेको अनुसन्धानबाट काठमाडौंमा विप्लवका केही गतिविधि फेला परेको छ । नयाँ बसपार्कस्थित भरत मोबाइल सेन्टरका सञ्चालक भरत बस्नेतसँग दुई लाख मागिएको, टोखास्थित बालुवा ठेकेदार राजेन्द्र खड्कासँग पाँच लाख मागिएमध्ये तीन लाख दिने सहमति भएको, एक लाख पचास हजार दिने जबरजस्ती सहमति गराएको सुरक्षा निकायको दावी छ ।

बुढानिलकण्ठ ह्याचरी फर्मका सञ्चालक विनोद केसीसँग पाँच लाख, बालुवाटारस्थित एक स्वास्थ्य क्लिनिकका सञ्चालक प्रवेश अधिकारीसँग दुई लाख, नयाँबसपार्कस्थित न्यौपाने मोबाईल पसलका विष्णु न्यौपानेसँग एक लाख, त्यहीँको गोरखा मोबाईल इम्पेक्सका सुवास लामिछानेसँग पाँच लाख मागिएको पनि अर्को दाबी छ । महाबौद्धस्थित श्री पार्ट्स् र इनर्जी  सप्लायर्स नामक मोबाइल सफ्टवेयरका डिलरलाई पनि पत्र काटिएको छ । 

टिप्पणीहरू