चीन छेउमै नेपाली कम्युनिस्ट चिन्ताजनक
उत्तरी छिमेकी चीनसँग सिमाना जोडिएका हिमाली जिल्ला रणनीतिक हिसाबले महत्वपूर्ण मानिन्छ । विश्व राजनीतिमा चीनको बढ्दो प्रभावसँगै नेपालमा शक्ति राष्ट्रहरूको चासोका कारण उत्तरी सीमावर्ती जिल्ला भूराजनीतिक हिसाबले संवेदनशील पनि मानिन्छ । चीनसँग सीमा जोडिएका १५ जिल्लामध्ये धादिङमा मात्रै उत्तर जोड्ने नाका छैन । नेपाल–चीन कूटनीतिक सम्वन्ध स्थापनाको ७५ औँ वर्षगाँठ मनाइनै लागेको बेला व्यापारिक तथा जनसम्बन्धको दृष्टिले पनि हिमाली जिल्लाको रणनीतिक महत्व झन् बढ्दै गएको छ ।
नेपालमा दक्षिणी छिमेकी भारतको प्रभावसँगै पश्चिमा शक्तिको चासो बढिरहेको सन्दर्भमा हिमाली जिल्लाको विकास निर्माण र त्यहाँको राजनीतिक गतिविधिलाई आन्तरिकरूपमा चासोका साथ हेर्ने गरिन्छ । किनभने भारतले हिमाली जिल्ला र चीनले तराई–मधेशमा विभिन्न सहयोगका नाममा आफ्नो प्रभाव र पहुँच विस्तार गरिरहेको छ ।
शक्ति राष्ट्रहरूको नजर परेका यस्ता संवेदनशील जिल्लाको राजनीतिक अवस्था कस्तो छ त ? कुन राजनीतिक दलको प्रभाव के छ ? यसबारे पछिल्ला चार वटा निर्वाचनको परिणाम हेर्दा आउने चित्र यस्तो छ :
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा देशभरका २४० निर्वाचन क्षेत्रमध्ये १२१ ठाउँमा माओवादी उम्मेदवार विजयी हुँदा हिमाली जिल्लामा पनि उसैको प्रभाव देखियो । १५ जिल्लाका २८ निर्वाचन क्षेत्रमध्ये २२ स्थानमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए । त्यतिखेर एमालेका चार र कांग्रेसका २ उम्मेदवारले मात्र हिमाली जिल्लामा पार्टीको साख जोगाउन सके ।
२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा माओवादी पहिलो पार्टीबाट तेस्रोमा खुम्चंदा कांग्रेस र एमाले क्रमशः पहिलो र दोस्रो भए । तर, हिमाली जिल्लामा भने एमालेले सबैभन्दा धेरै १५ सिट जित्यो । कांग्रेसले ६ सिट थपेर जित संख्या ८ पुर्याउँदा माओवादी २२ बाट घटेर जम्मा ५ स्थानमा खुम्चिन पुग्यो ।
पहिलो संविधानसभामा माओवादीले तीन वटा निर्वाचन क्षेत्र रहेका सिन्धुपाल्चोक, धादिङ र गोरखाका सबै सिट जितेको थियो । दोलखा र दार्चुलाका दुबै तथा संखुवासभा र सोलुखुम्बुका एक–एक क्षेत्र पनि उसले आफ्नो नाममा पार्न सफल भएको थियो । त्यस्तै, मनाङ, रसुवा, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्लामा पनि माओवादी उम्मेदवार विजयी भए । ताप्लेजुङ–२, संखुवासभा–२, मुस्ताङ र बझाङ एमालेले हात पार्दा ताप्लेजुङ–१ र बाजुरा कांग्रेसले जितेको थियो ।
दोस्रो संविधान सभामा ताप्लेजुङका दुवै क्षेत्र एमालेले जित्यो भने संखुवासभा कांग्रेसको पोल्टामा पुग्यो । धादिङका तीन वटै क्षेत्र माओवादीबाट खोसेको एमाले दोलखा र बझाङका दुवै सिट आफ्नो नाममा गर्न सफल भयो । माओवादीले गोरखाका तीन वटै क्षेत्र जित्दा सिन्धुपाल्चोक–१ मा कांग्रेस २, मा माओवादी र ३ मा एमाले उम्मेदवार विजयी भए ।
एउटा मात्र निर्वाचन क्षेत्र रहेको मनाङ, मुस्ताङ, जुम्ला र हुम्लामा कांग्रेसले झण्डा गाड्दा एमालेले रसुवा, डोल्पा, मुगु र बाजुरा जित्यो । कालिकोटमा माओवादी उम्मेदवार विजयी भए ।
२०७२ सालमा नयाँ संविधान घोषणा भएसँगै देशमा संघीय प्रणाली लागू भयो । राज्य पुनर्संरचनाअन्तर्गत २४० निर्वाचन क्षेत्र १६५ मा कायम भयो । योसँगै हिमाली जिल्लाका निर्वाचन क्षेत्र घटेर २० मा सीमित भए । संविधान जारी भएपछिको पहिलो २०७४ सालको निर्वाचनमा वामपन्थी गठबन्धन थियो । देशभर झण्डै दुई तिहाइ सिट जितेको गठबन्धनले हिमाली जिल्लामा पनि बर्चस्व कायम गर्न सफल भयो । कूल २१ मध्ये एमाले १३ र माओवादी ५ गरी वामहरूले १८ सिट जित्दा कांग्रेस जम्मा एक सिटमा खुम्चियो । नयाँ शक्ति र स्वतन्त्र उम्मेदवारले एक–एक स्थानमा जित हात पारे ।
धादिङको दुबै क्षेत्र हात पारेको एमालेले ताप्लेजुङ, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक–२, मनाङ, मुस्ताङ, डोल्पा, मुगु, बाजुरा, बझाङ र दार्चुलामा आफ्ना उम्मेदवारलाई विजयी गरायो । सोलुखुम्बु, सिन्धुपाल्चोक–१, गोरखा–१, हुम्ला र कालिकोटमा माओवादीले जित्यो । वामपन्थीहरूको गठबन्धनविरुद्ध अधिकांश क्षेत्रमा एक्लै चुनाव लडेको कांग्रेस रसुवामा एक सिट जितेर निल हुनबाट जोडिएको थियो । कांग्रेससँग गठबन्धन गरेका नयाँ शक्तिका डा. बाबुराम भट्टराईले गोरखा–२ बाट जितेका थिए ।
प्रतिनिधिसभाको यो चित्र २०७९ को निर्वाचनमा पूरै फेरियो । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दलबीच गठबन्धन हुँदा एकाध ठाउँमा राप्रपा र तराई–मधेसमा जसपासँग तालमेल गरेको एमाले एक्लै प्रतिस्पर्धामा थियो । जसका कारण पाँच वर्षअघिको परिणाम उल्टिएर एमाले कमजोर हुन पुग्यो । ०७४ को निर्वाचनमा जम्मा एक सिट जितेको कांग्रेसले ८ सिट थपेर ९ स्थानमा विजयी हुँदा एमाले दुई स्थानमा सिमित भयो । कांग्रेसबाट जित्ने अधिकाँश उम्मेदवार कि धनीमानी कि त भारतनिकट भनेर चिनिन्छन् । ताप्लेजुङ र सोलुखुम्बुमा मात्रै एमाले उम्मेदवार विजयी हुन सके ।
कांग्रेसले संखुवासभा, रसुवा, धादिङ–१, सिन्धुपाल्चोक–२, गोरखा–१, मनाङ, मुस्ताङ, मुगु, बाजुरा र दार्चुलामा जितको झण्डा गाड्दा माओवादी केन्द्रले दोलखा, सिन्धुपाल्चोक–१, गोरखा–२, कालिकोट, र हुम्लामा आफ्ना उम्मेदवार जिताउन सक्यो । धादिङ–१, डोल्पा र बझाङ एकीकृत समाजवादीले लियो भने पहिलोचोटी राप्रपाका उम्मेदवार जुम्लाबाट विजयी भए ।
कम्युनिस्ट बिभाजनको असर कसरी पर्दै आयो त्यसको तुलनात्मक विवरण यस्तो छ–
३०६४ मा उत्तरका १८ जिल्लाअन्तर्गत २८ निर्वाचन क्षेत्र रहेमध्ये कांग्रेस २, एमाले ४, माओवादी २२
३०७० मा ८ कांग्रेस, १५ एमाले, ५ माओवादी
३०७४ बाट निर्वाचन क्षेत्र घटेर २१ कायम रहेमध्ये १३ एमाले, ५ माओवादी, १ कांग्रेस, १ स्वतन्त्र, १ नयाँ शक्ति (डा.बाबुराम भट्टराई)
३०७९ को चुनावबाट २ एमाले, १० कांग्रेस, ५ माओवादी, ३ एकीकृत समाजवादी, १ राप्रपा
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू